Logo

यस्तो विकास हुनेछ विज्ञान–प्रविधिमा



Spread the love

सन् २०१८ मा विज्ञान–प्रविधिको क्षेत्रमा धेरै नै विकास हुनेछ । अहिले विभिन्न क्षेत्रमा भएका गतिविधिलाई नियाल्दा यो वर्षभित्रै प्रविधिले ठूलो फड्को मार्ने अनुमान गर्न सकिन्छ । विभिन्न क्षेत्रमा भैरहेका अनुसन्धान एवं विकासका कारण यो सब सम्भव भएको हो ।

सेल्फ ड्राइभिङ भेइकल

ड्राइभरलेस कार निर्माणको क्षेत्रमा पश्चिमी देशदेखि लिएर चीन र जापानसम्म ठूला–ठूला अनुसन्धान भैरहेका छन् । यो प्रविधि सन् २०१८ मै सर्वसाधारणको पहुँचमा पुग्ने अनुमान गरिएको छ । यसको सुरुवात भने ड्राइभरलेस ट्रकबाट हुन सक्छ । यसको सफल परीक्षण सन् २०१७ मै भैसकेको छ । ड्राइभरलेस सवारी साधनबाट सडक दुर्घटनामा कमी आउनुका साथै इन्धनको खपत समेत घट्नेछ ।
यातायातका लागि ड्रोन

ड्रोनको प्रयोग अहिले पनि भैरहेको छ, तर अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले अलि फरक खालको ड्रोन विकास गरिरहेको बताएको छ । खासगरी अन्तरिक्ष प्रयोजनका लागि निर्माण गरिएको उक्त ड्रोन परिवहनका लागि अर्थात् यातायातको क्षेत्रमा समेत प्रयोग गर्न सकिनेछ । यद्यपि अन्य विभिन्न कम्पनीका ड्रोनले पनि एक स्थानबाट अर्को स्थानसम्म सामान ओसार्न अर्थात् यातायात प्रयोजनका लागि अहिले पनि ड्रोन प्रयोग गरिरहेका छन् । यो वर्ष यसको प्रयोगले थप व्यवहारिक रूप लिनेछ ।

रोबोटको संसार

सन् २०१७ को अक्टोबरमै हङकङको कम्पनी ह्यान्सन रोबोटिक्सले मानवीय स्वरूपको रोबोट निर्माण गरिसकेको छ । उक्त रोबोटको नाम सोफिया राखिएको छ र साउदी अरबमा त उक्त रोबोटलाई नागरिकतासमेत प्रदान गरिएको छ । सन् २०१८ मा यो कार्यले अझ गति लिनेछ र आमजनजीवनमा यस्ता रोबोटको भूमिका समेत बढ्नेछ । गुगलले हालै पर्सनालिटी रोबोटको पेटेन्ट पाएको घोषणा पनि गरेको छ, जसले मानिसको व्यक्तित्वअनुसारको रोबोट उपलब्ध गराउनेछ । विभिन्न क्षेत्रमा मानिसको सट्टा रोबोटले काम गर्न थाल्नेछन् ।

आर्टिफिसियल इन्टेलिजेन्सको बढ्दो प्रभाव

यो वर्ष आर्टिफिसियल इन्टेलिजेन्स अर्थात् एआईको प्रयोगमा निकै वृद्धि हुनेछ । यसले मानिसको दिमागभन्दा निकै अगाडि बढेर कार्य गर्नेछ । मानिसको जीवनलाई सहज बनाउन यसको निकै उपयोग हुनेछ । समय, दिन र कालअनुसार यो प्रविधिले आफैं कार्य गर्नेछ । यसका लागि छुट्टै व्यक्ति वा प्रविधिको सहयोग आवश्यक पर्नेछैन । यद्यपि एआई मानवका लागि खतरनाक पनि साबित हुनसक्छ । त्यसैले सतर्कतापूर्वक यसको अध्ययन एवं प्रयोग गर्नुपर्ने कुरा बताइँदै आएको छ ।

इन्टरनेट अफ थिंग्सको प्रयोग

हाम्रो घरमा होम एप्लायन्स र डिजिटल उपकरणको छुट्टै संसार छ । अहिले ती सबै वस्तुलाई इन्टरनेट अफ थिंग्स (आईओटी) को सहयोगले इन्टरनेट नेटवर्कमा जोड्ने कार्य भैरहेको छ । यसका कारण कुनै पनि स्थानबाट यी एप्लायन्स र उपकरणलाई आवश्यक निर्देशन दिन सकिन्छ । सन् २०२२ सम्म कुनै पनि व्यक्तिसँग वासिङ मेसिन, प्रिन्टर, सेक्युरिटी डिभाइसदेखि लिएर शरीरमा लगाइने हेल्ट मोनिटर चिप सम्म हुनेछ । ती सबै उपकरणलाई जोडेर सुरक्षा प्रदान गर्ने काम अहिले पनि भैरहेको छ । सन् २०१८ मा यो कार्यले थप गति लिनेछ ।

