Logo

प्यारो छोरा…



Spread the love

 

 

 

१४ माघ, २०७४

प्यारो छोरा,

मिठो सम्झना अनि असीम माया । यहाँ हामी सबै आरामै छौं । त्यहाँ, तिमीलाई पनि सन्चै होला भन्ने आशा गरेकी छु । थुप्रै सुन्दर सपनाहरु बोकेर काठमाडौँ गएका छौ । राम्रो भविष्यको लागि । काठमाडौँमा के गर्छौ, कसरि बसेका छौ, छिमेकी आफन्तले के भन्छन्,  हामीलाई केही मतलव छैन । हामी त बस् तिम्रो  उज्जवल भबिष्यको कामना गर्दछौं । तिमी ठूलो मान्छे भएको हर्न चाहन्छौं । उमेरसँगै शारीरिक कदले त जन्मने हरेक प्राणी ठूला हुन्छन्| तर मेरो छोरा चाहिं काम र कर्मले ठूलो मान्छे भएको हेर्ने ठूलो धोको छ, हाम्रो । बहिनीहरुले पनि धेरै सम्झिरहेका छन । मामा घरमा पनि सबै निकै आरामै हुनुहुन्छ।

तिमी घर छोडेर गएको पनि धेरै लामो समय भैसक्यो । खाने हरेक गासमा तिम्रो याद आउँछ| मासु किनेर ल्याउँदा, तिमी रोएको याद आउँछ। बिहान भालेको डाको हालेदेखी साँझपख झ्याउकिरी चिच्याउँदा सम्म तिमिलाई सम्झि रहन्छु। बर्खामासको सीतमा भिज्दै घाँस काट्दा तिमीलाई सम्झिन्छु । घरै तलबाट प्या’ प्या गराऊँदै गाडी रोकियो भने तिमी आएउ कि भनी हेर्छु| गाउँमा कोइ नयाँ मान्छे आएको देख्दा तिमी आएउ कि भन्ने सम्झिन्छु। चाडबाडमा मामा घर जाँदै गर्दा, तिमी मेरै पछीपछी भएको सम्झिन्छु।

पिठ्युमा पानीको गाग्री बोक्दै गर्दा, तिमि पछि पछि रुँदै पछ्याएको, आजै हो जस्तो लाग्छ। बिहान, दैलो लिप्दै गर्दा तिमी रुँदै छौ कि भन्ने लाग्छ। सियोमा मकै खसाल्दै गर्दा, तिमीलाई पिठयुमा बोकेको याद ताजै छन्। मायाको डेट कहिले एक्सपाएर कहिल्यै नहुने रैछ, बाबु। अहिले पनि त्यति नै माया लाग्छ। जति तिमि मेरो गर्भमै हुँदा लाग्थ्यो।

             अब, बहिनिहरु पनि ठुली भैसके। यिनीहरुलाई अह्राउने कोही छैन। बाजेलाई बुढेशकाल लागिसक्यो। पोहोर सालको जस्तो राम्ररी हिड्न पनि सक्नुहुन्न। बज्यैका आँखा पनि थप्पक्कै बसिसके। मान्छे राम्ररी चिन्न छोडीसक्नुभो। खर्च दिनानु दिन बढिरहेको छ। घरमा खर्च चलाउन निकै गाह्रो भैसक्यो। कमाउने पनि कोइ छैन। बुवाको कामले मात्रै घर धन्दा चलाउन गाह्रो भैसक्यो। बुवा पनि आफ्नै काममा व्यस्त भैरहुनुहुन्छ। घरबारीमा बन्सोका बुटा ठुला ठुला भएका छन्। खेत बारी जम्मै बाँझै राख्ने अवस्था आइसक्यो। हल गोरु जोरेर हलो समाइदिने कोहि छैन।

तिमीसँग बोल्न नपाएको धेरै भैसक्यो| न्यास्रो लाग्छ, तिमीलाई देख्न नपाउँदा। तिमीले क, ख… लेख्दै गर्दा भाचेको सिसा कलम अझै मेरो पुरानो चोलीको गोजीमा सुरक्षितै छ । त्यै हेरेर तिमीलाई सम्झिन्छु। कहिले काहीं, फोटो हेर्छु। लाग्छ, तिमी मसँगै छौ।

