Logo

कक्षा १२ को परीक्षा आजबाट, कोरोनाको जोखिम कम गराउन यस्ता नियम पालना गराैँ



Spread the love

९ मंसिर, काठमाडौं । कोभिड–१९ का कारण वैशाखमा रोकिएको कक्षा १२ को परीक्षा आजबाट शुरु हुँदै छ । देशभरका ४ लाख ३२ हजार ५ सय विद्यार्थी सहभागी हुने परीक्षा साढे १ घण्टाको हुनेछ । ४ हजार १ सय ५ विद्यालयमा हुने परीक्षामा पूर्णरुपमा स्वास्थ्य मापदण्ड अपनाइएको छ ।

परीक्षामा सामेल हुने विद्यार्थीको ज्वरो अनिवार्यरुपमा परीक्षण गर्नुपर्नेछ । मास्क अनिवार्य लगाउनुपर्ने व्यवस्था गरेको छ । करिब डेढ घण्टाको परीक्षा आफ्नै विद्यालयमा दिन पाउनेछन् अर्थात् बोर्डले होम सेन्टरको व्यवस्था गरेको छ ।

बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले एउटा कोठामा दुई मिटरको दूरी हुने गरी २० जनासम्म मात्र राख्न पाइने व्यवस्था भएको जानकारी दिनुभयो । स्थानीय निकायको सहयोगमा परीक्षा व्यवस्थापन गरिएको बोर्डको भनाइ छ ।

राष्ट्रिय परीक्षा बोर्डले घरपायक र फरक जिल्लाका परीक्षा केन्द्रबाट परीक्षा दिने व्यवस्था मिलाएको छ । त्यसका लागि सम्बन्धित विद्यालयले विद्यार्थीलाई प्रवेशपत्र पठाउनुपर्नेछ । त्यसरी घरपायक फरक जिल्लाबाट परीक्षा दिने विद्यार्थीको संख्या करिब १३ हजार रहेको बोर्डको भनाइ छ । परीक्षा शुरु भएपछि अन्यलाई प्रवेशमा रोक लगाइएको छ । केन्द्राध्यक्ष र निरीक्षकले समेत अनिवार्यरुपमा ज्वरो परीक्षण गरी मास्क लगाउनुपर्ने व्यवस्था गरेको छ ।

विद्यालयले हेल्थ सेन्टर राख्नुपर्नेछ । बोर्डका अध्यक्ष प्राडा पौडेलले आजबाट शुरु हुने परीक्षाको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिनुभयो । ‘हिमाली र उच्च पहाडी जिल्लामा प्रश्नपत्र पुगिसकेका छन् अन्यको हकमा विद्यार्थी परीक्षा हलमा प्रवेश गरेपछि मात्र अनलाइन प्रश्नपत्र पठाउनेछौं।’ –अध्यक्ष प्राडा पौडेलले भन्नुभयो ।

प्रश्नपत्र हेर्न सबै केन्द्रलाई छुट्टै कोर्डको व्यवस्था गरेको छ । कोड नम्बरअनुसार प्रश्नपत्र हेर्न पाइने व्यवस्था छ । याे खबर नेपाल समाचारपत्रमा छ ।

प्रतिक्रिया दिनुहोस्