Logo

“इन्जिनियरिङ पेशाको सबलीकरण नै मेरो पहिलो प्राथमिकता”



Spread the love

डेमोक्रेटिक विचारधारा बोक्ने इन्जिनियरहरूको छाता संगठन ‘सेन्टर फर डेमोक्र्याटिक इन्जिनियर्स नेपाल, सिडेन’ छैठौं कार्यकारिणी समितीको निर्वाचन यही पौष ४ गते शनिबार सम्पन्न भएको छ। नेपाली कांग्रेसको सुभेच्छुक संस्था समेत रहेको सिडेन निर्वाचनमा ई. धुर्बराज थापा र ई. उमेश थानी नेतृत्वका दुई समूहबीच प्रतिष्पर्धा भएको थियो। उक्त प्रतिष्पर्धाबाट अध्यक्षमा ई. उमेश थानी निर्वाचित भएका छन् भने बाँकी लगभग सम्पूर्ण सीटमा ई. थापा समूहले जित हासिल गरेको छ। ई. थापा समूहबाट प्रतिनिधित्व गर्दै उपाध्यक्षमा ई. मन्दीप सुवेदी, महासचिबमा ई. रोशन राज गिरी, उप महासचिबमा सुमन पुडासैनी र कोषाध्यक्षमा श्याम दाहाल लगायत निर्वाचित भए। निर्वाचनमा मतदाताहरूले सातै प्रदेशका आ-आफूलाई पायक पर्ने मतदानस्थलबाट मत दिएका थिए।

कुल ३ हजार ५ सय मतदाताबाट खसेका २ हजार ८ मतमध्ये सम्पूर्ण उम्मेद्वारहरूमा सबैभन्दा बढी मत (कुल ११८५ मत) हासिल गर्दै ‘म्यान अफ द इलेक्सन’ भएर ई. मन्दीप सुवेदी उपाध्यक्षमा निर्वाचित भएका छन्। पेशाले सिभिल इन्जिनियर सुवेदी विशेषतः भू-प्रविधिमा विज्ञता राख्छन्। उनी प्राध्यापन तथा व्यवसायमा संलग्न छन्। युनिभर्सल इन्जिनियरिङ एण्ड साइन्स कलेजका डिरेक्टर एवं नेपाल भू-प्रविधी समाजका महासचिव समेत रहेका ई. सुवेदीले तत्कालिन ३० औं नेपाल इन्जिनियर्स एसोसियसन (एनइए) कार्यकारिणी चुनाबमा समेत सर्वाधिक मतसहित ‘म्यान अफ द इलेक्सन’ बन्दै जित हासिल गरेका थिए। यसै सिलसिलामा इन्जिनियरिङ समुदायमा सिडेनको औचित्य र यसको अबको कार्यदिशाबारे सल्लेरी खबरका लागि उनै ई. सुवेदीसँग हामीले छोटोमिठो कुराकानी गरेका छौं।

सर्वप्रथम त यहाँलाई बधाई!

हजुर, यहाँलाई धेरै धन्यवाद!

सिडेन चुनाबमा सर्वाधिक भोट पाउनुका पछाडि तपाईंमाथि मतदाताहरूको अलि बढी नै विश्वास भएर हो या अरु नै केही कारण छन् यसका पछाडि ?

यसका पछाडि मुलतः मप्रति मतदाता ज्यूहरूले देखाउनु भएको असीम माया, विश्वास अनि अपेक्षा नै हो भन्ने मेरो बुझाइ रहेको छ। यो नतिजा सम्म आइपुगिरहँदा विगतमा मैले सम्हाँलेका पदहरूमा देखाएको इमानदारिता, लगनशीलता र जिम्मेवारीबोधको भावना पनि हुनु पर्छ। अझ भन्नु पर्दा, ७२ सालको भूकम्प पछाडि नेपाल इन्जिनियर्स एसोसिएसन (एनइए) ले गरेको काम र त्यसमा मैले निभाएको भूमिका, त्यसैगरी नेपाल भूप्रविधी समाज (एनजीएस) को २ वर्षे महासचिब कार्यकालमा मैले आफ्नो सोसाइटी प्रति गरेको कामको पनि नतिजा हो यो भन्ने मैले बुझेको छु।

