Logo

लाइभ अपडेट : कोरोना भाइरस

विश्वमा कोरोना भाइरस
मृत्यु
२,१०२,७९२
संक्रमित
९८,१९०,९५१
निको भएका
७०,५९६,९३६
नेपालमा कोरोना भाइरस
मृत्यु
१,९८६
संक्रमित
२६८,९४८
निको भएका
२६३,३४८

स्मृतिमा स्कूल जीवन-३



कक्षा छ पुगेपछिको उत्साह नै अर्को । प्रावि तहबाट निमावि तहमा जाँदा साँच्चिकै कुनै ठूलो पदमा बढुवा भए जस्तै लाग्थ्यो । पढाउने गुरुहरु पनि नयाँ नयाँ थपिने । कक्षा छ देखि माथिका विद्यार्थीहरुलाई सदन छुट्याइन्थ्यो र विभिन्न अतिरिक्त क्रियाकलापहरुमा संलग्न गराइन्थ्यो । ती सदनहरुको नाम थियो – सिद्धार्थ, गंगा, पृथ्वी र भीमसेन । म गंगा सदनमा परेको थिएँ । स्कूलमा खेलकुद एवं अतिरिक्त क्रियाकलाप सम्बन्धी शिक्षक गणेश सर हुनुहुन्थ्यो । विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापहरुमा भाग लिन लगाउन, प्रोत्साहन गर्न वहाँ विशेष अग्रसर हुनुहुन्थ्यो ।

मैले छ कक्षामा पुगेपछि नै स्कूलका हाजिरी जवाफ, निबन्ध लेखन जस्ता प्रतियोगिताहरुमा भाग लिन थालेको थिएँ । त्यतिबेला देखि सामान्य ज्ञान डाइजेष्टको किताब पढ्न थालेकोले हाजिरी जवाफ प्रतियोगितामा पकड राख्दै जान थालेको थिएँ । कक्षा छ मा पढ्दा भाग लिइएको ‘वातावरण संरक्षणमा वनको महत्व’ सम्बन्धी निबन्ध लेखन प्रतियोगितामा सबभन्दा सानो कक्षाबाट भाग लिएर पनि राम्रो निबन्ध लेखे बापत मलाई सान्त्वना पुरस्कार दिइएको थियो । खेलकुदमा भलिबल र एथलेटिक्सका विभिन्न विधाहरुमा प्रतिस्पर्धा गराइन्थ्यो । मैले भाग लिने प्रतियोगिताहरु भनेका कविता, निबन्ध, वक्तृत्व, वादविवाद, हाजिरीजवाफहरु नै हुन्थे ।

कक्षा छ मा पुगेपछि मिल्ने अरु साथीहरु थपिएका थिए । डाँडाबेसीबाट आएका नरेन्द्र बगाले र धावा डिहीबाट आएका उपेन्द्र लामिछाने, अर्जुन लामिछानेहरु मेरा धेरै मिल्ने साथीहरु मध्ये थिए । सामान्यता कक्षामा साथीहरुको समूह बन्दा पढाईमा बढी रुचि भएकाहरुको एक समूह, खेलकुदमा रुचि भएकाहरुको एक समूह, उट्पट्याङ र छुल्याहा काममा रुचि भएकाहरुको एक समूह हुने गर्थे । यसरी फरक समूहहरु बन्ने कुरामा स्वभावजन्य विशेषता र उमेरगत भिन्नताले पनि फरक पार्थ्यो ।

हामीलाई कक्षा छ मा गणित विषय उदय श्रेष्ठ, नैतिक र संस्कृत शिक्षा पण्डित लक्ष्मीकान्त खनाल (हाल दिवंगत), सामाजिक शिक्षा वासुदेव शर्मा, अंग्रेजी कृष्णकाजी श्रेष्ठ, पूर्व व्यावसायिक शिक्षा गणेश कुमार श्रेष्ठ र नेपाली शम्भु प्रसाद पण्डित सरले पढाउनुभएको थियो। विज्ञान विषय चाहिं शुरुमा परशुराम पोखरेल, सूर्य प्रसाद पोखरेल र त्यसपछि बुद्धि प्रसाद पुडासैनी (हाल दिवंगत) सरले पढाउनुभएको थियो । सबै सरहरुको पढाउने आ-आफ्नै शैली थियो । कक्षाको राम्रो विद्यार्थी भएको नाताले सबैजसो सरहरुले मलाई अत्यन्त स्नेह गर्नुहुन्थ्यो । वासु सरले सामाजिक शिक्षा अन्तर्गत नेपालको इतिहास पढाउँदा एकदम जोशिलो हिसाबले पढाउनुहुन्थ्यो । उदय सरको गणितका प्रश्नहरु हल गर्न बुझाउने शैली उत्कृष्ट थियो ।शम्भु सरले नेपाली विषयका छन्दबद्ध कविताहरु वाचन गर्नुहुँदा ज्यादै लयात्मक किसिमले गर्नुहुन्थ्यो र हामी त्यसमा लठ्ठिन्थ्यौं । नेपाली भाषाप्रति अहिलेसम्म यत्तिको मोह जगाइदिनुमा शम्भु सरको ठूलो योगदान छ भन्ने मलाई लाग्छ ।

