Logo

स्मृतिमा स्कूल जीवन-४



स्कूलमा पढेर पाइने सैद्धान्तक ज्ञान त आफ्नो ठाउँमा छँदैछ । यसको साथै गाउँले परिवेशमा हामीले कैयौं व्यावहारिक ज्ञानहरु समेत हासिल गर्थ्यौं जस्तो लाग्छ । चाहे त्यो वनपातमा जाँदा होस् वा खेतबारीमा काम गर्दा होस् । जस्तो कि कुलो बनाउँदा खोलाबाट कुलोतिर पानी फर्काउन कसरी मजबुत छेकबाँध बनाउने, भेलबाढीबाट सकभर कसरी कुलोको बाँधलाई जोगाउने, बाँध बनाउँदा पहिले ठूलो ढुङगाहरु राख्ने, अनि सानो ढुङगाहरु राख्ने र अण्तमा घाँस सहितका चपरीहरु राखेर पानी छिरेर जान सकभर रोक्ने जस्ता विधिहरु अपनाइन्थे । बाँध बनाउने स्थान पनि सकभर खोलाको बाढीले बगाएर लग्न नसक्ने वा पल्टाउन नसक्ने, खोलाले काट्न नसक्ने चट्टान भएको स्थान वा ठूला र स्थिर रुपमा बसेका चट्टान भएका स्थानहरु वरिपरि छनौट गरिन्थ्यो । कुलोको पानी सहज किसिमले खेतसम्म बगेर जान सक्ने गरी कुलोको मार्गको भिरालोपन तय गरिएको हुन्थ्यो । कुलोको आकार शुरुको भागमा ठूलो हुन्थ्यो र पानी खेतहरुमा बाँडिदै जाँदा कुलोको साइज पनि घट्दै जान्थ्यो ।

कुलोको पानी खेतहरुमा पठाउन खेतको गराको मुहानमा केही थुनिन्थ्यो र सिंचित गर्नुपर्ने खेतको क्षेत्रफल अनुसार कति पानी गरातिर पठाउने भन्ने कुराको अनुमान गरिन्थ्यो । कुलोको पानी खेतका गराहरुमा भरिएर क्रमश: तल्लो गराहरुमा झर्दै जान्थ्यो । प्रत्येक गरामा पानी अडिनका लागि आली बनाइन्थ्यो र त्यस आलीका एक दुई स्थानमा तल्लो गरामा पानी झार्ने ठाउँ बनाइन्थ्यो । खेतका गरामा पानी भरिंदै गएको, एक गराबाट अर्को गरामा पानी झरेको, पानीले भरिएको गरामा चराहरु आएर पखेटा फट्फटाउँदै नुहाएको, अलिक अग्लिसकेका धानका बोटहरु हावाको झोंकामा सर्रर हल्लिएर बयेली खेलेको दृश्य ! अहो ! अहिले सम्झिंदा पनि कति मनमोहक लाग्छ ।

कुलोको पानी लगाउन खेतधनीहरु बिच पालो बाँधिएको हुन्थ्यो । कोही कोही चाहिं अरु खेतधनीका आँखा छलेर, चोरेर अर्काको पालोमा समेत पानी लगाउने हुन्थे । यसरी पानी लगाउने विषयमा कहिलेकाहीं झगडा पनि पर्ने गर्थ्यो । विशेषगरी कुलोको पुच्छारतिर खेत हुनेहरुका लागि खेत भिजाउनु अलिक कठिन मानिन्थ्यो ।

