Logo

लाइभ अपडेट : कोरोना भाइरस

विश्वमा कोरोना भाइरस
मृत्यु
२,१०२,७९२
संक्रमित
९८,१९०,९५१
निको भएका
७०,५९६,९३६
नेपालमा कोरोना भाइरस
मृत्यु
१,९८६
संक्रमित
२६८,९४८
निको भएका
२६३,३४८

कलेज जीवनका सम्झनाहरु-४



क्याम्पसमा भएको झडप र मुठभेडले डेढ महिना जति बन्द भएर सामान्य अवस्थामा फर्कंदै गर्दा क्याम्पसको वातावरण नै अलिक भिन्न जस्तो लाग्न थालेको थियो । सबैजसो विद्यार्थीहरु आ-आफ्ना राजनीतिक आस्था र फरक विद्यार्थी संगठनप्रतिको झुकावलाई एकातिर पन्छयाएर पुन: मित्रवत् बन्दै गए ।

यस बन्दको समयावधिमा बाहिर लिइएको डेराबाट टोपेन्द्रजी र म पुन: छात्रावास फर्कियौं । अनपेक्षित रुपमा भएको क्याम्पस बन्द, छात्रावास बाहिरको बसाई, छोटो समयमा आई.एस्सी. तयारीका लागि ट्युसन पढ्ने लगायतका कारणले गर्दा आर्थिक भार थपिएको थियो । कलेज भर्खर बन्द भएको समयमा एकदिन बाटोमा हरिशचन्द्र लामिछाने दाइ (हाल ललितपुर उपमहानगरपालिका) सँग भेट भयो र भन्नुभयो – “केही समस्या भए हामीलाई भन्नु है।” मैले तत्काल अलिकति आर्थिक सहयोग चाहिएको कुरा बताउनासाथ वहाँले मलाई रू. तीनहजार रुपैंया निकालेर सापटी दिनुभयो, जसले हाम्रो छात्रावास बाहिरको डेढ महिने बसाईलाई निकै सहज बनाएको थियो ।

तेस्रो सेमेष्टरको पढाइ रफ्तारमा अघि बढ्दै गयो । अबको पढाई ईञ्जिनियरिङ विषयतिर लम्किदैं जाँदा उत्तिकै खुशीको अनुभूति पनि । ईञ्जिनियरिङ सर्वे, स्ट्रक्चर, भवन निर्माण, निर्माण सामाग्री लगायतका विषयहरु पढ्न रोचक थिए । क्याम्पसका चौर, सडकतिर सर्वे गर्दैगर्दा, कुनै दिन देशका कुनाकाप्चामा गएर पनि त्यसैगरी सडक, पुल, नहर वा अन्य कुनै आयोजनाको सर्वे गर्ने कुराको कल्पनामा डुबिन्थ्यो । हामी बिसि पुनमियाले लेखेको सर्वेका किताब पढ्थ्यौं । उनले लेखेका सर्वे बाहेकका अरु पनि थुप्रै ईञ्जिनियरीङ विषयका किताबहरु देख्दा उनी कत्ति प्रतिभाशाली व्यक्ति रहेछन् भन्ने लाग्थ्यो, हामीलाई ।

सर्वेकै प्रयोगात्मक अभ्यासका क्रममा, क्याम्पसको गेटदेखि तल्लो छात्रावाससम्म सर्वे गरेर सडकको इलिभेसन र सेक्सनल ड्रइङहरु बनाउनु पर्ने थियो । सर्वे गर्ने समूहमा छ जना हुन्थे र हाम्रो समूहमा थिए, हाम्रै सेक्सनका रोल नं १२१ देखि १२६ सम्मका साथीहरु क्रमश: नारायण मरासिनी, नारायण सिंह खवास, खड्ग बहादुर पाण्डे, नवराज ढुंगाना, निरा राजभण्डारी र म । यो सर्वे सकाउन तीन चार दिन लाग्यो र सर्वे गर्दाका डेटाहरु हामी कापीमा टिप्दै जान्थ्यौं । सर्वे सकाएर ड्रइङ बनाउने सुरसार गर्दा पो थाहा लाग्यो, सर्वे गर्दा टिपिएको पहिलो पन्ना नै हराएछ र पहिलो दिनका सर्वेका सबै डेटाहरु गायब । पहिलो दिनको सर्वेको डाटा हराएपछि अन्य दिनको सर्वेको डेटा पनि उपयोगी हुन्थेनन् । अनि शुरु भयो, सर्वे डाटाको भयानक म्यानुपुलेशन !

