Logo

एउटै प्रदेशमा दुई लाखको पिसिआर परीक्षण



Spread the love

२७ मंसिर, विराटनगर । प्रदेश नं १ मा दुई लाख सर्वसाधारण नागरिकको पिसिआर परीक्षण गर्ने कार्य सम्पन्न भएको छ । एक लाख ३८ हजार ३५९ पुरुष र ६१ हजार ८१९ महिला गरी जम्मा दुई लाख १७८ जनाको पिसिआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालय कोभिड–१९ निगरानी, तथ्याङ्क सङ्कलन तथा अनुगमन समितिका संयोजक डा रविन्द्र निरौलाले जानकारी दिए । परीक्षणमा २८ हजार ८१२ जनामा कोरोना सङ्क्रमण देखिएका छन् ।

पिसिआर परीक्षणमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले सबैभन्दा बढी ६३ हजार ९२६ जनाको परीक्षण गरेको छ भने प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरले ४८ हजार ७४४, कोशी अस्पताल विराटनगरले ४१ हजार ९००, नोबेल शिक्षण अस्पतालले १८ हजार ७३०, मेची अस्पतालले १० हजार ९५८, कनकाई पिसिआर प्रयोगशालाले छ हजार ९८३, बिराट शिक्षण अस्पताल बुढीगङ्गा मोरङले चार हजार १४६, न्यूरो अस्पतालले दुई हजार ८३२ र अन्य प्रयोगशालामा एक हजार ९५९ जनाको रहेको छ ।

प्रदेशमा पछिल्लो २४ घण्टाको अवधिमा ५८ जना सङ्क्रमित थपिएका छन् । अवधिमा गरिएको ४६२ जनाको पिसिआर परीक्षण गर्दा झापा र सुनसरीका २०–२०, मोरङका १० मध्ये विराटनगरमा चार, इलामका चार, सङ्खुवासभा र प्रदेश १ बाहिरका दुई÷दुई जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । आज ४५ जना सङ्क्रमित निको भई घर फर्केका छन् भने हालसम्म निको हुनेको सङ्ख्या २३ हजार ५८२ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्