ठूलो पानी परेर खोलामा बाढी आएको बेला भने कुलोका बाँधलाई खोलाले बगाएर लग्थ्यो । फेरि बाँध बनाउनु पर्ने हुन्थ्यो । कुलोबाट पसेको भेलबाढी खेतसम्म पुग्दा खेतका माथिल्ला गराहरु बालुवाले भरिन्थे । पानीको भार थेग्न नसकी खेतका कमजोर आली र कान्लाहरु भत्किन्थे । तिनको मर्मत गर्नुपर्थ्यो । कुनै गरामा अधिक पानी जम्मा भएमा खेतका कान्ला भत्कने डर हुन्थ्यो । हिउँदमा मुसाले बनाएका प्वालहरुबाट पानी छिरेर पनि खेतका गराहरु भत्कने गर्थे । यी सबै कुराहरु बाल्यकालमा व्यावहारिक रुपमा अनुभव गर्न पाएकोले पछि कलेजमा हाइड्रोलिक्स, फ्ल्युड मेकानिक्स र सिंचाई इञ्जिनियरिङका विषयवस्तुहरु बुझ्न मलाई धेरै सहज भयो जस्तो लाग्छ । आफ्नै घरछेउमा भएको खानेपानी आयोजनाको रिजरभ्वायर तथा पानीको मुहानदेखि वितरणसम्मको खानेपानी आयोजना प्रणाली देखेको हुनाले पछि कलेजमा खानेपानी इञ्जिनियरिङको विषय बुझ्न पनि धेरै सजिलो भयो । यस बाहेक गाउँमा छँदा ढुङगा, माटोको गाह्रो, पर्खालहरु लगाउने कुरा पनि मेरा लागि रुचिका विषय थिए ।

असार, साउन महिना र अन्य विदाका दिनहरुमा खेततिर जानु एक दिनचर्या नै थियो । खेतका कान्लाहरुमा घाँस काटिन्थ्यो । कान्लाकै छेउछाउमा भएका तीतेपातीका झाडीमा कतै सुनबारुलोले गोला लगाएको हुन्थ्यो र बारुलाको चाका आगाले पोलेर खाने गर्थ्यौं । खेतका आलीमा भटमास, बोडीहरु रोपिएका हुन्थे । खेतका गराका कान्लाहरुमा अम्बा र खन्यूका बोटहरु उम्रिएका हुन्थे, जुन फलेका बेलामा हाम्रा लागि भोक मार्न झुम्मिने ठाउँ बन्थे । खोला किनारतिर बयरका झाडीहरु प्रशस्त थिए । कात्तिक, मंसिरतिर बयर पाक्ने गर्थ्यो । यस बाहेक हाम्रो खेतमा केही खयर, सिमलका बोटहरु थिए । आँप, केरा, भुईंकटहर, नासपाती, मेवाका बोटहरुको साथै खेतका कान्लामा कुटमिरो, डुम्री र दबदबे जस्ता डालेघाँसका बोटहरु पनि थुप्रै थिए । गैरी खेत र घाट खेतको छेउमा बाँसको झाङ हुर्काइएको थियो। ठुलीबेसीं फाँटको उत्तरमा रहेको सप्राङे पाखो वनबाट अमला टिप्न गइन्थ्यो र तितौरा बनाउने गरिन्थ्यो । एकचोटि वनमा अमला टिप्न जाँदा नजिकैबाट आएको चितुवाको गन्ध र गर्जनले डराएर कुलेलम ठोकेर भागेका थियौं ।

हाम्रो पाखोबारी त्यति धेरै थिएन । हिउँदभरि खालि रहने बारीमा चैतवैशाखमा पानी परेपछि जोतेर मकै रोपिन्थ्यो । यसरी रोपिएको मकै उम्रिएर हुर्केपछि दुई चोटि गोडिन्थ्यो । साउन महिनातिर मकैका बोटमा चमर र घोगा लाग्न थाल्थे । बाँदरहरु आएर मकै खाने भएकोले बाँदर धपाउनका लागि बारीका छेउमा छाप्राहरु बनाइएका हुन्थे । यस्ता छाप्रामा हरियो मकै पोलेर खानुको आनन्द अर्कै हुन्थ्यो । सामान्यतया: देवतालाई चढाएपछि मात्र नयाँ मकै खान हुन्छ भन्ने मान्यता गाउँघरमा थियो । बाँदरहरु लखेट्ने क्रममा कहिलेकाहीं भिर भिर पनि कुद्नुपर्थ्यो । बाँदर लखेट्न साथमा कुकुरहरु पनि हुन्थे । आजभोलि सुन्छु, गाउँघरतिर बाँदरहरु मानिस र कुकुरदेखि कत्ति पनि डराउँदैनन् । कतिले त बाँदरबाट मकै जोगाउन कठिन हुने भएकोले बारीमा घैया धान लगाउँथे, जसलाई आकाशे पानीको अतिरिक्त सिंचाईको जरुरत पनि पर्दैन । अहिले जलवायु परिवर्तनको चर्को चर्चा सँगसँगै घैया धान जस्ता रैथाने अन्नबालीहरुको संरक्षण पो गर्नुपर्ने हो कि?