सर्वे गर्दाका फोटाहरु पछिसम्मका लागि स्मरणीय हुनेछन् भनेर नारायण खवासजीले क्यामेरा पनि ल्याउनुभएको थियो । हामीले सर्वे गर्दाका फोटाहरु समूहमा र छुट्टाछुट्टै पनि थुप्रै खिच्यौं । केही साथीले त नजिकका बुटामा चढेर गगल्स चश्मा लगाएर समेत ‘हिरो’ फोटो खिचे । क्यामेरामा वा फोटो खिच्दा के गल्ती भएछ कुन्नि? फोटो धुलाएर सर्वे गर्दाका ‘हिरो’ फोटोहरु हेरौंला भनेर मख्ख परेका बसेका हामीहरु त सबै हिस्स ! क्यामेराको रिल त सबै बिग्रिएछ, केही गल्ती भएर ।

जे होस्, त्यस सर्वेका प्रयोगात्मक अभ्यासका प्रतिवेदन र ड्रइङहरु भने सबै राम्रै नै बनायौं र त्यसको नंबर पनि राम्रै पाएका थियौं । यसरी विभिन्न प्रयोगात्मक अभ्यासका प्रतिवेदनहरु बनाउने जिम्मेवारीको अग्रपंक्तिमा छात्रावासमा बस्ने विद्यार्थीहरु हुन्थे । हामी छात्रावासमा बस्नेहरुलाई नबुझेका कतिपय अप्ठयारा कुराहरु सिनियर दाइहरुसँग सोध्ने सुविधा समेत हुन्थ्यो । महिला विद्यार्थीहरु भने पुरुष छात्रावासमा पस्न अनुमति नभएकोले उनीहरुले घर लगेर वा कक्षाकोठामा बसेर ती प्रतिवेदन सार्नुपर्थ्यो । कहिलेकाहीं महिला विद्यार्थीहरु क्यान्टिन वरिपरितिरको पेटीमा बसेर प्रयोगात्मक अभ्यासका प्रतिवेदनहरु सारिराखेका पनि भेटिन्थे ।

शुरुका दिनमा क्याम्पसको ‘ए’ ब्लकको भुईंतलामा क्यान्टिन रहेको थियो । त्यो क्यान्टिन पछि बन्द भएर अहिले सुचना केन्द्र भवन रहेको गेट नजिकै नयाँ क्यान्टिन बनेको थियो । अन्य साना क्यान्टिनहरुमा हाइवे/स्वाइल मेकानिक्स ल्याबको पछाडि पनि थियो । हामी छात्रावासमा बस्नेहरु भने प्राय: छात्रावास नजिकैका क्यान्टिनमा खाजा खाने गर्थ्यौं । खाजामा प्राय: चिया, दुनोट, केक, पप, चना, चिउरा, समोसा तरकारीहरु प्रिय थिए ।

तेस्रो सेमेष्टरको पढाइ शुरु भएको केही समयपछि हामी नयाँ छात्रावासमा सर्‍यौं । कोठा सर्नु भनेको आखिर आफूसँग भएका केही लुगाफाटोहरु, किताबकापीहरु, बेडिङका सामानहरु सार्नु न हुन्थ्यो । प्राय: धरैजसोसँग केही महत्वपूर्ण कागजात र सामानहरु राख्नका लागि एउटा टिनको बाकस पनि हुन्थ्यो । हामी पुरानो छात्रावासको ३०१ नं कोठाबाट तल्लो छात्रावासको कोठा नं ११८ (सी) मा बसाईं सरेका थियौं भने त्यसको एक वर्षपछि ‘बी’ ब्लकको कोठा नं २१८ मा । सरसफाई, खुला वातावरण र अन्य सुविधाको कुरा गर्ने हो भने पुरानो छात्रावास भन्दा नयाँ छात्रावास कता कता राम्रो थियो । छात्रावास तीनतले थियो र तीनवटा ब्लक थिए – ‘ए’, ‘बी’ र ‘सी’ । छात्रावास भवनको भित्र बिचमा खुला जमीन थियो । यस खुला जमीनमा विद्यार्थीहरु कहिलेकाहीं ब्याडमिन्टन खेल्ने गर्थे । छात्रावासको कोठामा प्रत्येकका लागि एउटा खाट, पढ्ने टेबल र कुर्सी हुन्थे भने लुगाफाटो राख्ने भित्तासँगै टाँसिएका दराजहरु थिए । हामी केही विद्यार्थीहरु कहिलेकाहीं कोठामै रहेको हिटर प्रयोग गरेर खाना पकाउने पनि गर्थ्यौं र चामल, दाल, तरकारी किन्नका लागि पाटनढोका पुग्ने गर्थ्यौं । दाल, तरकारी किन्न जाने क्रममा पाटनढोका नजिकको तरकारी पसलमा बस्ने एक युवतीसँग हाम्रा कुनै साथीले प्रेम गर्न थाले रे भन्ने पनि सुनिएको थियो, एकताका ।