त्यतिमात्र नभएर, म विगत १२ वर्ष देखि प्राध्यापन पेशामा छु, मैले पढाएका हजारौं विद्यार्थी अहिले इन्जिनियर भैसक्नु भएको छ। त्यस्तै, ‘इन्जिनियर साथी वचत तथा ऋण सहकारी संस्था’को भर्खरै मात्र मैले अध्यक्षता ग्रहण गरेको छु। यो सम्पूर्ण पृष्ठभूमी र जहाँ काम गर्दा पनि सबैको विश्वासलाई कायम राख्ने मेरो प्रयासका कारण यो माया र साथ-सहयोग पाएको मैले ठानेको छु। र, यो विश्वासलाई अझ थप उचाइ दिलाउन कुनै कसर बाँकी नराख्न सदैब मेरो प्रयत्न रहनेछ।

यसपालिको सिडेन चुनाबमा तपाईंहरू दुई समूह भएर प्रतिष्पर्धा गर्नुभयो। कांग्रेसको सुभेच्छुक संस्था पनि भएकाले यहाँहरूको यो समूह विभाजनको हाँगो देउवा-पौडेल पक्ष सम्म नै जोडिएको होला? अनि, यहाँ चैं कुन गुटको पर्नु भयो साँच्ची ?

पहिलो कुरा, हामी पार्टीको गुटबाट बनेका समूहहरू होइनौं। सिडेन सम्पूर्ण लोकतन्त्रप्रति आस्थावान् इन्जिनियरहरूको साझा संस्था हो। यो त पार्टीको लागि पूर्वाधार र विकासको अवधारणा प्रदान गर्ने ‘ब्रेन’ हो। जुन कहिल्यै पनि पार्टीको गुटमा विभाजन हुनै सक्दैन।

चुनाबमा जाँदै गर्दा हामी विभिन्न समूहमा विभाजित हुन पुगे पनि अन्ततः हामी सबैको उद्धेश्य एउटै थियो, छ र रहिरहनेछ। हामी सबै इन्जिनियरिङ पेशामा आबद्ध हुनुभएका इन्जिनियरहरूको पेशागतरुपमा स्थापना, विकास र अभिवृद्धिका लागि एकताबद्ध भएका हौं। हाम्रो मुल उद्देश्य भनेको इन्जिनियरहरूको हकहित, रोजगारी र समाजमा ससम्मान स्थापित गर्नका निम्ति एकमुष्ठ आवाज बन्नु नै हो। जब इन्जिनियर नै पार्टी र गुट भन्न थाल्छन्, बुझ्नु कि हामी थिंक ट्यांकबाट विमुख भएर पार्टीको अनुसार मात्र चल्ने ‘रोबोट’ बन्न पुग्छौं।

गलत राजनैतिक परिपाटीका कारण इन्जिनियरिङ पेशाको गुणस्तरमा झन्झन् ह्रास आइरहेको कुरा कत्तिको सत्य हो ? या, भनौं इन्जिनियरिङ समुदायमा सिडेन या यस्ता पार्टी सुभेच्छुक संगठनको औचित्य के ?

