Logo

एमाले नेता डन दीपक मनाङ्गेलाई ५ वर्ष जेल, कांंग्रेस नेता डन गणेश लामालाई सफाइ



Spread the love

मनाङबाट प्रदेशसभा सदस्यमा निर्वाचित एमाले नेता डन दीपक मनाङेलाई सर्वोच्च अदालतले ५ वर्ष जेल सजाय गर्ने तत्कालीन पुनरावेदन अदालतको फैसला सदर गरेको छ ।

न्यायाधीशहरु दीपकराज जोशी र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले मंगलबार तत्कालीन पुनरावेदन अदालत पाटनको आदेशलाई सदर गर्दै मनाङ्गेलाई ५ वर्षको कैद सजाय सदर गरेको हो।

प्रदेशसभा सदस्यमा निर्वाचित मनाङे एमालेले टिकट नदिएपछि उनी स्वतन्त्र उम्मेदवार बनेका थिए । पछि एमालेको समर्थनमा विजयी भए । तर, प्रदेशसभा सदस्यको सपथ नलिँदै उनी ज्यानमुद्दामा दोषी ठहर भएका छन् र उनको पद गएको छ ।हालसम्म अदालतले तोकेको कैद सजाय भुक्तान नगरेका कारण मनाङे अब कारावास बस्नुपर्नेछ।

किन भयो जेल सजाय ?

२०६१ सालमा दीपक मनाङ्गेको समूहले चक्रे मिलन लगायतको समूहलाई खुकुरी प्रहार गरी आक्रमण गरेको थियो। मनाङे समूहको आक्रमणबाट चक्रे मिलनको टाउकोमा गम्भीर चोट लागेको थियो भने हात चुँडिएको थियो। उपचारपछि उनको हात जोडिएको थियो।

प्रहरीले मनाङ्गे समूहविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गर्‍यो तर, जिल्ला अदालत काठमाडौँले कर्तव्य ज्यान मुद्दा नभई कुटपिट भएको ठहर गर्दै मनाङ्गेलाई २ वर्ष जेल सजाय सुनायो भने गणेश लामा, रेवत कार्की, रमेश सुनुवार र उमेश लामालाई सफाइ दियो ।

त्यो फैसलाविरुद्ध सरकारी वकिलको कार्यालय पुनरावेदन अदालत पाटन गयो । अदालतले ०६९ मा ज्यानमुद्दा ठहर गर्दै मनाङ्गेलाई ५ वर्ष जेल सजाय सुनायो भने अरूलाई सफाइ दिने जिल्ला अदालतको फैसलालाई सदर गर्‍यो ।

सरकारी वकिलको कार्यालय मनाङ्गे बाहेकका चार जनालाई पनि सजाय माग गर्दै सर्वोच्च गएको थियो । ।उक्त आदेश सँगै कांंग्रेस नेता डन गणेश लामासहित चार जनाले सफाइ पाएका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्