चाकुपाट, पाटनढोका वरिपरिको क्षेत्रमा पुल्चोकमा पढ्ने साथीहरु बाक्लो रुपमा बस्थे र पाटनढोकातिर जाँदा उनीहरु जताततै भेटिन्थे । नयाँ छात्रावासको दक्षिणपट्टि रहेको बास्केटबल कोर्टको छेउमा रहेको एक सानो गल्छेडों हुँदै मित्रस्कूल नजिकको मूल सडकमा निस्केर हामी पाटनढोका जाने गर्थ्यौं । पाटनढोका नपुग्दैको एक चोकको छेउमा म्यान्मार राजदुतावास रहेको थियो त्यतिखेर र त्यस नजिकै खाना खाने एक ‘टि हाउस’ होटल पनि । पुल्चोकका विद्यार्थीहरु खाना, खाजा खान जाने मध्येको एक प्रिय गन्तव्य थियो त्यो । कोही त्यहाँ गएर छ्याङ खान्थे रे भन्ने पनि सुनिएको थियो । त्यसो त पाटनढोकामा रहेको ‘लोकहित रेष्टुँरा’ को सेलरोटी, तरकारी, चिया, समोसाको स्वाद पनि धेरै पुल्चोकीको जिब्रोमा झुण्डिएको हुनुपर्छ । त्यहाँ चिया, सेल खान जाँदा कुनै न कुनै पुल्चोक पढ्ने विद्यार्थीहरु भेटिएकै हुन्थे । पाटनढोकामै रहेका केही मोमो पसलहरु पनि हामी खाजा खान जाने गन्तव्यहरु थिए । त्यतिबेला एक प्लेट मोमोको दश रुपैंया पर्थ्यो भने पाँच रुपैंयामा हाफ प्लेट मोमो पनि पाइन्थ्यो ।त्यतिबेला तीलको झोल अचारसँग तात्तातो बफ मोमो खाँदा अझसम्म पनि जिब्रोमा झुण्डिराखेको स्वादको त के कुरा गर्नु र, अहो ? उपत्यका बाहिरबाट आएका कतिपय ब्राम्हण साथीहरु शुरुका दिनमा बफ मोमो नखाने भएपनि ती मध्येका कतिपय साथीहरु पछिल्ला दिनहरुमा भने बफ मोमो भनेपछि भुतुक्कै हुने पनि भेटिए ।

पाटनढोकामा रहेको पत्रिकापसलहरु मेरा प्रिय गन्तव्य थिए । हुनत छात्रावासमै रहेको वाचनालय कोठामा पनि प्रायजसो: पत्रिकाहरु पढ्न पाइन्थ्यो । हामी खाना खान जानुअघि, खाना खाएर आएपछि र पढ्न अल्छी लागेको समयमा वाचनालयमा गएर पत्रिकाहरु पढ्ने गर्थ्यौं । त्यतिले मात्र धित नमरेर वा त्यहाँ उपलब्ध नहुने पत्रिकाहरु पढ्न, किन्न पाटनढोका पुग्ने गर्थ्यौं । पाटनढोकामा तीनवटा पत्रिकापसलहरु थिए । पाटनढोकाबाट अलिक अगाडि गएपछि मन्दिर अगाडि रहेको पुरानो घरको पत्रिका पसलमा प्राय: प्रगतिशील पुस्तकपत्रिकाहरु बेच्न राखिएका हुन्थे । अर्को पत्रिका पसल अशोक हलको अगाडि रहेको थियो । पाटनढोका जाने क्रममा यी तिनै पत्रिकापसलहरु अगाडि रोकिन्थ्यौं । पाटनढोकाको पत्रिका पसलेसँग त यति परिचित भईसकिएको थियो कि उनी दुई-पाँच मिनेटका लागि पसल बाहिर निस्कँदा ‘एकछिनलाई पसल हेरिदिनु है भाइ” भनेर बाहिर निस्कन्थे ।