सबैका लागि इन्टरनेट

विश्वका सबै मानिसले नि:शुल्क रूपमा इन्टरनेट चलाउन पाउनुपर्छ भन्ने आवाज पहिलेदेखि नै उठिरहेको छ । यसका लागि आवश्यक कार्य पनि भैरहेका छन् । विभिन्न वैज्ञानिक संस्थाहरू अहिले हाई स्पिड इन्टरनेट नि:शुल्क उपलब्ध गराउन अन्तरिक्षमा स्याटेलाइट स्थापना गर्ने प्रयास गरिरहेका छन् । सन् २०१८ मा यो कार्यले पूर्णता पाउने अनुमान छ ।

इन्टरनेटको प्रयोग अझ बढ्दै जानेछ । सन् २०१८ मा विश्व जनसंख्याको अनुपातअनुसार प्रत्येक २० नागरिकमा एक जनासँग वाइफाइ हुनेछ । विश्वमा इन्टरनेट ट्राफिकले १ सय ३२ एक्साबाइट पार गर्नेछ । त्यसैगरी मोबाइलमा १० दशमलव ५ एक्साबाइट डाटा उपयोग हुनेछ ।

तीव्र गतिमा डाटा ट्रान्सफर 

लाइट पिक एउटा नयाँ डाटा ट्रान्सफर गर्ने प्रविधि हो । यसलाई सुपर हाई डाटा ट्रान्सफर प्रविधि भनिन्छ । यो प्रविधिमार्फत प्रतिसेकेन्ड १ सय जिबी डाटा ट्रान्सफर गर्न सकिन्छ । इन्टरनेटको बढ्दो प्रयोगसँगै मानिसहरू डाटा स्टोर गर्न विभिन्न डिभाइस प्रयोग गरिरहेका छन् । अब डाटा जिबीमा होइन, टिबीमा स्टोर गरिँदैछ । यसका लागि विभिन्न प्रकारका एक्सटर्नल हार्ड ड्राइभसमेत प्रयोग गरिन्छ । यो अवस्थामा डाटा ट्रान्सफर गर्न लाइट पिकले धेरै नै सहयोग पुर्‍याउनेछ|

आँखाबाट नियन्त्रण हुने प्रविधि

मोबाइल फोनमा अनुहार पहिचान गर्ने प्रविधि अहिले नै उपलब्ध छ । फेस आइडी नामकरण गरिएको उक्त प्रविधि आइफोन एक्समा प्रयोग गरिएको छ । सन् २०१८ मा आँखाबाट नियन्त्रण हुने प्रविधि समेत आइसक्नेछ । यो अनुहार पहिचान गर्ने एड्भान्स स्टेज हो । आँखाको नानी पहिचान गर्ने उक्त सफ्टवेयर क्यामेरा, सुरक्षा उपकरणदेखि लिएर विभिन्न प्रकारका मेसिनहरूमा प्रयोग गरिनेछ ।

स्मार्टफोनको प्रविधिमा आउने परिवर्तन

सन् २०१७ मा बेजललेस डिस्प्ले, फेस रिकग्निसन तथा ड्युअल क्यामेराजस्ता नयाँ प्रविधि आए । सुरुमा महँगा स्मार्टफोनमा मात्र उपलब्ध यो प्रविधि अब बिस्तारै सस्ता स्मार्टफोनमा समेत प्रयोग हुनेछ । सन् २०१८ मा पनि यस्ता विभिन्न प्रविधिका फोन बजारमा आउनेछन् ।

फेस रिकग्निसन

फेस रिकग्निसन फिचर आइफोन एक्समा सन् २०१७ मै उपलब्ध भएको हो । यद्यपि यसको उपयोग धेरैले गर्न पाएका छैनन् । यसको सहयोगले दिनमा मात्र नभएर राति समेत अनुहार देखाएकै भरमा फोन अनलक गर्न सकिन्छ । सन् २०१८ मा भने यसको प्रयोग निकै बढ्नेछ । धेरैले यो प्रविधि प्रयोग गर्न पाउनेछन् । अन्य कम्पनीले पनि यस्ता स्मार्टफोन बजारमा उपलब्ध गराउनेछन् । अहिले भन्दा सस्तो दरका स्मार्टफोनमा समेत यो प्रविधि उपलब्ध हुनेछ ।

४ हजारभन्दा बढी ग्रह

नासाको केप्लर मिसनले हालसम्म हाम्रो सौर्यमण्डलभन्दा बाहिर २ हजार ३ सय ४१ वटा नयाँ ग्रहको खोजी गरेको छ । त्यसैगरी यस्तै खालका ४ हजार ४ सय ९६ वटा ग्रह पनि धेरै दृष्टिकोणले उपयोगी मानिएका छन् । पृथ्वीभन्दा बाहिर पनि जीवनको खोजी गर्ने क्रममा यी ग्रह पत्ता लागेका हुन् । यद्यपि तीमध्ये ३० वटा ग्रह हाम्रो पृथ्वीभन्दा दोब्बर ठूला छन् र त्यहाँ जीवनका लागि अनुकूल परिस्थिति उपलब्ध छ । यो खोजी कार्यले वर्ष २०१८ मा तीव्रता लिनेछ । यसका लागि गुगलको आर्टिफिसियल इन्टेलिजेन्सको उपयोग गरिनेछ ।

