Logo

लाइभ अपडेट : कोरोना भाइरस

विश्वमा कोरोना भाइरस
मृत्यु
२,१०२,७९२
संक्रमित
९८,१९०,९५१
निको भएका
७०,५९६,९३६
नेपालमा कोरोना भाइरस
मृत्यु
१,९८६
संक्रमित
२६८,९४८
निको भएका
२६३,३४८

स्मृतिमा स्कूल जीवन-२



जिल्लाका नामहरु याद गरेको प्रसंगसँगै बाल्यकाल देखि बढ्दै गएको मेरो सामान्य ज्ञानको दायराको कुरा पनि गरिहालौं । नयाँ नयाँ कुराहरु जान्न चाहने, सिक्ने प्रवृत्ति ममा झाँगिएको थियो । देश र विश्वको भूगोलको बारेमा धेरै जान्न चाहने इच्छा भएकोले कक्षा चारमा बुबालाई कर गरेर एटलास किन लगाएँ । एटलसबाट विश्वका विभिन्न देश र महादेशका बारेमा जानकारी बढ्दै गयो । घरमा हुँदा फुर्सदमा नेपाल लगायत विश्वको नक्शा, महादेशहरु र तिनमा विभिन्न देशहरुको नक्शा कोर्दै फरक रंगहरुले रंग्याउन मज्जा लाग्थ्यो । यस्तो अभ्यास गर्दै गर्दा मलाई धेरै देशहरु र तिनका राजधानीको नाम याद हुँदै गयो ।

सानैदेखि नियमित रुपमा रेडियो सुन्ने बानी लागेको थियो । स्कूलबाट घर फर्केपछि बेलुकी पाँच बजे आउने ‘हाम्रो बाल कार्यक्रम’ भ्याएसम्म नियमित सुनिन्थ्यो । त्यस कार्यक्रममा उदघोषण गर्ने वासुदेव मुनाल र नुपुर भट्टाचार्यको आवाजले मोहनी लगाउँथ्यो । बाल कार्यक्रमको ‘को भन्दा को कम’ मा लेखहरु पनि पठाएको थिएँ, हुलाक मार्फत । ती प्रसारण भए नभएको भने थाहा पाउन सकिंन । आफूलाई मन पर्ने र नियमित रुपमा सुन्ने रेडियो नेपालका केही कार्यक्रमहरुमा कृष्णा ताम्राकारले संचालन गर्ने वन कार्यक्रम, पर्यटन कार्यक्रम, उकेश राज भुजु; संचालन गर्ने विज्ञान र प्रविधि कार्यक्रम, यज्ञनिधि दाहालको साहित्य संसार, कुवेर गर्तौला र पुष्पाले संचालन गर्ने शैक्षिक कार्यक्रमहरु थिए । सैनिक कार्यक्रम, प्रहरी कार्क्रम र शनिवार दिउँसो एक बजेतिर आउने नाटक कार्यक्रमहरु पनि रोचक हुन्थे । स्कूलका केही विद्यार्थीहरु नियमित रुपमा गीतहरु फर्मायस गर्ने गर्दथे । रेडियोमा नियमित रुपमा गीत फर्मायस गर्ने र लेखरचना पठाइराख्नेमा म भन्दा दुई ब्याच पछाडिका सुजितमान श्रेष्ठ अग्रपंक्तिमा आउँथे ।

भेट्टाएसम्मका किताबहरु पढ्ने, रेडियो सुन्ने लगायतका बानीले गर्दा मैले चार कक्षादेखि नै हाजिरी जवाफ प्रतोयोगितामा भाग लिन थालेको थिएँ । स्कूलमा अतिरिक्त क्रियाकलापका प्रतोयोगिताहरुमा कक्षा छ देखि मात्र सहभागी हुन पाइन्थ्यो । कक्षा तीन तिर पढ्दा गाउँमा सरस्वती पुजाका दिन खेलकुद तथा अन्य अतिरिक्त क्रियाकलापका प्रतियोगिताहरु आयोजना गरिन्थ्यो । यी कार्यक्रमहरु संचालन गर्ने कार्यमा गोकुल प्रसाद वुर्लाकोटी दाइले अग्रणी भूमिका निभाउने गर्नुहुन्थ्यो । हाम्रो पूरा गाउँलाई ‘ए’, ‘बी’ र ‘सी’ गरी तीन समूहमा विभाजन गरेर ती समूहका बिचमा प्रतियोगिताहरु संचालन गरिन्थ्यो । कक्षा तीनमा हुँदा मैले चित्रकला प्रतियोगितामा भाग लिएको थिएँ र त्यसमा तेस्रो भएको थिएँ । यस प्रतियोगितामा मैले घरको चित्र बनाएको थिएँ ।

