Logo

गुल्मीमा झारफुक गर्ने क्रममा धामीले तातो पुन्युले हान्दा बिरामीको मृत्यु



Spread the love

२९ पुस, गुल्मी । झारफुक गर्दा झाँक्रीले हानेको पुन्युले हानेर एक जना बिरामीको मृत्यु भएको छ ।

गुल्मीको रेसुङ्गा नगरपालिकामा ३८ वर्षका झाँक्री राम प्रसाद श्रेष्ठले हानेको तातो पुन्युले हानेर घाइते भएका इस्मा गाउँपालिका ३ दर्लामचौरका ६३ बर्षिया राम बहादुर मुखियाको ज्यान गएको हो ।

मुखिया ढाड दुखेको समस्या लिएर झारफुक गर्न धामीको घर गएका थिए । ती धामीले उपचार गर्नेभन्दै ४ दिनसम्म केही खान नदिई तातो फलामे डन्डी, स्टिलको झाँझर तताएर तथा प्लास्टिक पाइपले हान्दा मृत्यु भएको उनका छोराले आरोप लगाएका छन् ।

धामीको कुटाइबाट मुखिया घाइते भएपछि धामी नै घरमा अपरिचित व्यक्ति घरमा आएर होहल्ला गरेको भन्दै प्रहरीका उजुरी दिन पुगेका थिए । तर, धामीको घर पुगेको प्रहरीले धामीको कुटाइबाट नै मुखियाको मृत्यु भएको पत्ता लगाएको थियो ।

प्रहरीले दिएको जानकारी अनुसार मृतक मुखियाको शरीरभरी निलडाम रहेको छ । यसभन्दा अघि पनि उनै श्रेष्ठले ४० वर्षीया टोपला दमाईलाई तातो पुन्युले हानेर घाइते बनाएका थिए ।

अहिले आफुलाई धामि दावी गर्ने रामप्रसाद श्रेष्ठ र उनकी ३६ वर्षीया श्रीमती शान्तिला श्रेष्ठलाई नियन्त्रणमा लिएर अनुसान्धान सुरू गरिएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्