त्यस्तै, इतिहास अध्ययन प्रति वासु सरले रुचि जगाइदिनुभयो भने गणितप्रति उदय सर, राम प्रसाद लामिछाने सर, चित्र सर लगायतले । विज्ञान विषयमा रुचि जगाइदिनमा बुद्धि प्रसाद पुडासैनी सर र पछि घनश्याम तिवारी सर, अध्यात्म, धर्मप्रतिको अध्ययनमा चासो बढाइदिनमा लक्ष्मीकान्त खनाल गुरुको पनि त्यत्तिकै हात छ । त्यसभन्दा पनि जीवनमा सकभर नैतिकवान र आदर्श व्यक्ति बन्ने प्रयासरत रहनुपर्ने कुरामा नैतिक शिक्षा पढाउनुहुने लक्ष्मीकान्त गुरु तथा अन्य सर/मिसहरुको पनि उत्तिकै हात छ । अहिले ममा शिक्षा र चेतनाको जुन ज्योति खुलेको छ, त्यसमा स्कूलका थुप्रै आदरणीय गुरुहरुको मिहिनेत, प्रयास र प्रेरणाले काम गरेको छ ।

कक्षा सातमा पुगेपछि विज्ञान विषय हाम्रै गाउँका अर्जुन वुर्लाकोटी सरले पढाउन थाल्नुभयो । सात कक्षामा तत्कालीन हेडसर चित्ररत्न शाक्यले पढाउनु भएको थियो । वहाँ गोरखा जिल्लाकै राम्रो गणित शिक्षक मध्येमा गनिनुहुन्थ्यो । वहाँमा ज्यामिति पढाउने र बुझाउने अद्भुत क्षमता थियो ।

छ कक्षामा पढ्दा एकदिन धेरै सरहरु अनुपस्थित हुनुभएकोले धैरै विषयहरुको पढाई भएन । छिटै घर फर्कन पाइने भएको थियो । त्यसैबिच कक्षामा चित्र सर आउनुभयो र भन्नुभयो – “तिमीहरु अन्तिम पिरियडसम्म बस्यौ भने म आज तिमिहरुलाई एउटा रमाइलो कथा सुनाउनेछु।” बिचमा तीन चार पिरियड नै खालि भएकोले प्रायजसो: विद्यार्थीहरु घरतिर लागे । अन्तिम पिरियडसम्म बस्ने विद्यार्थीहरु निकै कम मात्र बाँकी रह्यौं । त्यस दिनको अन्तिम पिरियडमा हाम्रो कक्षामा आएर सुनाउनु भएको हर्क्युलसको कथा साँच्चिकै रोचक, अनौठो र हाम्रा लागि साँच्चै अद्भुत थियो । अन्तिम पिरियडसम्म वहाँको कथा सुन्न गरिएको प्रतीक्षा कत्ति पनि खेर गएन । यस्तै रोचक कथाहरु शम्भु सरले पनि बेलाबेलामा हामीलाई सुनाउने गर्नुहुन्थ्यो ।

