Logo

पर्यटन प्रवर्द्धनको नयाँ ढोका खुल्यो, प्याराग्लाइडिङको सफल परीक्षण



Spread the love

१८ मंसिर, गुल्मी। गुल्मीको मालिका गाउँपालिका-४ कि मीना अर्याललाई आकाशमा चिल जस्तै मान्छे पनि उड्छन् भन्ने कुरामा विश्वास नै थिएन।

टेलिभिजनमा त देखेका थिए। तर, पनि पूर्णरूपमा विश्वस्त थिएनन्। बिहीबार गाउँपालिकाले आफ्नो घर छेउको डाँडाबाट तीन वटा प्याराग्लाइडिङको परीक्षण उडानमा तीन जना मान्छे उडायो। र, त्यो द‍ृश्य देखेरे उनी अच्चममा पर्दै भनिन्, ‘‘जिन्दगीमा पहिलो पटक मान्छे पनि आकाशमा चिल जस्तै उडेको देखेँ। योभन्दा अगाडि कहिल्यै पनि मान्छे त्यसरी उडेको देखेकी थिइँन।

न त अरूले भनेको सुन्दा पत्याएकी थिएँ।” मीना अर्याल मात्रै होइन, मालिका गाउँपालिकाका धेरैलाई मान्छे उडेको देख्दा अचम्म लाग्यो। आफ्नो घर माथि आकाशमा हेलिकोप्टर र चरा-चुरुङ्गी मात्रै उडेको देखेका मालिकाबासीले टिभिमा देखेको प्याराग्लाइडिङ आँखै अगाडि देख्दा अचम्मीत नहुन् पनि कसरी ? तर, आज प्याराग्लाइडिङमा मान्छे उडेको देख्दा रमाइलो मानेका मालिकाबासीलाई हरेक दिन आफ्नो घरमाथि चिल जस्तै मान्छे उडुन् भन्ने लागेको छ।

यो गाँउपालिकालाई पर्यटन क्षेत्रमा अगाडि बढाउन प्याराग्लाइडिङको सभ्भावना भएको गाउँपालिकाको चार नम्बर वडास्थित देउराली डाँडाबाट प्याराग्लाइडिङको सफल परीक्षण गरिएको हो। बुधवार आयोजित एक कार्यक्रमका विच सुरु भएको प्याराग्लाइडिङ परिक्षणको पूर्वमन्त्री एवम् गुल्मी जिल्लाको क्षेत्र नम्बर(२ का प्रतिनिधि सभा सदस्य गोर्कण विष्टले उद्घाटन गरे। उद्घाटन गर्दै विष्टले प्याराग्लाइडिङ सञ्चालनका लागि आवश्यक पर्ने सबै कुरामा सहयोग गर्ने बताए।

‘‘मालिका गाँउपालिकाको देउराली डाँडामा प्याराग्लाइडिङको नियमित उडान गरी हामी यस क्षेत्रलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा पनि चिनाउने छौं,” उनले भने। त्यस्तै गाउँपालिकाका अध्यक्ष रित बहादुर थापाले पनि प्याराग्लाइडिङ गौरवको योजना रहेको बताउँदै निजी क्षेत्रसँग सहकार्य गरेर नियमित रूपमा सञ्चालन गर्ने बताए। ‘‘प्याराग्लाइडिङ सञ्चालन गरी यहाँ रोजगारीका अवसर सिर्जना गर्छौं त्यसका लागि हामीले आजै बाट तयारी थालेका छौं,” उनले भने।

प्याराग्लाइडिङ परीक्षणमा मात्रै सीमित नराखी नियमित सञ्चालन गर्नुपर्ने र त्यसका लागि मालिका गाउँपालिका योग्य रहेको प्यारागलाइडिङ सञ्चालक भुवन गाहाले बताए। प्याराग्लाइडिङको सफल परीक्षणसँगै मालिका गाउँपालिकाको पर्यटन विकासमा नयाँ ढोका खोलिएको छ। विकासका पूर्वाधारलगायत भौगोलिक हिसाबले पनि विकट यो गाउँपालिकाको विकासमा पर्यटनसँगै प्याराग्लाइडिङ पनि गतिलो माध्यम बन्न सक्ने सभ्भावना देखिएको छ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्