कक्षा चारमा पढ्दा गाउँमा आयोजना गरिएको सरस्वती पुजाका अवसरमा भने मैले हाजिरी जवाफ, कविता र वक्तृत्व प्रतियोगितामा भाग लिएर कुनै स्थान जित्न सफल भएको थिएँ । कक्षा चारमा हुँदा नै असार १३ गते तत्कालीन युवराज दीपेन्द्रको जन्मोसवका अवसरमा एक जिल्लास्तरीय चित्रकला प्रतियोगिता आयोजना भएको थियो । हाम्रो स्कूलबाट प्रावि तहको मैले, निमावि तहको दिपक बज्राचार्य र मावि तहको ज्ञानेन्द्र बज्राचार्यले प्रतिनिधित्व गरेर त्यस प्रतियोगितामा भाग लिन गोरखा सदरमुकाम गएका थियौं । प्रतियोगिता शक्ति मावि, पाटिचौरमा आयोजना गरिएको थियो । प्रावितहका विद्यार्थीबाट भाग लिनेमा म एक जना मात्र रहेछु ।

त्यतिबेला आरुघाट बजारबाट गोरखासम्म पुग्न पुरै हिंडनुपर्थ्यो । मेरो मामाघर गोरखा बजार नै भएकोले मलाई त्यो बाटो अपरिचित भने थिएन । आरुघाट बजारबाट स्तुल खोलाको पुल तरेपछि एक पहरोमुनिबाट उकालो लागेपछि खेतबारी र कुलाहरु आउँथे । अनि त्यसपछि मौदी खोला खोलै हिंड्नुपर्थ्यो दुई, तीन घण्टा । पचासौं, सयौं चोटि मौदी खोला तरेको तर्‍यै गर्नुपर्थ्यो । खोला छेउका कुनै खेत खोलाले काटेको हुन्थ्यो । कुनै ठाउँमा खोलाको एकापट्टिबाट कुलाको पानीलाई पाइप लगाएर अर्कोपट्टिको खेतमा लगिएको हुन्थ्यो । कुनै ठाउँमा दुवैपट्टि ढुङगाको पहरो भएको खोंचबाट खोला बगेको हुन्थ्यो र ढुङगोको पहराबाट पानी तप्तपाउँदै खसेको हेर्न मलाई औधी मन पर्थ्यो । कुनै ठाउँमा ठूला ठूला पहिरो गएर खोलालाई नै अर्कोतिर धकेलेको हुन्थ्यो ।

खोलामा पर्ने लामोबगर, गणेशस्थान, माटेपुल हुँदै कयापानी भन्ने स्थानको अलिक तरतिर पुगेपछि मौदी खोला अन्त्य हुन्थ्यो । त्यसपछि घ्याम्पेसाल, खाञ्चोक, पुतलीबजार, ताप्ले, कोखे आहाले, पाण्डेचौतारा, पीपलथोक, गोरखा दरबार हुँदै गोरखा बजार पुगिन्थ्यो । आरुघाटबाट गोरखा बजारसम्म पूरा बाटो हिंड्न लगभग दिनभर लाग्थ्यो । अहिले जताततै सडक पुगेपछि पैदल हिंडिने यो बाटो लगभग बिरानो र सुनसान बनिसकेको छ । मौदी खोलाको बाटो त शायद अझ निर्जन बनिसकेको होला । संयोगले पछि अध्ययन सकाएर काम गर्ने सिलसिलामा गोरखा-आरुघाट सडकको वातावरणीय अध्ययन गर्ने जिम्मेवारी मैकहाँ आईपुगेको थियो । कयापानी-घ्याम्पेसाल-खाञ्चोक बिचका भागमा पनि थुप्रै ठूला पहिराहरु हुनुको एक कारण त यो यो क्षेत्र भौगर्भिक ‘फल्ट जोन’ मा पर्नु पनि एक कारण रहेछ ।

स्कूल जाँदा, फर्कंदा हरेक दिन करीब दुई घण्टा जति उकालो ओरालो हिड्नु पर्ने कारणले गर्दा हुनसक्छ, हिंड्ने काम त्यति गाह्रो लाग्थेन र अहिले पनि हिंड्ने काम मलाई कठिन लाग्दैन । त्यसो त हाम्रो खेतहरु भएको ठूलीबेसी फाँट पुग्न पनि घरबाट लगभग एक घण्टाको ओरालो हिंड्नुपर्थ्यो । यी सबै कारणहरुले गर्दा हिंड्ने बानीको अभ्यास चाहिं सानैदेखि राम्रै भयो । घरबाट गाउँको बाटो हुँदै दश मिनेट जति समथर बाटो हिंडेर अम्रेनी डिलमा पुगेपछि ओरालो शुरु हुन्थ्यो । घरबाट पछाडिको डिलडिलैको बाटो हिंडेर पनि अम्रेनी डिल पुग्न सकिन्थ्यो । यो बाटोबाट भने तलको बुढीगण्डकी नदी र भीमोदय स्कूल राम्रोसँग देख्न सकिन्थ्यो । पुष-माघतिर कुहिरोले डम्म ढाकिन्थ्यो, बुढीगण्डकीको खोंचिलो भूभागहरु, आरुघाट बजार र स्कूल पनि । दश एघार नबजिकन यो कुहिरो फाट्दैनथ्यो । डिलको बाटो हिंड्दा बिहानको कलिलो घाममा आफ्नो छाँया त्यही कुहिरोको सागरमा पर्थ्यो । त्यो छाँयाको वरिपरि देखिने इन्द्रेणी जस्तो आकृति साह्रै सुन्दर लाग्थ्यो ।