हामीलाई नेपाली विषय कक्षा चारमा रामकृष्ण श्रेष्ठ, कक्षा पाँचमा लक्ष्मी श्रेष्ठ मिस र कक्षा छ देखि कक्षा दशसम्म शम्भु प्रसाद पण्डित सरले पढाउनुभयो । कक्षा चारदेखि सातसम्म संस्कृत र नैतिक शिक्षा विषय लक्ष्मीकान्त खनाल सरले पढआउनुभयो । वहाँले संस्कृत किताबमा भएका विभिन्न पाठहरु कण्ठस्थ पार्न लगाउनुहुन्थ्यो । कक्षा छ देखि कक्षा आठसम्म कृष्णकाजी श्रेष्ठ सरले अंग्रेजी विषय पढाउनुभयो । वहाँले अंग्रेजी सबै विद्यार्थीलाई धेरै राम्रोसँग बुझाएर पढाउने प्रयत्न गर्नु हुन्थ्यो, तर यसले गर्दा किताबमा भएका सबै पाठहरु पढाएर सकिन्थेनन् । हाम्रो कक्षा सातको जिल्लास्तरीय परीक्षा हुँदा अंग्रेजी विषयका पाठहरु अन्तिम परीक्षा हुने समयसम्ममा छ-सात वटा मात्र सकिएका थिए र स्वभावत: परीक्षामा सोधिएका धेरै प्रश्नहरु हल गर्न सकिने अवस्था रहेन ।
कक्षा नौ र दशमा भने संस्कृत मावि, तान्द्राङबाट सरुवा भई आउनुभएका कुल प्रसाद खनाल सरले अंग्रेजी पढाउनुभयो । विद्यार्थी प्रति वहाँ धेरै कडा हुनुहुन्थ्यो । गृहकार्य नगर्ने र भोलिपल्ट सोधिने प्रश्नहरुको राम्रो तयारी नगरेर आउने विद्यार्थीहरुले वहाँबाट सजाँय पाउँथे । कक्षा छ र सातमा विज्ञान विषय बुद्धि प्रसाद पुडासैनी सरले पढाउनुभयो । वहाँमा कक्षामा हामीलाई विज्ञान विषय पढाउनुहुँदा विद्यार्थीलाई यस विषय प्रति रुचि जगाउन सफल हुनुहुन्थ्यो । त्यसैगरी मलाई गणित विषय तिखार्नमा राम प्रसाद लामिछने, छन्द प्रसाद खनाल, नारायण श्रेष्ठ सरहरु र हरिमाया शर्मा मेडमको ठूलो योगदान छ ।

हामीलाई कक्षा आठमा नागरीक शिक्षा विषय कृष्णकाजी सरले पढाउनुभयो । यस विषयमा तत्कालीन पञ्चायत व्यवस्थासँग सम्बन्धित पाठहरु पनि थिए । त्यसमा पञ्चायत व्यवस्थाका निर्देशक सिद्धान्तहरु, जस्तै: शोषणरहित र विभेद रहित समाजको स्थापना, आर्थिक विकास, असंलग्न परराष्ट्र नीति आदि थिए । ती पाठहरु पढ्दा पञ्चायती शासन व्यवस्थाले परिकल्पना गरेको समाज पनि कम्ती आदर्शपूर्ण थिएनन् भन्ने लाग्थ्यो । तर, व्यवहारमा चाहिं जनताले त्यस्तो अनुभूत गर्न पाएका थिएनन् । त्यसो त सिद्धान्त र आदर्श तथा व्यवहार, चरित्र र प्रवृत्ति बिचको भिन्नता त अहिलेका राजनीतिक दलहरुमा पनि व्यापक रहेको हामी पाउन सक्छौं । नागरीक शिक्षासँग सम्बन्धित पाठहरु कृष्णकाजी सरले रुचिपूर्वक पढाउनु भएपनि पञ्चायत व्यवस्थासँग सम्बन्धित पाठहरु पढाउन भने त्यति जाँगर लगाउनु भएको लागेन ।

गणेश कुमार श्रेष्ठ सरले कक्षा छ र सातमा पूर्व व्यावसायिक शिक्षा पढाउनुका अतिरिक्त स्कूलमा सञ्चालन हुने खेलकुद लगायतका अन्य अतिरिक्त क्रियाकलापहरु, सरस्वती पुजा आदिमा विशेष सक्रियता देखाउनुहुन्थ्यो । यस अन्तर्गत हामीले बाँसको चोयाबाट बुनेर पंखा बनाउन पनि सिकेका थियौं । हामीलाई कक्षा आठमा कृषि विषय अर्जुन बुर्लाकोटी सरले पढाउनुभयो भने कक्षा नौ र दशमा रौतहटबाट आउनुभएका कृष्ण कुमार मिश्र सरले । मिश्र सरले ज्यादै मिहिनेत गरेर कृषि विषय पढाउनु हुन्थ्यो र हामीलाई बुझाउनुहुन्थ्यो । कक्षा नौमा ऊखुको रेटुन बाली पढाइसकेपछि वहाँले मलाई आफूले पढाएका कुराहरु संक्षिप्तमा बताउन भन्नुभयो । मैले वहाँले कक्षा समयभरि पढाउनुभएका सबै कुराहरु भनिदिएपछि मलाई टेपरेकर्डरको उपमा दिनुभयो । कक्षा दशमा वहाँले कृषि विषयको ‘पशुपालन’ पाठ पढाइसक्नुभएपछि स्कूल छाड्नुभयो । त्यसपछि हामीले कक्षा दशमा पढुञ्जेल अन्य कुनै कृषि शिक्षक नआउनुभएकोले बाँकी पाठहरु हामी आफैंले पढेर परीक्षा दिनुपरेको थियो ।