मकै वा घैया धान भित्र्याएपछि बारीहरुमा मास छरिन्थ्यो वा कोदो रोपिन्थ्यो । तिल र झुसे तिल पनि छर्ने गरिन्थ्यो । बारीका छेउछेउमा मानिसहरु पिंडालु, अदुवा, सखरखण्ड र बदामहरु लगाउने गर्थे । बारीमा रोपिएका सखरखण्ड, तरुलहरुलाई माघेसंक्रान्तिको आसपास खनेर निकालिन्थ्यो ।
वैशाख, जेठतिर कहिलेकाहीं लामो समयसम्म खडेरी पर्थ्यो । बारीका मकैका बोटहरु सुक्न थाल्थे । यस्तो अवस्थामा गाउँ नजिकै खोल्सामा भएको शीतलादेवी माईको थानमा पुजाआजा गरिन्थ्यो । बाख्राको पाठो बलि दिइन्थ्यो र त्यसको मासु पकाएर मानिसहरुले प्रसादको रुपमा ग्रहण गर्थे । अनि बेलुकीतिर गाउँमा मानिसहरु घर घर डुलेर “हर हर महादेव, पानी देउ देउ” भनेर पानी माग्थे । उनीहरुलाई घर घरका मानिसले गाग्री, ग्यालिन, अंखोरा वा अन्य भाँडाकुँडामा जम्मा गरेर राखिएको पानी खन्याइदिएर स्वागत गर्थे । यसरी पानी मागिएको बेलुकी वा एक दुई दिनभित्र नभन्दै पानी पर्थ्यो । कक्षा नौको नेपाली विषयमा भएको ‘महादेवले पनि हार्नुपरेछ’ कथा पढ्दा म हाम्रो गाउँको यो परम्परा सम्झन्थें ।

गाउँघरतिर कहिले पानी नपरेर दु:ख हुन्थ्यो त कहिलेकाहीं बढी पानी परेर । ठूलो वर्षा हुँदा नजिकका कमजोर भिरपाखातिर पहिरो जान्थ्यो । २०४४ साल साउन ९ गते(?)अविरल रुपमा परेको मुसलधारे वर्षाले आरुघाट बजारको तल्लो भागतिर पहिरोले केही घरहरु पुरिए । हाम्रा स्कूलका पूर्व प्रअ राम कुमार श्रेष्ठ (पूर्व मन्त्री तथा सचिव), प्रा.डा. कृष्ण कुमार श्रेष्ठ सर लगायतका बुबा टेक बहादुर श्रेष्ठको पहिरोमा पुरिएर दु:खद निधन भयो । त्यसको छ दिनपछि (साउन पन्ध्र गते) आरुघाट बजारमै अर्को ठूलो पहिरो गयो । हाम्रा आफन्त दाइ रामकृष्ण श्रेष्ठ, डा. हरिकिशोर श्रेष्ठ (हाल ओम अस्पताल) लगायतका घरहरु पहिरोसँगै बगेर गएका थिए । यी घटनाहरु हाम्रो स्कूल जीवनमा आरुघाट बजारमा प्रत्यक्ष देख्नुपरेका दु:खद घटनाहरु मध्ये थिए ।
बुढीगण्डकी नदीले बर्खाको समयमा हरेक वर्ष एक दुई जना मानिसहरु बगाएर लग्ने घट्ना घटिरहन्थ्यो । नदीमा बाढी आउँदा, नदीले बगाएर ल्याएका काठका मुढा र दाउराहरु संकलन गर्न नदी किनारमा जाँदा कहिलेकाहीं मानिसहरु नदीको भेलसँगै बगेर जान्थे ।

