Logo

रेलमार्ग विस्तारमा स्थानीयवासीले गरे अवरोध



Spread the love

२९ पुस, बारा । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मेची महाकाली रेलमार्गअन्तर्गत बाराको निजगढमा विद्युतीय रेलमार्गका लागि निजी जमीनमा पिलर गाडेपछि स्थानीयवासीले अवरोध खडा गरेका छन् ।

सो विद्युतीय रेलमार्गअन्तर्गत निजगढ–हेटौँडा–भरतपुर खण्डको डिपिआर तयारीको लागि सर्भे गर्ने भनेर निजगढ आएको टोलीलाई स्थानीयवासीले बस्तीबीचबाट सर्भे नगर्ने भनी अवरोध खडा गरेका छन् । सर्भे टोलीका प्रमुख सवइञ्जिनीयर सुरज पौडेलले भने, “गाडीएको पिलरदेखि २५० मिटर पश्चिम र ५० मिटर पूर्वतर्फको बाटो भएर रेलमार्ग जाने गरी सर्भे गर्दा स्थानीयवासीले अवरोध खडा गरेका छन्, निजगढ बजारको दक्षिणतर्फ निजगढ नगरपालिकाका प्रमुख सुरेशकुमार खनालको जग्गा र कृष्ण मुरारी खड्काको जमीनको साध र सोही ठाउँको राजमार्गसँग जोडिएको रुद्रलाल श्रेष्ठ र श्रवण श्रेष्ठको साधमा पिलर गाडिएकाले विरोध भएको हो ।”

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय रेल विभागको पत्र लिएर इञ्जिनीयर पौडेलले नगरपालिका गएपछि स्थानीयवासीले विरोध जनाएको बताइएको छ । सो जमीनमा पिलर गाड्दा सम्बन्धित जग्गाधनीलाई र रेलमार्ग सर्भेबाट प्रभावित स्थानीयलाई जानकारी नदिइएको स्थानीयवासी विष्णु खड्काले बताए । तीनसय वर्षभन्दा पुरानो बस्ती कछडियाको बीचबाट रेलमार्गको सर्भे भइरहेको थाहा पाएपछि त्यहाँका जनताले विरोध जनाउँदा विद्युतीय रेलमार्गको काम अगाडि बढ्न सकेको छैन ।

सर्भे टोलीका अनुसार सो रेलमार्ग निजगढको भमरा नदीकट्टा, तेस्रो लाइन, जमुनी पैनी, निजगढ बजार, गुम्मा टोल, सडक टोल, पुरानो निजगढ हुँदै बकैया खोला पारी गरी रेलमार्ग लालबस्तीतर्फ जाने छ । सो रेलमार्ग चिसापानी, घैया पोखरी, गुङ्जोड, बारथली, रामथली, कुलिया, भक्तलाल, डुमरजोर हुँदै अमलेखगञ्ज निस्कने र हेटाैँडाबाट पश्चिमतर्फ रेल्बे लिक जाने छ । सर्भे टोलीले ती बस्तीका विभिन्न स्थानमा जग्गाधनीलाई कुनै जानकारी नदिएर जग्गाका साध, सिमानामा पिलर गाडेपछि विवाद चुलिएको हो ।

प्रतिक्रिया दिनुहोस्