बिच बिचमा कुनै शिक्षकले स्कूल छाड्ने र लामो समयसम्म त्यस विषयको पढाइ हुन नसक्ने अवस्था त्यतिखेर सामान्य जस्तै थियो । स्कूलका प्रधानाध्यापकको एक प्रमुख जिम्मेवारी भनेको यसरी खालि भएको विषयको शिक्षक खोजेर ल्याउनु पनि हुन्थ्यो । विज्ञान विषयमा बेलाबखत विषयगत शिक्षक खालि भइराख्थे । कक्षा नौमा पढ्दा विज्ञान विषयका शिक्षकहरु धेरै नै फेरिए । शुरुमा कृष्ण बहादुर भण्डारी सरले पढाउनुभयो भने केही समयका लागि गणेश झा भन्ने सर पनि आउनुभयो, तर वहाँ हाम्रो स्कूलमा एक महिना समय जति मात्र रहनुभयो । त्यसपछि आउनुभएको घनश्याम तिवारी सरले भने हाम्रो स्कूलमा पछि लामो समयसम्म पढाउनुभयो । मलाई अत्यन्त स्नेह गर्ने गुरुहरुमा घनश्याम तिवारी सर पनि एक हुनुहुन्छ, जसले मलाई सदैव अगाडि बढ्न र असल बन्न प्रोत्साहित गरिराख्नुभयो । ममा विज्ञान विषयप्रति रुचि जगाउनमा पनि वहाँको ठूलो हात छ ।
कक्षा आठदेखि दशसम्म भूगोल विषय पढाउने सर राधाकृष्ण तिवारी हुनुहुन्थ्यो । वहाँले बिचमा छाड्दा चन्द्रभुषण दुबे र भक्ति प्रसाद शर्मा सरले पनि भूगोल विषय पढाउनुभयो । अतिरिक्त गणित तथा तथ्यांक विषय चाहिं राम प्रसाद लामिछाने र छन्द प्रसाद खनाल सरले पढाउनुभएको थियो । वहाँहरु दुवै जना कुनै समय हाम्रै स्कूलमा प्रथम भईराख्ने छात्रहरु हुनुहुन्थ्यो ।

स्कूलका भवनहरुको बिचमा रहेको खुला चौरमा बिहानको प्रार्थनासभा गरिन्थ्यो । हामीले त्यतिबेलाका राष्ट्रिय गान “श्रीमान् गम्भीर नेपाली……” र “हट्ने होइन, डटि लड्ने नेपालीको बानी हुन्छ, ….” भन्ने राष्ट्रिय गीत गाउँथ्यौं । दश कक्षामा पुग्दा २०४७ सालको जनआन्दोलन सफल भएपछि भने यी गीतहरु गाउन छाडेर केही समय “गाउँछ गीत नेपाली, …..” गीत समेत गाएका थियौं । विशेषगरी गर्मी महिनामा प्रार्थना गर्नुपर्दा बिहानै घाम चर्किसकेको हुन्थ्यो । केही छिन मात्र घाममा बस्दा खलखली पसिना आइसकेको हुन्थ्यो । कक्षा आठतिर पुग्दा बिहानको प्रार्थनासभामा एक दुई वटा हाजिरी जवाफका प्रश्नहरु सोधिने चलन शुरु गरिएको थियो । यसरी सोधिएका प्रश्नहरुको जवाफ दिनेमा प्राय: म नै हुन्थे । कुनै समयमा प्रश्न सोधिएसँगै म बाहेक अरुले जवाफ दिनु पर्ने कुरा पनि बताइने गरिएको थियो ।