बिहान सबेरै स्कूल जाँदा बाटोमा प्राय: एक्लै होइन्थ्यो । कहिलेकाहीं अम्रेनी डिलमा भएको वरपीपलका रुखमा बाँदरका झुण्डहरु खेलिराखेका हुन्थे र कुनै बाँदरहरु त झम्टन समेत आउने आक्रामक स्वभावका हुन्थे । एक्लै हुँदा अलिक डर पनि लाग्थ्यो । यस्तो अवस्थामा बाँदरको झुण्डबाट सकभर अलिक टाढा भएर जाने गरिन्थ्यो । अम्रेनी डिलबाट ओरालो झरेर पाँच मिनेट जति अलिक तेर्सो हिंडेपछि सिरान चौतारा आइपुग्थ्यो, जुन चौतारामा भएका वरपीपलका बोटहरुलाई घुमेर ढोग्ने गरिन्थ्यो । त्यसपछि शुरु हुन्थ्यो – सीधा ठाडो ओरालो बाटो ।

एक्लै हुँदा त्यस ओरालो बाटोमा बेतोडले कुदेर गइन्थ्यो । बाटोमा गेग्रयान ढुङगाहरु हुने हुँदा होश नपुर्‍याउँदा र सही ठाउँमा नटेक्दा लड्ने संभावना पनि रहन्थ्यो, तर वर्षौंसम्म त्यही बाटो हिंडिरहँदा बाटोमा प्रत्येक खुडकिलाहरु, ढुङगाहरु चिरपरिचित मित्र जस्तै भईसकेका थिए । एक्लै हिंड्दा मेरो बालसुलभ ह्रदयले ती ढुङगा, खुडकिलाहरुसँग संवाद गर्थ्यो । अहिले मेरी छोरीले खेलौनासँग खेल्दा तिनसँग कुरा गरिराखेको सुन्दा मलाई पनि आफ्नो बाल्यकालका ती दिनहरुको याद आउने गर्छ । बाटोमा ‘गडेको पहरा’ भन्ने ठाउँ पनि थियो, जहाँ सानोतिनो पानी पर्दा ओत लाग्न सकिन्थ्यो । तर त्यो पहरो केही चर्केको थियो । अहिले त त्यो पहरो मुन्तिर भएर जाने बाटोको साटो अर्कै ओरालो बाटो खुलाइएको छ ।

बाटोको छेउछाउ प्राय: धँगेरी, वनमारा, अँगेरी, गाईतिहारे, धुर्सेल र अन्य वनस्पतिका झाडीहरु थिए । बाटो छेउछाउमा केही बेलका रुखहरु थिए । अलिक तिर पुगेपछि झ्याम्म परेको चौतारा आउँथ्यो । वरपीपल चौताराका वरिपरि थुप्रै आँपका रुखहरु भएकोले त्यस चौतारामा विरलै घाम लाग्ने गर्थ्यो । एक्लै हुँदा यस चौतारामा प्राय: बस्ने गरिन्नथ्यो ।

यस चौतारा भन्दा अलिक मुनि थियो फेदीको चौतारा । त्यस चौतारा केही मुनि भएका बकैनाको रुखले मलाई रमेश विकलको ‘बुढो बकैनाको रुख’ कथालाई सम्झाउँथ्यो । त्यहाँबाट एकछिन ओरालो झरेपछि बर्खामा मात्र पानी हुने डुङकुटे खोला आउँथ्यो र त्यसभन्दा केही तल जोगिचाको झुपडी घर थियो । जोगिचा वृद्ध दम्पत्ती कुसुण्डा जातिका थिए । धेरै गरीब थिए । उनले एक बाँदर पनि पालेका थिए । अरुको काममा सानितिनो सहयोग गरिदिने गरेर उनीहरुला जीवन गुजारा चलाईरहेका थिए । अहिले उनीहरु बितिसकेका छन् र उनको त्यो झुपडी पनि अहिले छैन ।