बाबु, शत्रु बैरीको अगाडी हाँसोको पात्र नबन्नु| घर सन्तानको इज्जतमा कहिले दाग लग्न नदिनु। तिम्रा हरेक इक्षा, आकांक्षाहरु पुरा हुँदै जाउँन, मेरो शुभेक्षा। दु:खमा कहिले नमात्तिनु। मिहिनेत र संघर्षका पाइलाहरु कहिले नबिराउनु, नरोक्नु। तिमीलाई थाहै छ। म भन्दा धेरै पढेका छौ। संसारका सबै सफल मान्छेहरु दु:खलाई जितेर भएका छन्। सुख भन्नु त केवल भ्रम मात्रै हो। जिन्दगी त दु:ख बिना एकपल पनि नचल्ने रैछ| श्रम गर्न कहिले लाज नमान्नु, नछोड्नु।

            काम गर्दै गर्दा विभिन्न किसिमका बाधा र अड्चन आउन सक्छन। यी तिमीलाई मात्रै हैन। सबैलाई आउँछन्। यसबाट एकरथी पनि नआत्तिनु। कुलतबाट टाढै रहनु। साथि बनाउँदा एकदमै ध्यान दिनु। राम्रा मान्छेसंग मात्रै संगत गर्नु। भरसक आफूभन्दा अग्रजहरुसंग लाग्नु। जुवा तास सिक्दै नासिक्नु। रक्सि, भट्टीदेखि टाढै रहनु। गुरु र अग्रजहरुले भनेको बाटोमा हिड्नु, बाबु। राजनीति भन्ने चिजबाट पनि टाढै रहनु।

            माया, प्रेमको चक्करमा नलाग्नु। ती सब पढेर, ठुलो मान्छे भएपछी गर्ने कुरा हुन। त्यो गर्ने पनि समय आउँछ। अरु घोडा चढ्यो भनेर, आफु मुढा कहिल्यै नचढ्नु। घाँटी हेरी हाड निल्नु। आफ्नो काममा ध्यान दिनु सकारात्मक सोचको विकास गर्नु। आफ्नो लक्ष नबिर्सनु। कहिल्यै कसैको कुभलो नाचिताउनु। अरुको लहलहमै लाग्ने काम नगर्नु। बाबु, गाउँबाट धेरैका छोराछोरी शहरमा पढ्न गएका छन्, तिमीजस्तै। धेरै बिग्रेका देखेकी छु। तर, मलाई विश्वास छ, तिमि त्यस्तो गर्दैनौ।

घर छेउमै रहेको पिपलको रुख पनि बुढो भईसक्यो। जुन तिमि भर्खर जन्मिदा टुसाएको मात्र थियो। तिमिलाई निद्रा नलागेको बखत तिमीलाई लोरी सुनाएको अहिल्यै हो जस्तो लाग्छ। तिमी ठुलो भैसकेछौ। मैले तिमीलाई जन्माउदै गर्दा जती पिडा भएको थियो। त्यो भन्दा बढी खुशी अहिले मलाई छ। मेरो छोरा सही बाटोमा हिडिरहेका छौ। बाबु, डेरामै बसेर राम्रोसँग पढ्नु। असल व्यवहार सिक्नु। गलत काम कहिले नगर्नु। ठुलो हैन, असल मान्छे बन्नु। सधैं यसरी नै कदम अगाडि बढाईरहनु।

बाबु,

म छु जस्तो लागेको दिन

तिमीलाई सम्झिन्छु!

मर्छु जस्तो लागेको दिन

तिमीलाई सम्झिन्छु!!!

-नवराज पराजुली

             आशा छ, तिमी छिट्टै नै आफ्नो उच्च शिक्षा आर्जन पुरा गरेर घर फर्किने छौ। हाम्रा सुखका दिन आउनेछन। तिम्रो जागिर हुनेछ। सुखी परिवार हुनेछ। विस्तारै मसँग खेल्ने नाति नातिना हुनेछन। मेरो संसार तिमी हौ, बाबु। बुढेसकालको शाहारा तिमीलाई सम्झेकी छु। बहिनिहरुको भविष्य पनि तिम्रै हातमा छ। हाम्रो भरोशा पनि तिमि हौ। आफ्नो स्वास्थ्य भन्दा ठूलो अर्थोक केही छैन । त्यसैले स्वास्थ्यको ख्याल राख्नु । समयमा खाना खानु। आमाले पत्रमा पनि यती धेरै किचकिच गरी नठान्नु है, बाबु। यी सब तिम्रै भलाईका निम्ती हुन। तिम्रै उज्वल भविष्यका लागि हुन्। स्वस्थ रहनु , व्यस्थ रहनु। सुखी रहनु। सदा खुसी रहनु। मेरो शुभ आशिर्वाद!!!

तिम्रो प्यारी आमा

 

 

माउण्ट बुद्ध मिडिया द्वारा सञ्चालित सल्लेरी खबर सूचना विभागमा २७ नम्बरमा दर्ता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्