कक्षा नौमा पुगेपछि स्कूल भवन अगाडि फूलका प्लटहरु बनाएका थियौं । हामी मकै र तरकारीका बिउहरु घरबाट लगेर ती प्लटमा रोप्ने गर्थ्यौं । बेलाबेलामा गोडमेल गर्ने काम गर्थ्यौं ।ती प्लटहरुमा मौलाउने र फक्रने फूलहरुसँगै हाम्रो आत्मसन्तुष्टि फक्रन्थ्यो र त्यस उपलब्धिमा मखलेल हुन्थ्यौं । फूलका प्लटहरुमा रंगीचंगी पात हुने बिरुवा र सयपत्री फूलहरु लगाएका थियौं । म संलग्न प्लट नौ कक्षाको कोठा अगाडि रहेको थियो र हाम्रो प्लट फूलले सबभन्दा ढकमक्क भएको थियो । यसको सिको गरेर मैले आफ्नै घरको आँगनको डिलमा प्लट बनाएर फूलहरु रोपेको थिएँ । हाम्रो घरको आँगनको छेउमा फूलका प्लटहरु बनाएर रंगीचंगी फूलहरु रोपेपछि हाम्रो घर वरपरका अन्य आठ दश घरले पनि आँगनको छेउमा फूलहरु रोप्न थाले । यसले गर्दा गाँउको शोभा नै बढेको थियो । पछि सडक बाटो बनाउने क्रममा यी सबै घरका आँगनहरु पनि मासिए र ती फूलका बोटहरु पनि ।

बुबा पनि फलफूल रोप्ने काममा सौखिन हुनुभएकोले घरको आँगनको छेउछाउमा पारिजात, असारे, चमेली, बेगमबेली र अर्को रंगीचंगी फुल्ने लहरे फूलका रुखबिरुवाहरु रोपिएका थिए । घर वरिपरि अम्बा, आरु, नासपाती, आँप, कागती, निबुवाका बोटहरु रोपिएका थिए । केरा र सिप्लिघानका बोटहरु थिए घर वरिपरि । अलिक पछि घर वरिपरि इपिल इपिल, रुद्राक्ष, तेजपात र लप्सीका बोटहरु पनि रोपिए । मलाई सानैदेखि फलफूल र अन्य बोटबिरुवाहरु रोप्नमा औधी रुचि जाग्थ्यो ।

हामी नौ कक्षातिर पुग्दा स्कूलमा थप नयाँ भवन बनाउने योजना बन्यो । त्यसका लागि धावाको जंगलबाट रुख कटानी गरेर काठ ल्याइएको थियो । ती काठहरु बोक्न हामी धावाको जंगलसम्म पुगेका थियौं । मेरो काठ बोक्ने समूहमा धावाका साथी अर्जुन लामिछाने लगायत हुनुहुन्थ्यो । फर्कँदा बाटोमा वहाँकै घर पर्ने हुँदा त्यसदिन अर्जुनजीले वहाँको घरमा बस्न मलाई साह्रै जिद्दी गर्नुभएको थियो, तर बुबाआमालाई थाहा नदिईकन बाहिर बस्दा के भन्नुहोला भन्ने भयले म वहाँको घरमा बास दिन बसिंन । आफ्नै घर फर्कें ।वहाँहरुले भोलिपल्ट स्कूल आउँदा काठ बोकेर ल्याउनुभयो ।

गाउँमा पढ्दा सामान्यतया घरबाट बाहिर गएर बस्न जाने भनेकै संभवत मामाघर वा अन्य आफन्तका घरमा जाने भन्ने नै हुन्थ्यो । गोरखा बजार मामाघर भएकोले आरुघाट, घ्याम्पेसाल, कोखे आहाले हुँदै जाने बाटो चिरपरिचित बनिसकेको थियो । यसबाहेक एकदुई चोटि बुबाआमाको साथ लागेर धादिङबेसीं सदरमुकामसम्म गएको थिएँ । यी सबै बाटो पैदल हिंडेर नै जानुपर्थ्यो । कक्षा छ मा पढ्दा हाम्रा साथी रुपक जोशी कक्षा पाँच धनकुटामा पढेर आएका थिए । उनका दाजु भाउजु त्यहाँको क्याम्पसमा प्राध्यापन गर्नुहुने भएकोले उनले पनि एक वर्ष त्यतै पढेका थिए ।उनबाट धनकुटा, धरान, झापातिरको बारेमा नौला कुराहरु सुन्न पाउँदा हामी रोमाञ्चित हुन्थ्यौं । उनबाट नै धनकुटाको तल्लो कोप्चे, माथिल्लो कोप्चे बजारको बारेमा पहिलो चोटि सुनेको थिएँ । कक्षा छ मा हुँदा हाम्रा साथीले उपेन्द्र लामिछानेले पनि संयोगले वर्षे विदाको समयमा स्कूलबाट चितवन र बन्दीपुरको गुफाको भ्रमणमा गएको शैक्षिक भ्रमण टोलीसँग मिसिने अवसर पाएका रहेछन् । उनले वर्षे विदाको समयपछि हामीलाई त्यस गुफा र चितवन भ्रमणको रोचक वर्णन सुनाएका थिए ।त्यसो त कक्षा सातमा पढ्दा आरुघाट बजारकै निरञ्जन श्रेष्ठले हामीसँग एक महिना सँगै पढेका थिए । उनको पिताजी काठमाडौंमा सरकारी सेवामा रहनुभएको हुँदा उनी नियमित रुपमा भने काठमाडौंमै पढ्थे । यसैगरी हाम्रा सहपाठी रश्मी श्रेष्ठको पिताजी पनि काठमाडौंमै सरकारी सेवामा रहनुभएको हुँदा उनी पनि पछि काठमाडौंमै अध्ययन गर्न गएकी थिइन् ।