यो ओरालो बाटोको विकल्पमा डुङकुटे खोला हुँदै आउने अर्को बाटो पनि बनाइएको थियो । त्यतिबेला (२०४२सालतिर) वडाको विकास बजेटबाट रु. एघार हजार खर्च गरेर त्यो बाटो बनाइएको थियो, तर त्यो बाटो हिंड्नका लागि त्यति सहज थिएन । त्यो बाटो ‘पास गर्न’ का लागि गणेश इटनी नामका एक ओभरसियर आउनुभएको थियो । वहाँ मधुसुदन वुर्लाकोटी दाइको आफन्त हुनुहुन्थ्यो । बाटो नाप्ने काममा मधुसुदन दाइ र मैले फिता समाएर वहाँलाई सहयोग गरेका थियौं । हामी जस्ता बच्चाले नाप्ने फिता समाउन पाउँदा म खुशीले फुरुङ्ग भएको थिएँ । त्यो बाटोको शुरुवाती खण्ड भिर खिपेर बनाइएको थियो । बर्खाको समयमा धेरै पहिरो गएपछि त्यो बाटो पछि हिंड्नलायक भने रहिरहेन ।

जोगिचाको घरबाट केही क्षण ढुङग्यान बारीको बिच हुँदै ओरालि झरेपछि विशालनगर बजार पुगिन्थ्यो । अहिलेको विशालनगर बजार (धादिङ जिल्लापट्टिको बजार) त्यतिबेलाको तुलनामा धेरै गुना विस्तार भईसकेको छ ।बजारमा किराना पसल, कपडा पसल र होटलहरु थिए । यो बजार सकिएपछि आउँथ्यो, बुढीगण्डकी नदीको झोलुंगे पुल । कक्षा तीन देखि दशसम्म पढ्दै गर्दा हजारौं चोटि बुढीगण्डकीको नदीको पुल तरियो होला ।
पुल कटेर अलिकति उकालो चढेपछि आरुघाट बजार आइपुग्थ्यो । त्यस उकालोको छेउमा पहराको चट्टानबाट जग उठाएर ढुङगाको गाह्रोले उठाइएका घरहरु थिए ।त्यसमध्येको एक घर हाम्रै हेडसर चित्ररत्न शाक्यको थियो । वहाँको बुबालाई गाउँका मानिसहरु भिरबाँडाको नामले पनि पुकार्थे । शायद भिरमा घर भएकोले हो कि?

विशालनगर र आरुघाट बजारमा बाटोका दुवैतिर दोहोरीलत्त घरहरु थिए । बिचको बाटोमा ढुङगा ओछ्याइएका थिए । आरुघाट बजारको बिचतिर भीमोदय स्कूलकै एक भवन पनि थियो । जहाँ, कुनै बेला एक दुई कक्षाको पढाई हुने गर्थ्यो । बजार सकिने बेलातिर केही होटलहरु थिए । ती होटलको बाहिर भर्खरै पोलेका सेलरोटीहरु सजाएर राखिएका हुन्थे । हामी दिनभर स्कूलमा पढेर भोकले लखतरान भएर फर्कंदैं गर्दा, सजाएर राखिएका ती सेलरोटीहरु देखेर घुटुक्क थुक निल्ने गर्थ्यौं ।

आरुघाट बजार सकिएपछि बाँसको झ्याङ आउँथ्यो । त्यसपछिको खुला बारीमा कहिलेकाहीं हिउँदमा काठमाडौं (भक्तपुर, ठिमी) बाट कुम्हालेहरु आएर हिउँदभरि माटोका भाँडाहरु बनाउने गर्थे । उनीहरुले भाँडा बनाउनका लागि विभिन्न स्थानबाट कालीमाटी ल्याउने गर्थे । त्यस कालीमाटीलाई मुछेर चक्रमा राखेर माटाका गाग्री, घैंटा, घ्याम्पो, हाँडी, धुपौरो, गमला, चिलिम लगायतका विभिन्न भाँडाकुँदाहरु बनाएको हेर्न रमाइलो लाग्थ्यो । त्यसरी बनाइएका भाँडाकुँडाहरुलाई घाममा सुकाइन्थ्यो र पछि आगोमा पोलेपछि प्रयोग गर्नका लागि तयार हुन्थ्यो । वरपरका गाउँबाट मानिसहरु यी माटोका भाँडाहरु किन्न आउँथे । अहिले भक्तपुरबाट कुम्हालेहरु आरुघाट गएर यसरी माटोका भाँडाहरु बनाउने प्रचलन बन्द भईसकेको छ ।

त्यसपछि बुढीगण्डकी नदीको किनारकिनारै भएको बाटो भएर स्कूल पुगिन्थ्यो । स्कूल पुग्नुअघि केही क्षण बारीको बिच भएर बाटो जान्थ्यो र बारीको छेउमा एक ठूलो ढुङगा रहेको थियो । ती बारीको छेउमा केही गोठहरु पनि थिए । अहिले यो बाटो बन्द भईसकेको छ । हामी दश कक्षातिर पढ्न थालेको बेला अलिक परबाट बारीको बिच हुँदै (विद्युतगृह नजिकबाट) स्कूल पुग्ने बाटो खुलाइएको थियो । अहिलेको विद्युतगृह रहेको स्थान नजिकै बारीको ठूलो पाटो थियो र त्यस पाटोमा माघेसंक्रान्तिका बेला गोरुहरु जुधाइने पनि गरिन्थ्यो ।

