Logo

आइतबारदेखि विद्यालय तथा क्याम्पस सञ्चालन हुने



Spread the love

६ मंसिर, सप्तरी । आठ महिनादेखि बन्द रहेको सप्तरीको कञ्चनरुप नगरपालिकामा आइतबारदेखि अध्ययन, अध्यापन शुरु हुने भएको छ । कञ्चनरुप नगरपालिकाअन्तर्गत रहेको माध्यमिक तह, उच्च मावि र क्याम्पस तहको कक्षा आइतबारदेखि सञ्चालन गर्न लागेको कञ्चनरुप शिक्षा शाखाले जनाएको छ ।

शैक्षिकसत्र खेर जाने जोखिम बढेपछि सरकारले कोभिड–१९ महामारीको अवस्था विश्लेषण गरेर भौतिकरूपमै विद्यालय सञ्चालन गर्न दिने भएपछि स्वास्थ मापदण्ड अपनाइ कक्षा सञ्चालन गर्न लागिएको शिक्षा शाखा अधिकृत प्रेमकुमार चौधरीले बताए । चौधरीका अनुसार विद्यालयमा हात धुने पानी, स्वास्थ्य तथा सरसफाइ सुविधाको व्यवस्था गर्ने–गराउने, खोकी लाग्दा वा हाच्छिउँ गर्दा मुख छोप्ने अन्य सुरक्षा उपकरण प्रयोग गर्ने र घरमा समेत त्यसको अभ्यास गराइने छ ।

कोभिड–१९ का कारण गत चैत महिनादेखि बन्द रहेको विद्यालय खोल्न लागिएको नगरप्रमुख वसन्तकुमार मिश्रले बताए । नगरपालिकाको शिक्षा समितिको २०७७ कात्तिक १९ गतेको निर्णयले मङ्सिर ७ गतेदेखि विद्यालय खुलाउने निर्णय गरेको थियो ।

लामो समयदेखि बन्द रहेको विद्यालयमा सामाजिक दूरी कायम गरी पठनपाठन सञ्चालन गर्न परिपत्र भएको पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नवराज खड्काले बताए । यो निर्णयसँगै कञ्चनरुप नगरपलिकाभित्र सामुदायिक र निजी गरी १५ माध्यमिक विद्यालय तथा चारवटा कलेज (क्याम्पस) सञ्चालनमा आउनेछन् ।

प्रतिक्रिया दिनुहोस्