२०४५ सालतिर घरमा गोरु नहुनाले खेतीपातीको काम निकै कठिन भएपछि बुबाले एक हल गोरु किन्नुभएको थियो । त्यतिबेला हाम्रो गाउँघरतिर खेतीपाती, मेला, पर्मका कुराहरुलाई पनि राजनीतिले नराम्रोसँग गाँजेको थियो । गाउँमा हाम्रो भन्दा विपरित राजनीतिक आस्था भएका मानिसहरुको बाहुल्यता भएका कारणले गर्दा समयमा हलीगोरु पाउनु, खेत रोपाईं गर्नु कठिन भएको थियो र बुबा गोरु किन्ने निर्णयमा पुग्नुभयो । ती गोरुहरु निकै मोटाघाटा थिए । असार, साउन र अन्य विदाको समयमा म गोरु चराउन गोठाला जान्थें । खोला किनारमा भएका चौरहरुमा गोरु चराइन्थ्यो । त्यसै समयमा खोला वरिपरिका खेतका गराहरुमा माछा मार्ने काम पनि गरिन्थ्यो । खेतका गरामा भेटिने माछाहरु बुधुना माछा हुन्थे । एक सुरले माछा मार्नतिर लाग्दा गोरुहरु भने कहिलेकाहीं धानखेततिर पसिसकेका हुन्थे ।

बर्खा सकिएर असोज लागेपछि काष्टे खोलाको भेल घट्दै जान्थ्यो । खोलामा सङलो पानी बग्न थाल्थ्यो । खोलाका कुनै ठाउँमा माछा मार्नका लागि एकातिर पानी तर्काएर अम्रिसोका डाँठ वा यस्तै साधनले माछा अडकिने जालो बुनिन्थ्यो । बिहानपख मानिसहरु यस्तो जालोमा अडकिएका माछाहरु बटुल्न जान्थे । खोलामा पानी घट्दै जाँदा धानखेतलाई चाहिने पानीको आवश्यकता पनि घट्दै जान्थ्यो । धानहरु बिस्तारै पोटाउन र झुल्न थाल्थे । सिखटारको डिल र राम्चे चौताराबाट धान झुलेर पहेंलपुर भएको ठुलीबेसी फाँट जति हेर्दा पनि अघाइन्थेन । हाम्रोतिर लगाइने धानका स्थानीय प्रजातिहरुमा आँपझुत्ते, गाइखुरे, पोखरेली मसिनो, अनति, मार्सी आदि थिए । धान काटिसकेपछि यसलाई झार्ने काम गरिन्थ्यो । यसलाई बिटा लगाउने भनिन्थ्यो । बिटा लगाउँदा सबै धान झार्न सकिएन भने कुन्यूमा राखिन्थ्यो र दाईं हाल्दा ती धान झार्ने गरिन्थ्यो । दाईं हाल्दा गोरु धपाउन र परालमा खेल्न खुब रमाइलो हुन्थ्यो । बच्चाहरु परालका भारीहरु बिच लुकामारी खेल्थे ।

धान काटिसकेपछिको खेतमा मानिसहरु आफ्नो आवश्यकता अनुसार तोरी छर्ने, गहुँ छर्ने, तरकारीहरु लगाउने गर्थे । हाम्रो ठुलीबेसीं फाँटमा लसुन, प्याज, मूला, काउली लगायतका तरकारीहरु पनि खुब राम्रोसँग फल्थे । यी खेती प्राय: स्थानीय खपतका लागि मात्र गरिन्थ्यो । तरकारी उत्पादनको बजारीकरण भएको थिएन र अहिलेसम्म पनि यसमा कुनै ठोस पहल भएको देख्दिंन ।

अहिले बुढीगण्डकी जलविद्युत आयोजनालाई अगाडि बढाइएसँगै यी जग्गाहरुलाई सरकारीस्तरबाट अधिग्रहण गरी मुआब्जा वितरण गरिएको छ । कुनै दिन बुढीगण्डकी जलविद्युत आयोजना बनेमा ठुलीबेसीं फाँटसँग गाँसिएका यी सम्झनाहरु फगत सम्झनामा मात्र सीमित हुनेछन् । यतिमात्र होइन, आरुघाट बजार र हामीले पढेको भीमोदय स्कूल पनि जलविद्युत आयोजनाको प्रस्तावित जलाशयभित्र पर्नेछन् ।जुन स्कूलसँग हाम्रा विगतका थुप्रै अमूल्य पलका स्मृतिहरु गाँसिएका छन् । ती पनि स्मृतिमै सीमित रहनेछन् ।

