Logo

जोरपाटी चोकमा भैरव अर्यालको शालिक राखिने



Spread the love

६ मंसिर, काठमाडाैँ । नेपाली हाँस्यव्यङ्ग्य साहित्यका शिखरपुरुष भैरव अर्यालको स्मृतिमा स्थापित भैरव पुरस्कार र भैरव प्रतिभा पुरस्कार वर्ष २०७६/७७ का लागि क्रमशः रामकुमार पाँँडे र राजाराम पौडेललाई प्रदान गरिएको छ ।

भैरव पुरस्कार गुठीले आज गोकर्णेश्वर–५ स्थित भैरव स्मृति भवनमा गरेको कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले पाँडे र पौडेललाई पुरस्कार वितरण गर्नुभएको हो । पुरस्कारको राशि क्रमशः रु एक लाख र ५० हजार रहेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख चालिसेले जोरपाटी चोकमा निर्माण गरिने नगरपालिकाको कार्यालय परिसरमा अर्यालको पूर्णकदको ढलोटको शालिक राखिने घोषणा गरे ।

पुरस्कृत स्रष्टा पाँँडे विदेशमा रहेकाले प्रतिनिधिको रूपमा उहाँको पुरस्कार ग्रहण गरेका डा यादव ढुङ्गानाले हाँस्यव्यङ्ग्य साहित्यमा पाँडेको योगदानको चर्चा गरे । वरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठले पुरस्कृत स्रष्टा राजाराम पौडेल नेपाली हाँस्य कला क्षेत्रका अमूल्य निधि भएको बताए । वरिष्ठ साहित्यकार विजय चालिसेले नेपाली हाँस्यव्यङ्ग्य साहित्यलाई उर्वर बनाउने काम अर्यालले गरेको स्मरण गरे ।

चालिसे संयोजक तथा वरिष्ठ समालोचक प्रा डा खगेन्द्र लुइँटेल र व्यङ्ग्यकार लक्ष्मण गाम्नागे सदस्य रहनुभएको चयन समितिको आधारलाई अनुमोदन गर्दै भैरव पुरस्कार गुठीले पाँडे र पौडेललाई पुरस्कृत गर्ने निर्णय गरेको हो । भैरव पुरस्कार गुठीका अध्यक्ष तथा वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरेको सभापतित्वमा सम्पन्न कार्यक्रममा गुठीका सचिव वसन्त रिजालले विसं २०४६ देखि प्रत्येक दुई÷दुई वर्षमा यी पुरस्कार प्रदान गरिँदै आएकामा अब आगामी वर्षबाट वर्षेनी वितरण गरिने जानकारी दिए ।

कार्यक्रममा स्रष्टाहरु गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’, गोपालप्रसाद बराल, विमल अर्याल, उद्धव रायमाझीलगायतले नेपाली साहित्यमा अर्यालको योगदानबारे चर्चा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्