Logo

‘कोरोनाको बेला निर्वाचनका बेलाजस्तै जनताका घरदैलामा पुगाैँ’



Spread the love

६ मंसिर, काठमाडौं । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले निर्वाचनका बेलाजस्तै जनताका घरदैलामा पुगेर कोभिड–१९ विरुद्धको जनचेतनाको अभियानमा जुट्न सुझाव दिएका छन् । राष्ट्रियसभाको संयोजन र विश्व स्वास्थ्य सङ्गठनको प्राविधिक सहयोगमा वाग्मती प्रदेशका सांसदका लागि आज यहाँ आयोजित ‘कोभिड–१९ महामारी जोखिममा प्रभावकारी सञ्चारका लागि सांसदको भूमिका’ विषयको कार्यक्रममा उनले चिकित्सकलाई मात्र जिम्मेवारी दिएर सङ्क्रमण नहट्ने हुँदा यो अभियानमा एकाकार हुन जनप्रतिनिधिलाई आह्वान गरे ।

उनले भने, “चुनावमा भोट माग्न गरिएझैँ कोरोनाबाट बच्नका लागि भौतिक दूरी कायम गर्न, स्यानिटाइजर गर्न तथा मास्कको प्रयोग गर्न जनप्रतिनिधिले गाउँगाउँ पुगेर जनतालाई दुई हात जोडेर जनचेतनाका लागि अनुरोध गर्नुपर्छ ।”

सो अवसरमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले जनचेतना अभिवृद्धि गर्ने तथा नीति निर्माण गर्ने र कार्यान्वयन गर्ने सबै तहलाई एउटै ठाउँमा भेला गरेर गरिने यस्ता जनचेतनामूलक कार्यक्रम महामारी नियन्त्रणका लागि निकै फलदायी भएको बताए । उनले भने, “कोरोना संसारकै लागि नयाँ भएकाले यसका विरुद्ध लड्दै, जानकारी हासिल गर्दै यसका प्रभावबाट पाठ सिकेर अघि बढ्ने प्रयास भइ्हेको छ । सामथ्र्यका आधारमा समस्या समाधान गर्न युद्धस्तरमा सरकारले काम गरिरहेको छ । उपचार र बिरामीप्रति सरकार उत्तिकै जिम्मेवार छ ।”

बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले कोरोनाको महामारी रोक्न साझा अभियान र कार्ययोजनाका प्रभावकारी टोली बनाएर काम गर्न आवश्यक रहेको बताए । नेपालस्थित विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधि राजेश पाण्डभले कोरोनाले निम्त्याएको चुनौतीलाई निस्तेज तुल्याउन मास्क र स्यानिटाइजरको प्रयोग तथा भौतिक दूरी कायम गर्ने कुरामा जनतालाई सुसूचित गर्न जनप्रतिनिधिको महत्वपूर्ण भूमिका हुने उल्लेख गरे ।

सो अवसरमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतम, नेपालस्थित विश्व स्वास्थ्य सङ्गठनका विशेषज्ञ चिकित्सकत्रय सुनोर बर्मा, विनोद गुप्ता र दीपेन्द्र गौतमले जुन देशका जनप्रतिनिधि कोरोनाविरुद्धको प्रतिकार्यमा जुटेका छन् तत्तत् देशमा महामारीको जोखिम निकै कम रहेकाले निर्वाचनका बेलाजस्तै जनचेतना अभियानमा जुट्न सुझाव दिए।

राजनीतिक दलका नेता तथा कार्यकर्ता कोरोनाविरुद्ध भौतिक दूरी कायम गर्ने, स्यानिटाइजरको प्रयोग गर्ने तथा मास्क लगाउनु पर्नाको आवश्यकता र औचित्यबारे जनचेतनाका कार्यक्रम लिएर गाउँगाउँ नपुगेसम्म कोरोनालाई परास्त गर्न कठिन हुने उनीहरुको सुझाव थियो । कोरोनाको स्वरुप परिवर्तनशील रहेको हुँदा घरमै बस्दा पनि खोक्दा, बोल्दा र हाच्छिउँ गर्दा अनिवार्य मास्कको प्रयोग हुन जरुरी रहेको बताउँदै चिकित्सकले कोभिड नियन्त्रणसम्बन्धी हालसम्म कुनै परपर्दो औषधि पत्ता नलागेका कारण विज्ञान र चिकित्सकको विश्वास आमजनतामा घटेको उल्लेख गरे ।

उहाँहरुले कोभिड–१९ का कारण आर्थिक, सामाजिक, विपद् व्यवस्थापन र शान्ति सुव्यवस्थामा ठूलो चुनौती खडा गरे पनि बोल्दा, खाँदा, बस्दा स्वास्थ्य सम्बन्धमा ख्याल गर्नुपर्ने कुरालाई भने सदाका लागि सिकाएको बताए । कोरोनाले समाजका सबै तह र तप्काका नागरिकलाई बराबरीमा पु¥याएको तथा धनी र गरिबलाई पनि उत्तिकै गाँजेको उल्लेख गर्दै विशेषज्ञलाई जनताले नियालेर बसेकाले सङ्कटको बेला बोल्दा र व्यवहार गर्न होस् पु¥याएर काम गर्न जनप्रतिनिधिलाई उहाँहरुले सुझाव दिए।

सामाजिक सञ्जालमा दिएका विषयलाई लिएर कोभिड–१९ को उपचारबारे धारणा नबनाउन तथा आधिकारिक सूचना छिटोभन्दा छिटो जनतामा पु¥याउन उनीहरुले सुझाव दिए। सङ्कटका बेला सत्ताको भागबण्डामा नअल्मलिन पनि चिकित्सकले राजनीतिक दल र तिनका नेतालाई सल्लाह दिए । सो अवसरमा कोरोना भाइरस, यसको उत्पत्ति, मानवीय क्षति, रोकथामका लागि भइरहेका पहल, रोगका लक्षण, निदानका लागि खोपको तयारीलगायत विषयमा सांसदले राख्नुभएको जिज्ञासाको उनीहरुले जवाफ दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्