मलाई स्कूल पढ्दा देखि नै नियमित रुपमा पत्रिका पढ्ने लत लागिसकेको थियो । म गाउँमा दश कक्षामा पढ्दा बुबा गोरखापत्रको वार्षिक ग्राहक बन्नुभएको थियो र ती गोरखापत्रहरु छिटोमा तीन चारदिनमा र ढिलोमा एक महिना जतिमा घरसम्म आइपुग्थे । घरमा कहिलेकाहीं ढिलासम्म पत्रिका नआईपुग्दा एकघण्टा पर रहेको माझगाउँको हुलाकमै पत्रिकाको सोधीखोजी गर्न पुग्थें । दश कक्षाको जाँच नजिकिदै गर्दा, स्कूलमा बिहान र दिउँसो दुवै समयमा पढाई हुने भएकोले, म आरुघाट बजारमै आफन्त हरिलाल जोशी दाइको घरमा बसेको थिएँ । उनका एक भाइ रुपकलाल जोशी मेरा क्लासमेट पनि थिए । हरिलाल जोशी राजनीतिमा संलग्न हुनुभएकोले वहाँको घरमा नियमित रुपमा साप्ताहिक विमर्श, देशान्तर पत्रिकाहरु आउँथे । म ती पत्रिकाहरु नियमित रुपमा पढ्ने भईसकेको थिएँ, पहिला त अझ आफैंले पढ्नुपर्थ्यो ।

छात्रावासको वाचनालयमा गोरखापत्र, कान्तिपुर, मधुपर्क, युवामञ्चहरु बाहेक विभिन्न राजनीतिक दल निकट थुप्रै साप्ताहिक पत्रिकाहरु पनि आउँथे । नारायण वाग्लेले कान्तिपुरको शनिवार अंकमा लेख्ने ‘कफीगफ’ स्तम्भ धेरैमाझ लोकप्रिय थियो त्यतिखेर । सबैजसो पत्रिकाका विचारपृष्ठहरु म नियमित रुपमा पढ्ने गर्थे ।त्यतिबेला नियमित रुपमा पढ्ने र मन पर्ने अन्य केहीमा स्तम्भहरुमा साप्ताहिक विमर्शमा केशवराज पिंडालीको ‘कुरैकुरा’, जनमञ्चमा सिकेप्रसाईको लेख, सुरुचि साप्ताहिकमा शिव अधिकारीको ‘रचनाविधा’, पुनर्जागरणमा शरदचन्द्र वस्ती, दृष्टिमा अग्निशिखाको ‘विदेशको सेरोफेरो’ अझै सम्झनामा छन् । देशान्तर, विश्वमित्र, सुरुचि, स्वतन्त्रता हुँदै नवस्वतन्त्रता साप्ताहिकसम्म पुगेर लेख्ने किशोर नेपालका लेखहरु पनि नियमित पढ्थें । अन्तरराष्ट्रिय मञ्च र मूल्याकंन मासिकका लेखहरु पनि पढ्ने गर्थें ।

हामी तेस्रो वर्षको अन्तिमतिर पुग्दा पत्रिकाहरुमा अरुण तेस्रो जलविद्युत आयोजनाको पनि निकै चर्चा चल्न थालेको थियो । पत्रिकामा त्यस सम्बन्धी लेखहरु धेरै नै आउन थालेका थिए । यस विषयमा त्यतिखेर धेरै लेख्नेमा गोपाल सिवाकोटी ‘चिन्तन’, विकास पाण्डे, किशोरकुमार गुरुघराना, दिपक ज्ञवाली आदि थिए । उनीहरुले त्यतिखेर अरुण तेस्रो आयोजनालाई वातावरण विषयसँग धेरै नै जोडेर लेख्ने गर्थे र ती लेखमा उक्त आयोजना बनाइएमा त्यस क्षेत्रमा मानिस, सवारी साधनको आवागमन बढेर जैविक विविधताले भरिपूर्ण अरुण उपत्यकाको विशिष्ट पहिचान सहितको अस्तित्व नै संकटमा पर्न सक्ने कुरामा चिन्ता जाहेर गरिएको हुन्थ्यो ।पछि ‘अरुण सरोकार समूह’ नामक संस्था समेत खोलिएको थियो र यस संस्थाले आफ्ना आवाजहरुलाई विश्वबैंकको वाशिंगटन डिसिस्थित मुख्यालयसम्म पुर्‍याएको थियो । त्यतिबेला पढिएका वातावरण तथा अरुण तेस्रो सम्बन्धित थुप्रै लेखहरुले समेत कतै मलाई पछि वातावरण ईञ्जिनियरिङ पढ्न प्रेरित त गराएन भन्ने पनि लाग्छ । त्यतिबेला माथि उल्लेखित कतिपय महानुभावहरुले अरुण तेस्रो आयोजनालाई वातावरणसँग जोडेर निकै नै लेख्ने गरेपनि त्यसको २०-२५ वर्षपछि अरुण तेस्रो जलविद्युत आयोजना बन्दै गर्दा, किमान्थांकासम्म सडकबाटो पुग्दै गर्दा र अरुण नदी तथा यसका सहायक खोला, नदीमा थुप्रै जलविद्युत आयोजना कार्यान्वयनका लगि अध्ययन हुँदै गर्दा, त्यसले निम्त्याउन सक्ने वातावरणीय जोखिमका सम्बन्धमा आजभोलि वहाँहरु चुपचाप बसेको देख्दा भने अलिकति ताजुब पनि लाग्छ ।