हाम्रो भीमोदय स्कूल गोरखा जिल्लाकै सबभन्दा धेरै जग्गाजमीन भएका स्कूलमध्येमा पर्छ, जसँसग ४५२ रोपनी जग्गा सहितको आँपको बगैंचा छ । चैत-वैशाख देखि साउन-भाद्रको समय भीमोदय स्कूलका लागि विशेष हुन्थ्यो । ठूलो क्षेत्रमा फैलिएको बँगैंचा चैत नहुँदै आँपको फूलको सुवासले मगमगाउँथ्यो भने आँपका फलहरु असारतिरबाट बिस्तारै पाक्न थाल्थे । जेठको बिच पुग्दा नपुग्दै स्कूलको दक्षिण-पश्चिमी कुनामा रहेको वृद्ध लिचीको रुखमा लटरम्म पाकेका लिचीले सबैलाई निमन्त्रण गरिसक्थ्यो । वैशाख, जेठ महिनातिर चर्को गर्मीका कारण बिहानै देखि स्कूलमा पढाई हुन्थ्यो । बिहानै स्कूल आएका विद्यार्थीहरु नौ, दश बज्दै गर्दा भोकाउँदै जान्थे । रुखमा फलेका आँपहरु देखेपछि भोकाएका कतिपय विद्यार्थीको मन कहाँ थामिन्थ्यो र? लुकीछिपी ढुंगा हानेर आँप झार्थे र खान्थे । भदौरे आँपहरु पाकेसँगै आँप पाक्ने यामको अन्त हुन्थ्यो । जेठ लागेपछि आँप झारेर, संकलन गरेर बेच्नका लागि स्कूलले ठेक्का लगाउँथ्यो, जुस स्कूलको एक राम्रो आयश्रोत थियो ।

चौरका बिचबिचतिर चाँपका अजंगका केही रुखहरु थिए भने एकाध रुपमा मदाने फल, रुख बयर र चिउरीका रुखहरु पनि थिए । स्कूल भवनका छेउछाउमा आँप र लिचीका केही नयाँ बोटहरु रोपिएका थिए र हामी चार पाँच कक्षातिर पुग्दा ती नयाँ बोटमा फल लाग्न थालेका थिए । आँपको बगैंचा ठूलो क्षेत्रफलमा फैलिएपनि स्कूल वरिपरिको केही भागलाई भने तारबार लगाएर घेरिएको थियो । तारबार वरिपरि नीलकाँडाका बुटाहरु रोपिएका थिए । तारबारको बिच एक ठाउँमा सिमेन्टको ठूलो प्रवेशद्वार पनि बनाइएको थियो ।

तारबार र पर्खालले घेरिएको क्षेत्रभित्र कक्षा छ देखि दश सम्मका विद्यार्थीहरुलाई कृषि विषयको प्रयोगात्मक अभ्यास गर्नका लागि प्लटहरु बनाइएका थिए । स्कूलको व्यावसायिक विषय पनि कृषि हुनाले स्कूल भवन वरपर बनाइएका प्लटहरुमा विद्यार्थीहरुलाई समूह बनाई कृषि शिक्षाको प्रयोगात्मक अभ्यास गराइन्थ्यो । ती प्लटहरुमा हामी तरकारीहरु रोप्थ्यौं, मकै फलाउँथ्यौं । फरक कक्षाका लागि फरक फरक स्थानमा प्लटहरु बनाइएका थिए । रोपिएका बालीहरुको अवस्था, उत्पादन र कृषिकर्मको अभ्यासका आधारमा हामीहरुलाई प्रयोगात्मक परीक्षाको नम्बर दिइन्थ्यो ।

हामी पढ्दा ताका स्कूलमा खानेपानीको राम्रो प्रबन्ध थिएन । एउटा सानो पानी टयांकी थियो र दुई तीन किलोमिटर परको पानीको मूलबाट पाइपलाइनबाट खानेपानी ल्याइएको थियो, तर धारामा विरलै पानी आउँथ्यो । शायद गोठालाहरुले पानीको पाइपलाईन बेलाबेलामा काटिदिईराख्थे र शायद पानीको मूल पनि त्यति भरपर्दो थिएन ।

शौचालयको अभावमा नदी किनार तिरका झाडी र बारीहरु नै विद्यार्थीहरुका शौचस्थल बन्थे ।हामी दश कक्षातिर पुग्दा भने शौचालय बनेको थियो । शौचालयका लागि ठूलो खाडल खनिएको थियो । खाडलको वरिपरि ढुङगाको गाह्रो लगाएर त्यसमाथि सिमेन्टका स्लाबहरु बनाएर राखिएको थियो । शायद ढुङगाको गाह्रोले त्यो सिमेन्टको स्लाबको भार थेग्न सकेनछ क्यारे । त्यो शौचालय एकचोटि भत्केर पुन: बनाउनुपरेको थियो ।

