Logo

जेलबाट छुटेपछि महिलालाई बलात्कार गरेर एचआइभी सारिदिए, बालिकालाई बलात्कार गरेर मारे



Spread the love

काठमाडौं। विभिन्न गम्भीर अपराधमा पटक पटक दोषी ठहर भएर सजाय काट्दै आएका एक अपराधीले आफू जेलबाट छुटेको भोलिपल्टै एक महिलालाई बलात्कार गरेर एचआइभी सारिदिए ।

त्यसलगत्तै उनले एक १३ वर्षकी बालिकालाई पहिले अपहरण गरे । त्यसपछि उनले बालिकालाई बलात्कार गरेर हत्या गरे । ती अपराधीले महिलालाई बलात्कार गरेको ८ दिनपछि बालिकाको हत्या गरेका थिए ।

द सनको रिपोर्टअनुसार ३८ वर्षका अलेक्जेन्डर ब्रेजनेभ रुसका हुन् । उनले आफ्नो जीवनको करिब आधा समय जेलमा बिताइसकेका छन् । उनी यसअघि लुटपाट, चोरी र अरुको शरीरलाई गम्भीर चोट पुर्याएको अभियोगमा पटक पटक दोषी ठहर भइसकेका छन् । अदालतमा भएको सुनुवाइको क्रममा बताइएअनुसार उनी यसअघि ८ पटक दोषी ठहर भएर जेल सजाय सुनाइसकिएका व्यक्ति हुन् ।

उनले आफू जेलबाट छुटेको भोलिपल्ट गएको जुन १६ का दिन एक बयस्क परिचित महिलालाई बलात्कार गरेका थिए । उनले महिलालाई आफ्नो बारे पुलिसलाई बताए मारिदिने धम्की दिएका थिए । एक रिपोर्टका अनुसार उनलाई आफू एचआइभी संक्रमित भएको समेत थाहा थियो र उनले जानीजानी महिलालाई एचआइभी संक्रमित गराइदिएका थिए ।

अर्को हप्ता उनले १३ वर्षकी स्कुले छात्रा युलिया क्लिमेन्कोभालाई पश्चिमी रुसको तुला राज्यको बोरोडिन्स्की गाउँमा रहेको स्थानीय ‘हाउस अफ कल्चर’ बाट अपहरण गरे । उनले बालिकालाई जंगलमा लगे । जंगलमा बालिकालाई कुटपिट गर्दै बलात्कार गरेको रिपोर्टमा उल्लेख छ । त्यसपछि उनले बालिकालाई पटक पटक चक्कुले हानेर मारेका थिए ।

बालिकाको शव तीन दिनपछि बरामद भएको थियो । त्यसको केही समयमै ब्रेझनेभ पनि पक्राउ परेका थिए । अदालतले उनलाई बलात्कार, यौन हिंसा, अरुलाई एचआइभी संक्रमित गराइदिएको, अपहरण, गम्भीर शारीरिक आक्रमण र बालिकाको हत्याको अभियोगमा दोषी ठहर गरेको छ । एक भिडियोमा अदालतमा उनलाई आजीवन कारावासको सजाय सुनाइएको देखिएको छ । उनलाई कठोर कारावासको सजाय सुनाइएको छ जसअनुसार उनी जेलबाट कहिल्यै पनि निस्किन पाउने सम्भावना रहँदैन । द सनबाट

प्रतिक्रिया दिनुहोस्