छात्रावासको ‘ए’ ब्लक र ‘सी’ ब्लकको माथिल्लो तलामा भने बिईमा अध्ययनरत दाइहरु बस्नुहुन्थ्यो । खाना खाने एउटै मेस, वाचनालाय र टिभीहलका कारण पनि बिईका धेरै सिनियर दाइहरुसँग घनिष्ठता बढ्यो । खानेपानी थाप्न, लुगा धुन छात्रावास बाहिर बास्केटबल नजिकै रहेको पानी टयांकीको धारामा पुग्नुपर्थ्यो । यी सबै स्थानहरु छात्रावासमा बस्ने अन्य विद्यार्थीसँग अन्तरक्रिया गर्न सकिने स्थानहरु समेत थिए ।बास्केटबल खेल्न रुचाउने साथीहरुका बिचमा छुट्टै आत्मियता गाँसिएको हुन्थ्यो ।विशेषगरी बेलुकीको समय विद्यार्थीहरु टिभी हलमा जम्मा हुन्थे र त्यहाँको वातावरणमा अर्कै रौनकता छाउँथ्यो ।टिभीहलमा सुकुल बिछ्याइएको थियो । राम्रो कार्यक्रम आउन लाग्दा अलिक छिटो गएर अगाडिको ठाउँ ओगट्थे, साथीहरु । धेरै पछाडि बस्नुपरेमा सुकुल पनि हुन्थेन, टिभीको आवाज र दृश्य पनि प्रष्ट हुन्थेन । टिभीमा नियमित समाचार बुलेटिनका अतिरिक्त केही टेलिसिरियलहरु, शनिवार दिउँसोको फिल्म र बेलुकी नेपाली सिनेमाका गीतहरु देखाइने ‘चित्रलहर’ कार्यक्रमहरु विशेष लोकप्रिय थिए । ‘चित्रलहर’ कार्यक्रममा ‘सपना’ फिल्मको ‘सुन्दरीको मनमा बस्ने को होला’ भन्ने गीत आउँदा हलमा भएका धेरैजनाको मुखबाट एकैचोटि निस्कने ‘म होला’ भन्ने आवाजले टिभीहललाई नै जुरुक्क उचाल्थ्यो । त्यस्तै ‘प्रेमपिण्ड’ फिल्मको ‘गैरी खेतको शिरै हान्यो’ भन्ने गीतको ‘चिरा पार्‍यो’ भन्ने थेगोलाई पनि केही विद्यार्थीहरुले छात्रावासै गुञ्जायमान पनि गरी चिच्याउँथे ।

अन्य लोकप्रिय कार्यक्रममा दुर्गानाथ शर्माको विश्वघटना कार्यक्रम थियो । एकताका पाकिस्तानी टेलिसिरियलहरु पनि धेरै लोकप्रिय भएका थिए । यसबाहेक कतिपय विद्यार्थीका –आफ्नै रुचि अनुसार पनि टिभी कार्यक्रमहरु छनौट गर्थे ।डेञ्जम दाइ र म ‘सिल्करोड’ सम्बन्धी डकुमेन्ट्री कार्यक्रमको नियमित दर्शक थियौं । टिभीमा नेपाल टेलिभिजनको च्यानल मात्र आउथ्यो । अहिलेजस्तो धेरै च्यानल आउने भएको भए टिभीहलमा कत्ति झगडा हुन्थ्यो होला? विश्वकप फुटबलको प्रत्यक्ष प्रसारण हुँदा त टिभी हलको माहौलै अर्को हुन्थ्यो । प्रतियोगिताको प्रत्यक्ष प्रसारण हेर्ने विद्यार्थीहरु मध्ये कोही कुनै देशको, कोही कुनै देशको समर्थक भएर हुटिङ गर्थे । विश्वकप होस कि, फिल्मी कार्यक्रम होस्, सदा कोठामा रहेर पढाइमा निमग्न हुने र टिभीहलमा नजाने साथीहरु पनि थिए, केही चाहिं ।