स्कूलबाट पाँच सात मिनेट पूर्वतिर लागेपछि बुढीगण्डकी नदी पुगिन्थ्यो । दिउँसोको छुट्टीमा हामी प्यास मेटाउन बुढीगण्डकी नदीमा पुग्थ्यौं । नदीमा धमिलो पानी हुँदा त्यही धमिलो पानी नै पिउनुपर्थ्यो र कहिलेकाहीं धमिलो पानी पिंउदा पेट पनि दुख्ने गर्थ्यो । नदी नजिकै अकला मन्दिर थियो । जहाँ बिहे, ब्रतबन्ध र अन्य त्यस्तै धार्मिक अवसरमा पुजाआजा गरिन्थ्यो । नजिकै बुढीगण्डकीको जलबहाव मापन गर्नका लागि प्रयोग गरिने एक तुइन पनि थियो । एकचोटि हामी पाँच सात जना छुट्टीको समयमा बुढीगण्डकी नदीतिर जाँदा त्यस तुइनलाई हेर्न भनेर त्यसको अलिक नजिकतिर गएका थियौं । हामी त्यतातिर गएको वासु सरले देख्नुभएको रहेछ । वहाँलाई शायद हामी तुइन चढ्न गएको भन्ने परेछ क्यारे । तितेपाती सिम्कनाले हामी सबैका पिंडुलामा हान्नुभयो । वास्तवमा हामी तुइन चढ्न वा खेल्न त्यतातिर गएका थिएनौं ।

नदी किनारमा ठूला ठूला ढुङगाहरु थिए । ती ढुङगाका आडमा विद्यार्थीहरु शौच क्रिया पूरा गर्थे । बुढीगण्डकी नदी हिउँ पग्लेर आउने हुँदा पानी निकै चिसो थियो । कसले चिसो पानीमा धेरै बेरसम्म खुट्टा डुबाएर राख्न सक्ने भन्ने प्रतिस्पर्धा चल्थ्यो । नदीको किनारमा पानी छाल आइरहेको हुन्थ्यो । पानीको सतहमा साना पातला ढुङगाहरु बत्ताएर पारिसम्म पुर्‍याउन प्रतिस्पर्धा हुन्थ्यो । ढुङगा पानीमा धेरैचोटि उछिट्टिएर जानुलाई अझ बढी सफल मानिन्थ्यो ।बर्खायाममा गडगडाहट आवाजका साथ धमिलो पानीको बाढी आउँथ्यो र नदी किनार नजिक जानु जोखिम ठहरिन्थ्यो ।

असोज लागेपछि शान्त र नीलो हुँदै जाने बुढीगण्डकी फाल्गुन लागेपछि हिउँ पग्लेर बढेर फेरि धमिलिन शुरु गर्थ्यो । वैशाख जेठतिरको प्रचण्ड गर्मीमा नदी किनारमा चलेको चिसो बतासले भित्री आँतसम्म शीतल पार्थ्यो ।नदी पारिपट्टि अग्लो पहरा सहितको भिर थियो । पहरामा कताकति केही बुट्यानहरु उम्रेका थिए । त्यस मास्तिर केही सालका रुखहरु थिए र सबभन्दा सिरानमा सिमलको एक ठूलो रुख पनि । भिरको सिरानमा हाम्रै गाउँ सिखटार रहेको छ । नदी पारि किनारै किनार भिरको फेदीमाबाट एक साँघुरो बाटो गएको थियो, जसलाई एकवारको बाटो नामले चिनिन्थ्यो । यो बाटोमा माथि भिरबाट बेलाबेलामा ढुङगा खसिराख्थ्यो । विशेषगरी वर्षायाममा त्यो बाटो हिंडनु धेरै जोखिमपूर्ण मानिन्थ्यो । अहिले त त्यो बाटोलाई फराकिलो बनाएर गाडी गुड्न सक्ने बनाइएको छ ।

केही आँटिला विद्यार्थीहरु वैशाख जेठको उधुम गर्मीमा हिउँ पग्लेर भेल बढेको बुढीगण्डकीमा पौडिन हामफाल्थे । मैले भने कहिल्यै पनि बुढीगण्डकी नदीमा पौडी खेल्ने आँट गर्न सकिंन । बाल्यकालमा एकचोटि ठुलीबेसीं फाँटमा रहेको खेतमा पानी लगाउन जाँदा कुलोको मुहान काष्टे खोलासम्म पुग्नुपर्ने भयो । खोलामा बाढी आइराखेको थियो । केही ठूला मान्छेहरु बाढी आएको खोलामा पौडी खेलिरहेका थिए ।मलाई पौडी खेल्न त आउँथेन, तैपनि खोलामा पौडी खेल्न पसें । खोलाले मलाई बगाइहाल्यो । अन्य ठूला मानिसहरुले मलाई तानेर बचाए । त्यस समयदेखि पौडी खेल्न डराएको मैले आजका दिनसम्म पनि पौडी खेल्न सिकेको छैन ।

