Logo

घोषणापत्र जारी गर्दै काँग्रेस भेला सम्पन्न



Spread the love

नेपाली काँग्रेसको शुद्धीकरण तथा सुदृढीकरण राष्ट्रिय अभियानअन्तर्गत यहाँबाट शुरु भएको पहिलो काँग्रेस भेला पार्टीलाई गुट उपगुटबाट मुक्त गर्नुपर्ने लगायत बुँदा राखिएको घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।

‘हाम्रो अभियान हाम्रो काँग्रेस’ भन्ने नाराका साथ नेपाली काँग्रेस शुद्धीकरण तथा सुदृढीकरणका लागि सात प्रदेशबाट सहभागी काँग्रेस नेताहरुको भेला घोषणापत्र जारी गर्दै सम्पन्न भएको नेपाल तरुण दलका पूर्वअध्यक्ष विनोद कायस्थले जानकारी दिनुभयो ।

कायस्थले भन्नुभयो, “भेलाले देशमा हालै सम्पन्न तीन वटै तहको निर्वाचनको समीक्षा गरेको छ, काँग्रेसले भोग्नुपरेको पराजयका कारण खोजी गर्दै समस्या केलाउने काम भयो । अबका चुनौती के के छन् ? पार्टीको अबको कार्यदिशा के हुनुपर्छ भन्नेबारेमा बृहत् छलफल भयो, पार्टीको विधानलाई समयानुसार परिमार्जन गर्नुपर्ने सुझावसमेत नेतृत्वलाई दिनेबारेमा छलफल भयो ।”

तल्लो तहदेखि काँग्रेसलाई मजबुत बनाएर लैजानुपर्ने, देशको नयाँ संरचनानुसार पार्टीलाई रुपान्तरण गरेर लैजानुपर्ने, पार्टीमा निरन्तर रुपमा लागिरहेका पुराना नेता एवं कार्यकर्तालाई जिम्मेवारी दिइनुपर्नेलगायत बुँदा घोषणापत्रमा छ ।

भेलामा काँग्रेसमा धेरै वर्ष योगदान दिएका, प्रजातन्त्रका लागि पटक पटक कारागार परेका, अवसर र जिम्मेवारीबाट वञ्चित भएका, पार्टीको राजनीतिमा निरन्तर क्रियाशील रहेका, तरुण– विद्यार्थी– महिला तथा देशभरका १३० पुराना नेता एवं पूर्व सांसदको सहभागिता थियो ।

स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा निर्वाचनको समीक्षा गर्दै पार्टीलाई मजबुत बनाउने उद्देश्यले शुरु भएको भेला सात वटै प्रदेशमा गरिने तय भएको भेलामा सहभागी युवा नेता उमेशजंग रायमाझीले जानकारी दिनुभयो ।

भेलाले ुनै व्यक्ति वा गुटको पक्ष वा विपक्षमा नलागी पार्टीलाई सुदृढ बनाएर लैजानेबारे बृहत् छलफल गरिएको काँग्रेसका नेता देवराज चालिसेले बताउनुभयो ।
भेलामा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष तारानाथ दाहाल, काँग्रेसका नेता रामपल्टन साह, नारायण भट्टराई, प्रताप गुर्घामीलगायतले पार्टीलाई आदर्श र सिद्धान्तअनुसार चलाउन अभियान महत्वपूर्ण रहेको बताउनुभयो । देशभरबाट भेला भएका नेताले काँग्रेसलाई व्यक्तिवादी रुपमा लैजाने र गुट बनाएर जाने प्रवृत्तिको अन्त्य गर्दै सिंगो काँग्रेस, हाम्रो काँग्रेसका रुपमा अगाडि बढाउन देशभरका काँग्रेस लाग्नुपर्नेमा जोड दिनुभएको थियो ।

हलेसीमा सभापति भेला हुँदै
काँग्रेसका सभापतिहरुको भेला सोमबार खोटाङको हलेसीमा बस्ने भएको छ । निर्वाचनको समीक्षा गर्ने तथा आगामी दिनमा पार्टीलाई कसरी अगाडि बढाउने भन्नेबारेमा छलफल हुने भक्तपुरका अध्यक्ष दुर्लभ थापाले जानकारी दिनुभयो ।

दुईदिने भेलाले जिल्ला सभापतिको राष्ट्रिय भेला तत्काल बोलाउन अनुरोध गर्नाका साथै राष्ट्रियसभामा अवसर नपाएका जिल्ला सभापतिलाई कसरी प्रतिनिधित्व गराउन सकिन्छ भन्नेबारेमा छलफल हुने बताइएको छ । प्रदेश नं ३ का जिल्ला सभापतिको भेला शुक्रबार भक्तपुरमा बसेको थियो ।

प्रतिक्रिया दिनुहोस्