जे होस्, छात्रावासको जीवन रमाइलो थियो । कहिलेकाही विद्यार्थीहरुका बिचमा बहस, वादविवाद पनि भईराख्थ्यो । यस्ता वादविवादहरुलाई बिचमै मिलाइन्थ्यो र यसले कुटपिट, झगडाको रुप विरलै लिन्थ्यो । कसैका बिचमा विवाद भईराखेको देखिएमा/सुनिएमा माथिल्लो तलाको बरण्डाबाट केहीले ‘नछोड्, नछोड्……., हान्, हान्…….., दाँतमा, दाँतमा……..’ भनेर उक्साइदिने काम पनि गर्थे । यस्तो काम वास्तवमा रमाइलोका लागि गरिएको हुन्थ्यो, तर कहिलेकाहीं साच्चिकै हात हालाहाल हुने अप्रिय अवस्था पनि आउँथ्यो ।

छात्रावासको प्रवेशद्वार नजिकै टेलिफोन सेट राखिएको थियो । घर वा बाहिरबाट टेलिफोन आउँदा गेटमा रहेका पालेले सम्बन्धित ब्लकमा पुगेर, सम्बन्धित विद्यार्थीको नाउँ लिएर बोलाउँथे । केही विद्यार्थीहरुको भने अत्यधिक मात्रामा फोन आउने गर्थ्यो र त्यसरी धेरै फोन आउने साथीहरु छात्रावासका सबैजना बिच परिचित थिए । धेरै फोन आउने साथीप्रति शायद अन्य कतिपयलाई ईर्ष्या पनि जाग्दो हो र अन्य विद्यार्थीहरु तिनका बारेमा खासखुस समेत गर्थे ।

विशेषगरी परीक्षा नजिक आउन थालेपछि भने सबैजना पढ्नमा व्यस्त हुन्थे । केही साथीहरु रातभरि पढेर दिउँसो भरि हल्ला गर्नेका रुपमा पनि परिचित थिए । केही साथीहरु छतमा गएर, हिंडदैं, आवाज निकालेर पढ्थे । कुनैकुनै विषयवस्तुहरु परीक्षाका लागि घोक्नैपर्ने हुन्थ्यो र घोक्नका लागि प्राय: यसो गरिन्थ्यो । छतको कुरा गर्दा अर्को कुरा पनि सम्झनामा आयो । ‘सी’ ब्लकको छेउबाट पश्चिमपट्टिको सडक, नजिक पर्थ्यो र सडकमा कुनै राम्री युवती हिंडिराखेको देखेमा केही विद्यार्थीहरु छतको छेउबाट जिस्क्याउने गर्थे । त्यस सडक नजिकैको शिक्षक क्वार्टरसम्म पुगेर अन्त हुन्थ्यो र यसरी जिस्क्याइमा पर्ने महिलाहरु तिनै क्वार्टरमा बस्ने मध्ये कोही हुनसक्थे ।

परिक्षा सकिएपछि र लामो विदाको समयमा केही साथीहरुको कोठामा तासको खाल पनि जम्थ्यो । केही साथीहरु तास खेल्नमा माहिर थिए । विदाको लामो समयमा उनीहरु दिनरात तास खेल्न सक्थे । तासको ‘कल्ब्रेक गेम’ हाम्रा ब्याचका साथीहरुमा धेरै लोकप्रिय थियो र कापीका धेरै पन्नाहरु कल्ब्रेक गेमको प्वाइन्ट तालिकाले भरिएको हुन्थ्यो । मलाई साथीहरुले तास खेल्न सिकाउन धेरै प्रयत्न गरे, मैले भने पटक्कै सिक्न सकिंन । शायद आफ्नो रुचि नै नभएपछि यस्तो हुने रहेछ कि?