बुबाले आफ्नो पढाइ सकाउनु भएपछि २०२४ सालदेखि स्कूलमा शिक्षक भएर पढाउन थाल्नुभएको थियो । वहाँले आफ्नो धादिङको चैनपुर स्कूलबाट अध्यापन गराउन शुरु गरी सल्यानटारको माझगाउँ स्कूल, आगिञ्चोकको सुन्दरी स्कूल हुँदै मैले आरुघाट पढ्दाको समयमा हाम्रै गाउँको कमलादेवी स्कूलमा प्रधानाध्यापक भएर पढाउन थाल्नुभएको थियो । आमाले तीन चार कक्षासम्म पढ्नुभएको थियो जस्तो लाग्छ । कम्तीमा आमाले मलाई अक्षर र अंकहरु चिनाउन, लेखाउन सक्नुभयो । आमाले सानैदेखि मलाई गोरखाका एक जना मामा राम बहादुर मास्केले धेरै मिहिनेत साथ पढेर एसएलसी प्रथम श्रेणीमा उत्तीर्ण गर्नुभएको कुरा सुनाइराख्नुहुन्थ्यो । वहाँले पछि नेपाल सरकारको छात्रवृत्ति पाएर विदेशमा पढ्न जानुभएको थियो र नेपाल फर्की कृषि अनुसन्धान केन्द्र, खुमलटारको माटो विज्ञान शाखामा लामो समयसम्म माटो विशेषज्ञको रुपमा कार्यरत रहनुभयो । शायद यसैले गर्दा पनि हुनसक्छ, मलाई सानैदेखि मिहिनेतसाथ पढ्नुपर्छ र ठूलो भएपछि सरकारी छात्रवृत्ति पाएर विदेशमा पढ्न जानुपर्छ भने कुरा मनमा गढेको थियो ।

घरबाट स्कूल पुग्नु भन्दा पढाइ सकेपछि स्कूलबाट घर फर्कने काम अझ गाह्रो लाग्थ्यो । स्कूल हाताको एक छेउमा चिया, बिस्कुट, चिउरा तरकारी आदि बेच्ने एक सामान्य दोकान त थियो, तर हामी त्यहाँ विरलै खाजा खान्थ्यौं । कहिलेकाहीं घरबाट झोलामा हालेर केही खाजा लगिने भएपनि नियमित रुपमा लगिन्थेन । प्रायजसो: विद्यार्थीले त्यतिबेला किताब बोक्ने झोला भनेको कपडाले बनेको, नाइलनको डोरी भएको, मुखमा सुर्केनी पार्न मिल्ने किसिमको झोला हुन्थ्यो । आजभोलि त्यस्तो झोला बोकेको मैले आजभोलि कतैतिर (गाउँतिर समेत) पनि देखेको छैन । यस्तो झोला त्यतिबेला विद्यार्थीहरु बाहेक बाहेक झोला बरु कहिलेकाहीं माछा मार्न जानेहरुले जाल झोलामा राख्नका लागि बोकेको चाहिं देख्थें ।

विद्यार्थीहरुले स्कूल जाँदा खाजा बोकेर लग्ने चलन त्यतिबेला खासै थिएन । चार बजे स्कूल छुट्टी हुने बेलासम्ममा हामी धेरै भोकाइसकेका हुन्थ्यौं । आरुघाट बजारमा पनि कतै पसेर खासै खाजा खाँदैनथ्यौं । स्कूलबाट हिंड्दै आरुघाट बजार भएर विशालनगर बजार सम्म आउँदा थकाई लागिसकेको हुन्थ्यो । विशालनगर बजारबाट उकालो लाग्नु अघि त्यहाँका पसलहरुमा हामी केहीबेर सुस्ताउथ्यौं । तीमध्ये कुनै पसलमा मानिसहरु दिनभरि तास खेलेर समय कटाइरहेका हुन्थे । कुनै विद्यार्थीहरुले कहिलेकाहीं घरबाट झोलामा एक दुई माना मास, भटमास, चामल अन्य वस्तु चोरेर झोलामा हालेर ल्याई यी पसलहरुमा बेचेर व्यक्तिगत प्रयोजनका लागि धेरथोर पैसाको जोहो पनि गर्थे । हामी ती पसलहरुमा अघाउञ्जेल थकाई मारेर बसेपछि घाम अलिक मधुरो भएपछि उकालो चढ्न थाल्थ्यौं ।