राजनिती आफैंमा गलत कुरा कदापि हैन। यो त हाम्रा केही नेतृत्वकर्ताको असक्षमता र कुदृष्टिका कारण आममानिसमा राजनिती प्रति अलि वितृष्णा आएको हुन सक्छ। होइन भने, देश सञ्चालन, व्यवस्थापन एवं विकास गर्ने कुरा आफैंमा निकै सुन्दर कुरा हो! जहाँसम्म परिपाटिको कुरा छ, त्यसमा धेरै हदसम्म तपाईंले भनेको कुरामा पनि सत्यता नभएको हैन। तर यसको मतलब सिडेनजस्ता सुभेच्छुक संस्थाको औचित्यमाथि नै प्रश्न चिन्ह उठाउनु बिल्कुल जायज छैन। यो त पार्टीले देख्ने पूर्वाधार र विकास सपनाको खाका कोर्न सहयोग गर्ने संस्था हो। यसको आवश्यकता असीम छ, तर के चै हो भने यसभित्रका केहि कु-संस्कारलाई भने तत्काल बदल्नु जरुरी छ।

जस्तो कि, अहिले पनि इन्जिनियर ज्यूहरू जागिर या नियुक्तिकै लागि राजनैतिक नेतृत्वकर्ताको भनसुन कुरेर बस्नु निकै अशोभनीय छ। केही व्यक्ति र संस्थाका यस्ता कदमले समाजमा हामी सम्पूर्ण इन्जिनियरहरूको नै गरिमा घट्न जान्छ। मेरो मान्यता र अबको दिशा पनि के हो भने, हामीहरू अब राजनैतिक नेतृत्वकर्ताका सुभेच्छुक मात्र नभई उनीहरूलाई विकास र समृद्धीको सही दृष्टिकोण दिलाउन सक्ने ‘थिंक ट्यांक’ को रुपमा समेत एकताबद्ध हुन अत्यावश्यक छ। यसका लागि हामीले सबैभन्दा पहिला त हामी आफैलाई दक्ष, सीपालु र सक्षम बनाउन जरुरी छ। हामीले हासिल गरेको शिक्षा र बजारको मागलाई सामञ्जस्य मिलाउँदै सबैलाई ‘जब सिकर’ मात्र नभएर ‘जब क्रियटर’ को रुपमा अभिप्रेरित गर्नका लागि स्वरोजगार-आन्तरिक सबलीकरण गर्न-गराउन मेरो पहल रहनेछ। यसका साथसाथै, विकासका वाहक इन्जिनियर तथा आर्किटेक्टको हरेक स्थानीय, प्रान्तीय तथा संघीय सरकारमा यथेस्ट दरबन्दि सृजनाको कार्यलाई पनि हामी प्राथमिकता दिनेछौं।

अन्त्यमा, सिडेनको तपाईं लगायतको यो कार्यसमितीले ठ्याक्कै के-के काम गर्छ त अब? हामीले अबको २ वर्षमा इन्जिनियरिङ क्षेत्रमा के-के कुरा सम्पन्न भएको देख्न पाउनेछौं ?

यसमा मेरो अवधारणा विल्कुल स्पष्ट छ।

हामीले हाम्रा नेतृत्वकर्ता सँगै देखेका सपना उहाँकै नेतृत्वमा पूरा गर्न नपाए तापनि हामीले उहाँका विचारधारा अनुरुप नै काम गर्नेछौं। जसमा पहिलो कुरा, हामीले नेपाल इन्जिनियर्स एसोसियसन (एनइए) मा लोकतान्त्रिक विचारधारालाई पुनर्स्थापित गर्नेछौं। दोस्रो, पेशागत इन्जिनियरिङलाई उमेर र अनुभवको आधारमा मात्र नभएर उच्च शिक्षा र जाँचको माध्यमबाट पनि निर्धारण गर्ने व्यवस्थाको सुरुवातका लागि पहल गर्नेछौं। तेस्रो, इन्जिनियरिङ पेशाको सबलीकरण एवं क्षमता अभिवृद्दिकरण नै अहिलेको समयको प्रमुख आवश्यकता रहेकोले विभिन्न माध्यमबाट यसको पक्षमा विशेष जोड दिनेछौं।

हुन्छ, समय र विचारकालागि यहाँलाई धन्यवाद !

हस्! यहाँलाई पनि विशेष धन्यवाद!

सिडेनमा निर्वाचित कार्यसमिती र प्राप्त मत

प्रतिक्रिया दिनुहोस्