क्याम्पसमा पुरा विषयहरु पढाइ नभएको दिनमा साथीहरु फिल्म हेर्न पनि जाने गर्थे । फिल्महल मध्येमा नजिकैको अशोकहल बढी जाने गन्तव्य थियो । त्यतिखेरका हिन्दी फिल्मका नायिकाहरु दिव्या भारती र मनिषा कोइरालालाई धेरैले मन पराउने गर्थे । माधुरी दीक्षित पनि मन पराइनेमा पर्थिन्। दिव्या भारतीको असामयिक मृत्युपछि धेरै विद्यार्थी साथीहरु उदास देखिएका थिए । हामी तेस्रो वर्षको अन्ततिर आइपुग्दा हलमा लागेको ‘रंगिला’ फिल्म र उर्मिला मातोडकरको ‘याइ रे याइ रे’ गीतको नृत्यले पनि तहल्का पिटेको थियो । यस फिल्मले धेरैजनालाई हलसम्म तान्न सफल भएको थियो र फिल्म हेर्न गएका साथीहरुका अनुसार त्यो गीत बज्न थालेपछि हलमा पूरा शर्ट फुकालेर, बसेको सिटबाट उभिंदै, फुकालिएको शर्ट हातले हल्लाउँदै, मुखमा औंला राखेर सिटी बजाउँदै, हल नै थर्काएर गीत गाउँथे रे । नेपाली हिरोहरुमध्ये राजेश हमाल त्यतिबेलाका उदाउँदा नायक थिए र ‘युगदेखि युगसम्म’ फिल्मदेखि उनको लोकप्रियताको ग्राफ बढ्न थालेको थियो । शिव श्रेष्ठ र भुवन केसी त सदावहार नेपाली हिरो भई नै हाले । त्यतिबेला चर्चामा आएका नेपाली हिरोइनहरुमा कृष्टि मैनाली, करिष्मा मानन्धर, विना बुढाथोकी आदि थिइन् ।

मैले भने पुल्चोक अध्ययन अवधिमा हलसम्म गएर नगण्य फिल्महरु हेरें, ती पनि साथीहरुको आग्रहमा । तीमध्ये ‘कन्यादान, ‘दुई थोपा आँसु’ तथा अरु एक दुई नेपाली, हिन्दी फिल्महरु थिए । नेपाल टेलिभिजनले नेपाली फिल्म देखाउन थालेपछि टिभीहलमा दिउँसो हेरिएका केही नेपाली फिल्महरुमा जीवनरेखा, सम्झना, लाहुरे आदि थिए । मह जोडीका टेलिसिरियलहरु ‘कान्तिपुर’, ‘लालपुर्जा’, ‘लक्ष्मी’ लाई पनि धेरैले मन पराउँथे । केही साथीहरु लालपुर्जा टेलिसिरियलका पात्र ध्रुवरामको ‘उस्’ ‘उस्’ ‘उस्’ ‘उस्’ आवाज दुरुस्त निकाल्न सक्थे भने किरण केसी उर्फ् ‘ट्याक्सी’ पात्र पनि लोकप्रिय थिए ।

हामी बेलुकी खाना खाएपछि कहिलेकाहीं साँझमा बाहिरको सडकमा हिंड्नका लागि पनि निस्कने गर्थ्यौं । क्याम्पस गेट देखि शिक्षक क्वार्टरसम्मको सडकलाई धेरै चोटि पैदल नाप्ने गर्थ्यौं ।यसरी हिंड्दै गर्दा अनेक विषयमा कुराकानी हुने गर्थे । देशमा राजनीतिक सरगर्मी बढ्दा राति अबेरसम्म छात्रावासमा साथीहरु बिच राजनीतिक कुरालाई लिएर कुराकानी, बहस, विवाद हुन्थ्यो । यस्ता बहसमा केही साथी उदारतापूर्वक प्रस्तुत हुन्थे भने केही साथीहरु आफ्नो राजनीतिक आस्था र आबद्धतामा साह्रै कट्टर । पूर्व मेचीदेखि महाकालीसम्मका साथीहरु भएको हुँदा छात्रावास बसाईको अवधिमा नेपालको कुनाकुनाका धरै विषयवस्तुसँग परिचित हुने मौका पाइयो ।छात्रावासमा केही साथीहरु साह्रै मिठो खाना पकाउँथे । सुनिल शाह (धनुषा, हाल अमेरिका), विक्रम शाह (सप्तरी), विनोद पंजियार (महोत्तरी?) लगायतका मधेशी साथीहरुले खाना खान निम्त्याउनु भएको र खुवाउनुभएको मिठो खानाको स्वाद कहिल्यै बिर्सन्न । केही साथीहरु सबैजना सुतिसकेपछि छात्रावासमा रहेको परेवाको गुँडबाट बचेराहरु निकालेर पकाएर खाने काममा समेत पल्किएका रहेछन् । मैले यो कुरा अलिक पछि अन्य साथीहरुबाट सुनेको थिएँ । आर्किटेक्चरतिरका केही साथीले त अघिल्लो ब्याचका साथीहरुले बनाएको मोडल चोरेर ल्याएर, नाम फेरेर पनि बुझाएका थिए रे । दिउँसो मोडल राखिएको कोठाको झ्यालको छेस्किनी खोलेर राख्ने, अनि राति पालेहरुको आँखा छल्दै गएर, भर्‍याङ हालेर, झ्यालबाट छिर्दै, दिउँसो छानेको मोडल चोरेर ल्याएर बुझाए रे । मैले सुनेको कुरा । ड्रइङ गर्न अल्छीहरुका लागि ‘टोपो (शीशामुनि बत्ती बाल्ने, अनि शीशामाथि बनिसकेको ड्रइङ पेपर राखेर त्यसमाथि अर्को पेपर टाँसी धर्साहरु सार्दै जाने)’ गर्नु चाहिं सामान्य भईसकेको थियो ।