उकालो चढ्दा भोक, थकाइ, घाम र गर्मीको मात्रा अनुसार बिच बिचमा थकाइ मार्न बस्ने स्थान र समयको निर्धारण हुन्थ्यो । विशालनगर बजारबाट सिखटारको डिलसम्म पुग्दा बाटोमा कतै पानी पिउन पाउने सुविधा थिएन । झ्याम्म परेको चौतारा नजिकै एक ठाउँमा पानीको मूल भएपनि खासै पिउन योग्य थिएन । चौतारामा सुस्ताउन बस्दा कहिलेकाहीं बाघचाल खेलिने गरिन्थ्यो । म बाघचाल खेल्नमा निपुण थिएँ । यी चौताराहरुमा गोठलाहरु पनि प्राय: भेटिने गर्थे । विशेषगरी बिहानको समयमा पढाई हुँदा घर फर्कने बेलातिर दिउँसो एघार बाह्र बज्दा वैशाख जेठको चर्को घाममा ठाडो उकालो चढ्नु चाहिं धेरै कठिन लाग्थ्यो ।त्यतिखेर भोक र तीर्खाले आकुलव्याकुल हुने पनि त्यत्तिकै ।

स्कूलमा खाजा बोकेर लाने चलन नभएपनि कसैले चाहिं घरबाट ल्याएको खाजा तिनै चौतारी नजिकै लुकाएर राखेका हुन्थे र स्कूलबाट फर्कंदा निकालेर खाने गर्थे । कसैले चाहिं अर्काले कहाँ खाजा लुकाएर राखेको छ भन्ने दाउ हेरेर बस्थे र खाजा लुकाउने सम्बन्धित मान्छे आइपुग्नु अगावै आएर खाजा खाइवरी रित्तो झोला मात्र राखिदिन्थे ।यो कुरा खाजा लुकाउने मान्छेले थाहा पाएमा चाहिं झगडा पनि हुनेगर्थ्यो ।

भदौ, असोजतिर विशालनगर बजारबाट अलिक छिन उकालो लागेपछि जोगिचाको घरबाट उत्तरतिर लाग्दा सुंगुरे भन्ने ठाउँमा पुगिन्थ्यो । त्यहाँ थुप्रै बेलौती (अम्बा) का बोटहरु थिए । कहिलेकाहीं अम्बा खान त्यता जाने गर्थ्यौं । खेतबारीमा मानिस रहेछन् भने उनीहरुसँग मागेर अम्बा टिप्ने गरिन्थ्यो । कोही मानिसहरु नभएको बेलामा चाहिं चोरेर अम्बा टिपेर खान पनि पछि पर्थेनन् केही साथीहरु । मंसिर महिनातिर जोगिचाको घरबाट सिधा जंगलको झाडी भएर उकालो बाटो लाग्दा थुप्रै बयरको झाडीहरु भेटिन्थे । ती झाङतिर पसेर पेटभरि बयर टिपेर खाने गर्थ्यौं ।घरमा आएर मकै भटमासको खाजा खान्थ्यौं । भदौ महिनातिर भने घरमा खाजा नभएको बेला घर वरिपरि र खानेपानी टंयाकीको हाताभित्र समेत भएका अम्बाका बोटमा चढेर पेटभरि अम्बा खाएपछि खाजा खानै पर्दैनथ्यो ।

चार कक्षाबाट पाँच कक्षामा जाँदा म पहिलो भएँ । ७०० पूर्णांकमा ६०९ आएको थियो, जुन स्कूलकै उच्चतम प्राप्तांक थियो । दोस्रो र तेस्रो हुनेमा चन्द्र बहादुर गुरुंङ र पुरुषोत्तम शर्मा थिए । पाँच कक्षाबाट छ कक्षामा जाँदा ६०१ नंबर ल्याएर पुन: प्रथम भएँ भने दोस्रो र तेस्रो हुनेमा कमलादेवी इटनी र लक्ष्मणकान्त शर्मा थिए । कक्षामा मेरो र दोस्रो हुने साथीका बिचमा ठूलो अंकको अन्तराल हुने गर्थ्यो ।

कक्षा ६ मा पुगेपछि टारीफाँट, डाँडाबेसीं, आरु धारापानी र धावाबाट आएका अन्य विद्यार्थीहरु पनि थपिए । ती स्कूलबाट प्रथम, द्वितिय, तृतीय हुने विद्यार्थीहरु समेत हाम्रो स्कूलमा पढ्न आएको हुँदा कक्षामा पढाईमा सबभन्दा अब्बल बनिराख्नका लागि थप मिहिनेत गर्नु पर्ने अवस्था पनि बन्यो ।

क्रमश…

वातावरणीय ईन्जिनियर श्रेष्ठ इन्भाइरोमेन्टल सर्भिसेस नेपाल, इएसएनमा आबद्ध छन् । उनी सल्लेरी खबरका नियमित स्तम्भकार हुन् ।

प्रतिक्रिया दिनुहोस्