अँ त, फेरि स्कूलकै कुरामा फर्कौं । कक्षा आठमा पुगेपछि हामी पढ्ने भवन परिवर्तन भयो । जस्तापाताले छाएको भवनबाट सरेर दक्षिणपट्टिको ढुङगाले छाएको होचो भवनमा हाम्रो पढाइ हुन थाल्यो । यो भवनमा गर्मीको महिनामा पनि शीतल हुन्थ्यो । भवनको कोठा पनि ठूलो थियो । कक्षा आठमा आरुघाट वरपरका अन्य थुप्रै निमावि स्कूलहरुबाट विद्यार्थीहरु सात कक्षा पास गरेर आठ कक्षामा भर्ना हुन आएका हुन्थे । ती स्कूलहरुमा आरुपोखरीको दरबार निमावि, फुलपाती भञ्ज्याङको सिद्धदेवी निमावि, मान्बुको भवानी निमावि, आगिञ्चोकको सुन्दरी निमावि, धावाको प्रभात निमावि आदि थिए । यी स्कूलबाट प्रथम भएर आठ कक्षामा भर्ना हुन आएका विद्यार्थीहरुमा दरबार निमाविबाट प्रेम बहादुर गुरुङ, सिद्धदेवी निमावि कल्पना रोक्का, भवानी निमाविबाट अमर घले, सुन्दरी निमाविबाट दिपक विक्रम शाह, प्रभात निमाविबाट ढलक बहादुर लामिछाने थिए ।

कक्षामा कुनै कठिन प्रश्न सोधिंदा यी सबै स्कूलबाट प्रथम भएर आएका विद्यार्थीहरुलाई पालैपालो सोधिने गरिन्थ्यो । कक्षा छ र सातमा साठी, सत्तरी जनाको आसपासमा विद्यार्थीहरु भए पनि आठ कक्षामा पुग्दा विद्यार्थी संख्या एक सय भन्दा बढी पुगेको थियो र कक्षालाई दुईटा सेक्सनमा बाँडिएको थियो । यो क्रम कक्षा नौ र दशमा पनि रह्यो । पढाईमा पोख्त विद्यार्थीहरु सामान्यतया: धेरैजसो सेक्सन ‘ए’ मा रहेका थिए । पढाईमा कमजोर विद्यार्थीहरु भने परीक्षामा अनुत्तीर्ण भएपछि तल्लो कक्षाका विद्यार्थीहरुसँग मिसिन पुग्थे । त्यसैगरी माथिल्लो कक्षाका कतिपय कमजोर विद्यार्थीहरु पनि हामीसँग मिसिन आइपुग्थे ।

आगिञ्चोकको स्कूलबाट प्रथम भएर आएका साथी दिपकजी केही समय हाम्रै घर सिखटारमा डेरा गरेर बसेका थिए । यसो त हाम्रो घरमा आगिञ्चोक र छापथोकबाट आरुघाटको भीमोदय स्कूलमा पढ्न जाने तोरण अधिकारी, मोहन बुर्लाकोटी, मुक्त बहादुर अधिकारी, चन्द्र विक्रम शाह लगायत पनि डेरा गरेर बसेका थिए । हाम्रो घरमा डेरा गर्दा ऊनीहरुलाई स्कूल पुग्न एक घण्टा जतिको हिंडाई कम हुन्थ्यो । हामी सँगै राति अबेरसम्म पढ्ने, गृहकार्य गर्ने गर्थ्यौं । रातको चकमन्नतालाई नजिकै आँपको रुखमा बस्ने लोखर्केको एकोहोरो आवाजले बिथोल्ने काम गरिराखेको हुन्थ्यो । बिजुली बत्ती थिएन । टुकी वा लाल्टिनको उज्यालोमा पढ्नुपर्थ्यो । राति टुकीको उज्यालोमा पढेर भोलिपल्ट बिहान उठ्दा नाकबाट कालो सिंगान निस्कन्थ्यो ।