मेरा लागि गाडी चढेर अलिक परसम्म पुगिएको यात्रा भनेको २०४३ साल मंसिर २२ गते गइएको पोखरा यात्रा थियो । कक्षा छ को परीक्षा सकिएपछि म मामाघर गोरखा गएको थिएँ । गोरखाबाटै एक जना मामाको बिहेमा जन्तीको रुपमा सम्मिलित भएर पोखरा जाने अवसर जुटेको थियो । हामी त्यतिखेर पृथ्वीचोक भन्दा अलिक तलको राजभण्डारी गेष्ट हाउसमा बसेका थियौं भने मामाको बिहेको कार्यक्रम फेवातालको बाराही मन्दिर र भोजको कार्यक्रमहरु फेवाताल किनारमा गरिएको थियो । त्यतिबेलाको पोखरा भ्रमणका सम्झनाहरु मेरा मानसपटलमा अझै ताजा छँदैछन् ।
मैले यसअघिको लेखेको ‘कलेज जीवनको राजनीति-१’ लेखमा स्कूल जीवनमा कसरी मेरो राजनीतिक चेतको विकास भयो भन्ने कुरामा लेखेको छु र स्कूलमा हुने राजनीतिक गतिविधिहरुका बारेमा समेत लेखेको छु । स्कूलमा राजनीतिक गतिविधिहरु विशेषगरी चैत देखि जेठ महिनाको समयमा केन्द्रित हुन्थे, किनभने नेविसंघको जन्मदिवस वैशाख ६ र अखिलको जन्मदिवस जेठ १ गते पर्थ्यो । कतिपय विद्यार्थीहरु ती दिवस मनाउन स्कूल बाहिर जाने र त्यसदिनको कक्षा छुट्ने हुँदा भोलिपल्ट अघिल्लो दिनको कक्षा दोहोर्‍याउने कि नदोहोर्‍याउने भन्ने विषय नै झगडाको बिउ बन्थ्यो । हामी कक्षा सातमा पुग्दा भने यस्तो झगडाले ठूलै रुप लियो । विद्यार्थीहरु बिच कुटाकुट भएर धेरै नै विद्यार्थीहरु घाइते समेत भए । स्कूल अनिश्चित कालका लागि बन्द गरियो ।

ठीक त्यही समयमा सल्यानटारको पान्धारे भन्ने स्थानमा योगी नरहरिनाथले एक महिने कोटीहोमको शुरुवात गरे । स्कूल बन्दको त्यो समय पान्धारेमा पुगेर धार्मिक र आध्यात्मिक प्रवचनहरु सुन्ने काममा उपयोग गरियो । हुनत २०१७ सालमा योगी नरहरिनाथले ‘कर्मवीर महामण्डल’ स्थापना गरेर हुलदंगा गरी तत्कालीन राजा महेन्द्रलाई कू गर्नका लागि उपयुक्त पृष्ठभूमि तयार पारिदिएको आरोप लाग्ने गरेको छ, यद्यपि उनमा धर्म, संस्कृति र इतिहासको बारेमा प्रकाण्ड ज्ञान रहेको थियो । उनले मेरो बुबालाई धर्म, संस्कृति र इतिहाससँग सम्बन्धित पढ्न लायक किताबहरुको सूची दिएका थिए । ती सूचीमा पर्ने थुप्रै किताबहरु मैले अहिलेसम्म पढ्न पाएको छैन । त्यसै सूचीको खप्तड स्वामीको विचार विज्ञान पुस्तक भने पुल्चोक क्याम्पसमा अध्ययनरत रहँदा पढेको थिएँ । त्यस कोटीहोममा ब्राम्हण बटुकहरुको व्रतबन्ध पनि गरिन्थ्यो ।ती बटुकहरुलाई गायत्री मन्त्र लेखेर दिइने गरिन्थ्यो । मैले केही समय त्यस कोटीहोममा कागजको टुक्रामा गायत्री मन्त्रहरु लेख्ने काममा सघाएको थिएँ । त्यतिबेला ब्राम्हण समुदाय बाहेक अन्यमा गायत्रीमन्त्रको खुला रुपमा प्रचार हुन्थेन ।