क्वालकम फाइभ जी

फाइभ जी प्रविधिको प्रयोग सन् २०१९ देखि मात्र प्रारम्भ हुने अनुमान गरिएको छ । यद्यपि सन् २०१८ मै फाइभ जी प्रविधिका केही फोन तथा मोडेम बजारमा आउने अनुमान छ । विश्वको प्रमुख चिप निर्माता कम्पनी क्वालकमले केही महिना पहिले फाइभ जी मोडेम प्रदर्शन गरेको थियो । यो वर्ष उक्त मोडेम बजारमा आउनेछ । मोबाइल प्रविधिको मानक निर्धारण गर्ने संस्था थ्रिजीपीपीले फाइभ जी नेटवर्क, स्पेसिफिकेसन तथा फिचरका लागि मानक निर्धारण गरिसकेका कारण पनि यसतर्फ थप कार्य हुने अनुमान छ । यसबाट मोबाइल फोन निर्माता, टावर निर्माता तथा रेडियो इक्विपमेन्ट निर्माताले विभिन्न प्रकारका डिभाइसको निर्माण गर्न थाल्नेछन् ।

अगमेन्टेड रियालिटी

अहिले अगमेन्टेड रियालिटी अर्थात् एआरको चर्चा पनि निकै छ । ड्युअल क्यामेरा आएपछि यसमा निकै सुधार पनि भएको छ । अब यसमा तीनवटा क्यामेराको प्रयोग हुनेछ । यसको सहयोगले स्मार्टफोनबाटै अझ राम्रोसँग थ्रिडी तस्बिर लिन सकिनेछ । हाल असुसले यो कार्यको सुरुवात गरेको छ, तैपनि धेरै फोनमा यो देखिएको छैन । यो वर्ष तीनवटा क्यामेरा भएका धेरै स्मार्टफोन बजारमा आउनेछन्, जसबाट रियल वल्र्ड र भर्चुअल वल्र्डको संगम हुनेछ

एआई

आर्टिफिसियल इन्टेलिजेन्स अर्थात् एआईका बारेमा सन् २०१७ मा पनि निकै चर्चा सुनियो । यद्यपि सन् २०१८ मा भने यो प्रविधिको उपयोग विशेष रूपमा हुनेछ । समय, दिन र कालअनुसार यो प्रविधिले आफैं कार्य गर्नेछ । यदि कुनै म्यासेज आयो भने स्मार्ट एआई फिचरले उक्त म्यासेज पढेर सुनाउनुका साथै अनुमति दिए आफैंले उत्तरसमेत लेखेर पठाउनेछ । त्यसबाहेक यसले क्यामेरा, लोकेसन र कन्ट्याक्टमा समेत सहयोग गर्नेछ । यदि क्यामेरा अन गर्ने हो भने बाहिरको प्रकाशअनुसार आफैं सेटिङ मिलाउँछ र तस्बिर खिच्छ । यसले तस्बिर कसलाई ट्याग गर्ने भन्ने जानकारी पनि दिन्छ भने कुनै नयाँ व्यक्ति देखे उसका बारेमा जानकारीसमेत दिन्छ । यदि प्रयोगकर्ताले अनुमति दिए यसले डाक्टरको अप्वाइन्टमेन्ट लिनेदेखि पिज्जा अर्डर गर्नेसम्म कार्य गर्छ ।

अन स्क्रिन फिंगरप्रिन्ट स्क्यानर

अनस्क्रिन फिंगरप्रिन्ट स्क्यानर भएको स्मार्टफोनको प्रयोग निकै बढ्नेछ । यसका लागि अलग्गै फिंगरप्रिन्ट सेन्सर हुनेछैन । हाल क्वालकम तथा भिभोले यो प्रविधि प्रयोग गरिहेका छन् । सामसुङ र वानप्लसका स्मार्टफोनमा समेत यो प्रविधि प्रयोगमा आउनेछ । क्वालकम र स्न्यापटिक्सले कुनै स्मार्टफोन निर्माता कम्पनीसँग मिलेर यो प्रविधिको क्षेत्रमा कार्य गरिरहेको समाचार पनि आएका छन् । स्न्यापटिक्सका अनुसार सन् २०१८ मा बजारमा यस प्रकारको डिस्प्ले सेन्सर भएका ७ करोड स्मार्टफोन उपलब्ध हुनेछन् ।

 

 

प्रतिक्रिया दिनुहोस्