कक्षा आठमा विभिन्न स्कूलबाट थुप्रै नयाँ विद्यार्थीहरु थपिए पनि परीक्षामा ऊनीहरु भीमोदय स्कूलमै पहिलेदेखि पढिराखेका विद्यार्थीहरु भन्दा अब्बल बन्न चाहिं सकेनन् । कक्षामा म संधै प्रथम भएँ भने दोस्रो र तेस्रो हुनेमा अर्जुन लामिछाने, नरेन्द्र बगाले, उपेन्द्र लामिछानेजीहरु हुन्थे । दोस्रो र तेस्रो स्थानमा माथि उल्लेखित बाँकी साथीहरु मध्ये फेरिरहन्थे । पढाई नभएको खाली समयमा धेरै विद्यार्थीहरु खेल्न निस्कन्थे । म र अर्जुनजी भने प्राय: कक्षाकोठामै रहन्थ्यौं । हामी दुई जना कापीमा कोठाहरु बनाएर ती कोठामा अंग्रेजी अक्षरहरु एक एक गरेर भर्दै शब्द बनाएर खेल्ने गर्थ्यौं । जसले जति अक्षरको शब्द बनाउन सक्थ्यो, उसले उति नै अंक प्राप्त गर्दै जान्थ्यो । अन्तमा कुल अंक धेरै ल्याउने चाहिं विजयी हुन्थ्यो ।

स्वभावत: आफ्नै सेक्सनका साथीहरु बिच चाहिं अन्य सेक्सनका साथी भन्दा बढी घुलमिल होइन्थ्यो । हामीसँग पढ्ने साथीहरुमा आरुटार, चनौटे, मंगलटार, आरुघाट बजार, विशालनगर, टारीफाँट, डाँडाबेसी, धावा, बालुवाटार, आरुपोखरी (धारापानी, ढाँडगाउँ, घ्यापिन्थोक, सिस्नेरी), फुलपाती भञ्ज्याङ, खत्रीस्वाँरा, वयाक, थुमी, मान्बु, लापु, ऊहिया, खोर्ला, आगिञ्चोक, सल्यानटार लगायतका स्थानका थिए। पुरुषोत्तम उपाध्याय भन्ने एक जना साथी नवलपरासीका थिए । उनको बुबा आरुघाट बजारको बैंकमा काम गर्ने हुँदा उनले हामीसँगै पढे । उनी कक्षा छ देखि नौसम्म हामीसँगै पढे । सँगै पढेका साथीहरुसँग साटिएका स्मरणीय क्षणहरुको बारेमा लेख्दै जाने हो भने लेख निकै लामो हुँदै जानेछ ।

सानो कक्षामा सँगै पढेका कतिपय साथीहरु पछि छुट्दै पनि गए । केही साथीहरुको कक्षा चार, पाँच तिरै पनि बिहे भएको थियो । विशेष गरी अलिक उमेर पुगेका छात्राहरुको सानै कक्षमा बिहे भईसकेको हुन्थ्यो । कक्षा छ, सात, आठ हुँदै दश कक्षासम्म पुग्दा बिहे भईसकेका थुप्रै साथीहरु हुन्थे, कक्षामा । कक्षा आठ, नौमा पुगेपछि केही छात्र, छात्राको बिचमा प्रणय सम्बन्ध पनि गाँसिएको हुन्थ्यो । हाम्रो कक्षाका अमर घले र सम्झना घलेका बिच प्रेम सम्बन्ध गाँसिएर कक्षा दशमा पुग्दा बिहे भएको थियो । ऊनीहरु अहिले काठमाडौंमा सफल नर्सरी व्यवसायीका रुपमा स्थापित भएका छन् ।

यस बाहेक हामीसँग कक्षा छ, साततिर हुँदा गोरखाको सिर्दिबासबाट वीरवल घले लगायतका साथीहरु पढ्न आएका थिए । त्यतिबेलासम्म गोरखा जिल्लामा हाम्रो भेगमा आरुघाट भन्दा उत्तरको क्षेत्रमा माविहरु थिएनन् । सिर्दिबासका वीरबल घलेहरु भने एक वर्ष मात्र हाम्रो स्कूलमा पढेर गोरखा सदरमुकामको शक्ति माविमा पढ्न गएका थिए । कक्षा नौमा पुग्दा सँगै पढेका हाम्रा कतिपय साथीहरु रानिपौवा मावि, सल्यानटार, अचने मावि खहरे, दुल्लभ मावि घ्याम्पेसालतिर पढ्न गए । टाढाका गाउँबस्तीबाट हाम्रो स्कूलमा पढ्न आउने केही साथीको त मैले नाम भुलिसकेको छु ।यसरी नाम भुलिनेमा विशेषगरी अर्कै सेक्सनमा रहेका साथीहरु छन् ।