कक्षा तीनदेखि दशसम्म पढ्दा खासै ठूलो बिरामी परिंन । कहिलेकाहीं सामान्य ज्वरो आउँदा एक दुई दिनमात्र स्कूल गईन । कक्षा आठमा पढ्दा जेठ महिनातिर भने आउँ, झाडाबान्ताले सताएर एक हप्तासम्म स्कूल जान सकेको थिंइन । त्यतिबेला आमा हाम्रो घरबाट तीन चार घण्टाको पैदल दूरीमा रहेको चैनपुरमा स्वास्थ्य स्वंयसेविकाको तालिममा जानुभएको थियो । वास्तवमा वैशाख, जेठ महिनामा धेरै गर्मी हुने भएकोले बिहानको समयमा पढाई हुन्थ्यो, तर बिहानको समयमा स्कूल पढ्न जानु वास्तवमै कठिन काम थियो । बिहान झिसमिसेमै उठेर स्कूल जानुपर्ने र स्कूल सकिए पछि एघार बाह्र बजेको चर्को घाममा ठाडो उकालो चढ्नु । शिक्षाप्राप्तिका लागि बिताइएका त्यतिबेलाका संघर्षमय दिनहरु सम्झँदा अहिले चाहिं आनन्द लाग्छ ।

स्कूलबाट घर फर्केर खाना खाँदा दिउँसोको लगभग एक बजिसकेको हुन्थ्यो । भर्खर खाना खाएपछि गर्मीले समेत गर्दा झप्प निद्रा लाग्थ्यो । बिहान छिटो उठेर स्कूल जाँदा निद्रा पनि पुगेको हुन्थेन र कहिलेकाहीं दिउँसो सुतिन्थ्यो पनि । कुनै दिन भने हामी खेततिर काम गर्न आधा घण्टा जति ओरालो हिंडेर पुगिने काष्टे खोला किनारको ठूलीबेसीं खेतमा पुग्थ्यौं । वैशाख जेठ महिनामा खोलामा भएको अलि अलि पानी पनि चैते धानखेतीको लागि लगिने हुँदा खोलामा निकै कम मात्रामा पानी रहेको हुन्थ्यो । खोलामा अलि अलि माछाहरु पाइन्थे । कम पानी भएको बेला माछा मार्न सहज हुन्थ्यो । खोलामा माछा मार्नका लागि अनेक विधिहरु थिए । खोलाको पानीलाई अर्कोपट्टिबाट फर्काएर पानी सुकाई माछा मारिने एक विधि थियो । खोलामा पानी घट्दै गएपछि माछा समात्न थाल्थ्यौं । खोलाका माछाहरु खोलाको कुनै दह परेको स-साना पोखरीतिर एकठ्ठा हुन्थे । ती पोखरीमा खिर्राका पात, पर्रे झारका पातहरु ढुङ्गामा राखी कुटेर मसिनो पारी पानीमा मिसाइन्थ्यो र पानीमा तिनलाई बेसरी हुँडलिन्थ्यो । यसले गर्दा माछाहरु केही छिनपछि पानीको सतहमा फत्र्याक फत्र्याक गरेर ऊफ्रन थाल्थे । हामी ती छट्पटाएका माछाहरुलाई समात्न थाल्थ्यौं । कुनै माछाहरु पोखरीको कुनामा रहेका ढुङगाका कुरहरुमा लुकेर बसेका हुन्थे । किनकि कुनै कुरहरुमा कतैबाट सफा, चिसो पानी आइरहेको हुन्थ्यो । त्यस्ता कुरहरुमा छिरेका माछालाई पक्रन हात छिराउँदा कहिलेकाहीं पानी सर्पहरु पनि तानिएर आउने गर्थे।