त्यतिबेला साथीहरुसँग भएको कुराकानीको सम्झनाका आधारमा म दार्चुलाको गोकुलेश्वर (महादेव विष्ट), ओखलढुंगाको पोकली झरना (गुणहरि अधिकारी), सल्यानको थारमारे (फलेन्द्र डिसी), रुकुमको चौरजहारी (टोपेन्द्र खनाल), रुकुमकोटको कमलपोखरी (रेवन्त गौतम), अर्घाखाँचीको ठाडा (जीवन कुमार श्रेष्ठ), रामेछापको प्रिती (मोहन आचार्य) सोलुखुम्बुको गोली (चेत कुमार खत्री), नवलपरासीको रुपौलिया, तम्सरिया (महेन्द्र उपाध्याय, नारायण मरासिनी), सप्तरीको कञ्चनपुर (बिक्रम प्रसाद शाह, प्रकाश चौधरी लगायत) लगायतका थुप्रै ठाउँका बारेमा अझै पनि अरुलाई धेरथोर गफ दिन सक्छु । यसरी गफ दिंदा ती ठाउँका मान्छे पनि दंग पर्ने भए, आफू त गफ दिन सकेकोमा झनै दंग, हा…हा… हा….. । केही दिन अघि मात्र वन तथा वातावरण मन्त्रालयको वातावरण प्रभाव मूल्याकंन शाखामा गएको थिएँ । त्यहाँ भर्खरै नयाँ अधिकृत आउनुभएकोछ, नाम – खिलानाथ दाहाल, घर – वरुणेश्वर, ओखलढुंगा । मैले हाम्रा ब्याचमेट साथी काली प्रसाद नेपालजीका बारेमा कुरा गरें । खिलानाथ सर त काली प्रसाद नेपालजीको गाउँले र स्कूलको क्लासमेट साथी नै पो हुनुहुँदो रहेछ त । अब के चाहियो र?

छात्रावास जीवन र साथीहरुका बारेमा लेख्दालेख्दै गर्दा म त अलिक बहकिएछु कि क्या हो ? अँ त, ईञ्जिनियरिङ विषयहरु पहिलो वर्षका उराठलाग्दा विज्ञान सम्बन्धित विषयहरु भन्दा धेरै सजिला र रोचक पनि थिए । पहिलो वर्षको पढाईमा त्यति राम्रो गर्न नसकेका धेरै साथीहरुले दोस्रो वर्षको पढाइदेखि राम्रो गर्न थालेका थिए ।प्रायजसो: साथीहरुमा ईञ्जिनियरिङ विषयका कक्षाहरुमा राम्रै उत्सुकता र लगाव देख्न सकिन्थ्यो । हाम्रो ‘इ/एफ’ सेक्सनमा विभिन्न इञ्जिनियरिङ विषयहरु पढाउने सरहरुमा हुनुहुन्थ्यो – हरिदर्शन श्रेष्ठ, रमेश बजिमय, नविनचन्द्र शर्मा, रुद्र बहादुर राजभण्डारी, पदम खड्का, केशवलाल श्रेष्ठ, नगेन्द्रराज सिटौला, इन्दिवर गुरुङ, हरिशंकर श्रेष्ठ, लक्ष्मण चन्द ठकुरी, पदमसुन्दर जोशी, सिद्धि बहादुर बज्राचार्य, विश्वनाथ खनाल, …….. । केही गुरुहरुको नाम शायद भुलिसकेछु कि त । खैर, मेरो ईञ्जिनियरिङ शिक्षाको जग बलियो बनाउनमा वहाँहरु सबै आदरणीय गुरुहरुको ठूलो योगदान रहेको छ भन्नेमा कुनै शंका छैन ।

(क्रमश:………….)

वातावरणीय ईन्जिनियर श्रेष्ठ इन्भाइरोमेन्टल सर्भिसेस नेपाल, इएसएनमा आबद्ध छन् । उनी सल्लेरी खबरका नियमित स्तम्भकार हुन् ।

प्रतिक्रिया दिनुहोस्