केही साथीहरुलाई स्कूल पढ्दा पढ्दै गुमाउनु परेको थियो । ऊनीहरुमा अञ्जु जोशी (कक्षा तीन), डिल बहादुर लामिछाने (कक्षा पाँच), सुनिल शाक्य (कक्षा सात), कुल बहादुर दरै र राम कुमार अमात्य (एसएलसी दिएपछि) हुन् । राम कुमार अमात्य त घ्याम्पेसालको स्कूलमा एसएलसीको तयारी गर्दैगर्दा र परीक्षा दिंदाको समयमा तीन महिना जति सँगै समेत बसेका थियौं । यस लेख लेख्दै गर्दा म ती साथीहरुलाई सम्झँदै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु ।

स्कूलमा विभिन्न जन्मजयन्ती र दिवसहरु मनाइन्थे । तिनमध्ये बाल दिवस (भदौ ४), साक्षरता दिवस (भदौ २४), रानी ऐश्वर्यको जन्म दिवस (कात्तिक २२), संविधान दिवस (पुष १), राजा वीरेन्द्रको जन्म दिवस (पुस १४), पृथ्वी जयन्ती (पुष २७), प्रजातन्त्र दिवस (फाल्गुन ७) स्कूलको जन्मदिवस (चैत ७) थिए । यी जन्मदिवस/जन्म जयन्तीहरुमा वादविवाद, वक्तृत्वकला, निबन्ध लेखन जस्ता प्रतियोगिताहरु आयोजना गरिन्थे । यस्ता धेरैजसो प्रतियोगिताहरुमा मेरो सहभागिता रहन्थ्यो । अन्तर सदनात्मक प्रतियोगिताहरुमा समेत भाग लिएर पुरस्कृत भई थुप्रै कापीकलमहरु जित्ने गरिन्थ्यो । कहिलेकाहीं त यसरी पुरस्कार पाइएका कापीकलमहरुले आधा वर्षकै गर्जो टार्थ्यो ।स्कूलमा भित्ते पत्रिका र खबरपाटी पनि चलाइएको थियो । भित्ते पत्रिकामा शिक्षक, विद्यार्थीका साहित्यिक रचनाहरु राखिन्थे भने खबरपाटीमा प्रत्येक दिनका प्रमुख समाचारहरु लेख्ने गरिन्थ्यो ।

गोरखा सदरमुकाममा भाग लिन गइएका विभिन्न जिल्लास्तरीय प्रतियोगिताहरुमा चाहिं वक्तृत्वकला प्रतियोगिता (कक्षा आठ र नौ), हाजिरी जवाफ प्रतियोगिता (कक्षा नौ), विज्ञान विषय र विज्ञान प्रदर्शनी (कक्षा दश) थिए । हाजिरी जवाफ प्रतियोगितामा म सहित कक्षा दशका भुपालमान श्रेष्ठ र भीम बहादुर गुरुङको टोली थियो । टोली प्रमुख म थिएँ । हामीलाई बोर्लाङ घर भएका नारायण श्रेष्ठ सर (हाल वडा अध्यक्ष, भीमसेन गाउँपालिका, वडा नं ७) ले वहाँको घर बोर्लाङ हुँदै गोरखा बजार लग्नुभएको थियो । यस प्रतियोगितामा हामी दोस्रो भएका थियौं ।

क्रमश…

वातावरणीय ईन्जिनियर श्रेष्ठ इन्भाइरोमेन्टल सर्भिसेस नेपाल, इएसएनमा आबद्ध छन् । उनी सल्लेरी खबरका नियमित स्तम्भकार हुन् ।

प्रतिक्रिया दिनुहोस्