हामी स-साना केटाकेटीहरुको काम माछा मार्ने भन्दा पनि रमिता हेर्ने बढी हुन्थ्यो । ठूलाले अह्राएका काममा सघाउ पुर्‍याउनु हुन्थ्यो । माछा भाग लगाउने बेलामा भने केटाकेटीहरुको भागमा ज्यादै कम माछा पर्थ्यो । भागमा परेका पाँच सात वटा स-साना भुरा माछाहरु घरमा ल्याएर पोलेर खाने गर्थ्यौं । एकदुई चोटि भने पकाएरै खान पुग्ने माछा मारेर ल्याइएको सम्झना छ । काष्टे खोलामा पाइने माछाहरुमा असला, कत्ले, फगटे, बुदुना, काभ्रे आदि प्रजातिका हुन्थे । बुढीगण्डकी नदीमा भने जाल हानेर माछा मारिन्थ्यो र ठूल्ठूला माछाहरु समेत जालमा पर्थे । असला, कत्ले, काभ्रे र कहिलाकाहीं जलकपुर आदि प्रजातिका माछाहरु भेटिन्थे । ती माछाहरु ज्यादै स्वादिला हुन्थे । यसरी जाल हानेर माछा मार्नेमा प्राय: कुमाल जातिका मानिसहरु हुन्थे ।

असार, साउनको विदाको समयमा हामी बुबाआमालाई खेतबारीको काममा सघाउँथ्यौं । घाँस, सोत्तर काट्न पनि जाने गर्थ्यौं । हाम्रो घरमा दुई तीन वटा भैंसीहरु थिए । ती भैंसीका लागि खेतबारी र वनबाट घाँस काटेर ल्याउनुपर्थ्यो । घाँसको जोहो गर्ने काम आमाको जिम्मेवारीमा भएपनि भ्याएसम्म हामी पनि सघाउने गर्थ्यौं । गाउँका धेरै विद्यार्थीहरु बिहानको समयमा घाँस काटेर ल्याई, खाना खाएर मात्र स्कूल जाने गर्थे । म बिहान चाँडै स्कूल जाने भएकोले बिहान घाँस काट्न त जान्थिँन, विदाका दिनमा भने जान्थें । खेत वा वनमा गएर घाँस काट्ने कुरामा म निकै निपुण थिएँ । अरुले एक भारी घाँस काट्दा म दुई भारी घाँस काट्न सक्थें । वनमा घाँस काट्न जाँदा भने भीरमा समेत हिंड्नु पर्थ्यो । जे होस्, त्यतिबेला भीरपाखामा हिंड्ने बानी भएकोले अहिले पनि स्थलगत अध्ययनका सिलसिलामा सामान्य भीरको बाटोमा हिंड्न डर लाग्दैन ।

त्यस समय वनमा घाँसपात गर्न जाँदाको अर्को फाइदा के रह्यो भने मैले हाम्रो मध्य पहाडी क्षेत्रमा पाइने थुप्रै रुखबिरुवाहरु चिन्न सकें, जुन अहिले मेरो कामको सिलसिलामा वातावरणीय अध्ययन अन्तर्गत वानस्पतिक अध्ययनका लागि धेरै सहायकसिद्ध भएको छ ।हाम्रोतिर खोला किनार आसपासमा खयर, सिसौ, सिमलका रुखहरु हुन्थे भने अलिक होचा भूभागतिर सालको जंगल पाइन्थ्यो । त्यसभन्दा अलिक मास्तिर चिलाउने, कटुस र डाँडाको टुप्पोतिर सल्लाका जंगलहरु हुन्थे । झाडीयुक्त वनस्पतिहरुमा अंगेरी, धंगेरी, गाईतिहारे, धुर्सुल, असुरा, तीतेपाती जस्ता पाइन्थे । वनमा भकिम्लोका झुत्ताहरु टिपेर घरमा ल्याई साँधेर खाने गरिन्थ्यो । जेठ महिनातिर पाकेका बेलहरु टिपेर खाने गरिन्थ्यो । वनतिर पाइने खान हुने अन्य फलहरुमा बयर, दहीकमल, पँदेल, चरीअमिलो, खनायो, अमौरा आदि थिए ।

क्रमश…

वातावरणीय ईन्जिनियर श्रेष्ठ इन्भाइरोमेन्टल सर्भिसेस नेपाल, इएसएनमा आबद्ध छन् । उनी सल्लेरी खबरका नियमित स्तम्भकार हुन् ।

प्रतिक्रिया दिनुहोस्