Logo

बोक्सी आरोपमा थाममा बाँधेर वृद्धामाथि कुटपिट



Spread the love

विराटनगर। मोरङको रतुवामाई नगरपालिका–२ डोरीयामा बोक्सीको आरोप लगाउँदै एक वृद्धा महिलामाथि परिवारका सदस्य मिलेर सामूहिक आक्रमण गरेका छन् । 

प्रहरीका अनुसार एउटै परिवारका पाँचजनाले थाममा बाँधेर गरेको अमानवीय हिसाबको आक्रमणबाट ६० वर्षीया वृद्धा गम्भीर घाइते भएकी छन् । अनुहार, हात, खुट्टा, ढाडलगायत शरीरका विभिन्न भागमा गहिरो चोट लागेको छ ।

कुटाईका कारण बोल्न पनि नसक्ने अवस्थामा पुगेकी वृद्धाको सबैभन्दा धेरै चोट अनुहारमा लागेको छ । गम्भीर अवस्थाकी उनलाई उपचारका लागि विराटनगरको कोसी अस्पतालमा भर्ना गरिएको छ । 

उपचारका लागि भर्ना गर्दा चोटपटक लागेको ठाउँबाट भलभली रगत बगिरहेको थियो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार कुटपिटबाट शरीरका विभिन्न अङ्गमा लागेको चोटबाट बगेको रगत वृद्धाले लगाएका कपडाभरी लागेको छ ।

‘बोक्सीको आरोप लगाउँदै गाईवस्तु बाँध्ने थाममा बाँधेर अमानवीय ढंगले वृद्धामाथि सामूहिक आक्रमण गरेको पाइयो,’ उनले भने, ‘घटनाका बारेमा चाल पाउनसाथ उद्धार गर्दै वृद्धालाई उपचारका लागि अस्पताल लगियो ।’

उनका अनुसार उपचारमा संलग्न चिकित्सकले अवस्था खतरामुक्त रहेको बताए पनि निर्घात कुटपिट गरिएका कारण वृद्धाअवस्थाकी उनी निक्कै थलिएकी छन् । डीएसपी राईका अनुसार शुक्रबार राति १० बजेतिर भएको कुटपिट र आक्रमणबाट बेहोस बनेकी उनी राम्ररी बोल्न सक्ने अवस्थामा छैनन् ।

उठ्नलाई अर्कैको सहारा चाहिने वृद्धा घटनाका बारेमा बताउन सक्ने अवस्थामा नरहेको डीएसपी राईले बताए । डोरीयाका ६५ वर्षीय भीमलालसिंह गनगाईं,६० वर्षीय जितनलालसिंह गनगाईं, ५० वर्षीय लखनलालसिंह गनगाईं, २७ वर्षीय लक्ष्मीप्रसादसिंह गनगाईं र १९ वर्षीया हैरानी गनगाईं मिलेर कुटपिट गरेको जानकारी उनले दिए ।

कुटपिट गर्नेमध्ये भीमलाल, जितनलाल र लखनलाल एउटै परिवारका दाजु–भाइ हुन् । लक्ष्मीप्रसाद उनीहरुका जेठा दाजु श्यामलालसिंह गनगाईंका छोरा हुन् । श्यामलालको भने यसअघि नै निधन भइसकेको छ । हैरानी भीमलालकी छोरी हुन् । 

घटना अनुसार हैरानीकी दिदी पुनमदेवी गनगाईंसँग वृद्धाको झगडा परेको थियो । त्यही रिसईबीका कारण बोक्सीको आरोप लगाउँदै वृद्धामाथि कुटपिट भएको पाइएको प्रहरीले जनाएको छ । खाना खाएर राति सुतिसकेपछि होहल्ला गर्दै आएका गनगाईं परिवारका सदस्यले घरैबाट उठाएर लग्दै जितनलालको घरनजिकको गाई बाँध्ने गोठ (पाली)मा पु¥याएर थाममा बाँध्दै एक घण्टासम्म निर्घात कुटपिट गरेर बेहोस बनाएको वृद्धाका श्रीमानले प्रहरीलाई बताएका छन् । 

घरमा सुतिरहेकी श्रीमतीलाई बोक्सी होस् भन्दै जबरजस्ती उठाएर लगी कुटेर बेहोस बनाएको देखेपछि घटनाका बारेमा आफूले गाउँलेलाई खबर गरेर प्रहरीलाई जानकारी दिएको उनले बताए । उनले थाममा बाँधेर कुटपिट गरेपछि अचेत बनाएर छाडिदिएको अवस्थामा श्रीमतीलाई आफूले पाएको पनि बताए ।

उनका अनुसार बोक्सी रहेको र टुनामुना लगाएका कारण बिसन्चो हुने गरेको भन्दै श्रीमतीमाथि गनगाईं परिवारले बारम्बार दुरव्यवहार गर्ने गरेका थिए । श्रीमतीमाथि अमानवीय तरिकाले कुटपिट गर्नेविरुद्ध उनले प्रहरीमा किटानी जाहेरी दिएका छन् । 

घटनामा संलग्नमध्ये लखनलाल र हैरानी पक्राउ परेका छन् । उनीहरुविरुद्ध बोक्सी आरोपको कसूरमा मुद्दा चलाउन अदालतबाट आइतबार म्याद थप गरेर घटनाको बाँकी अनुसन्धान अघि बढाइएको जानकारी डीएसपी राईले दिए । घटनामा संलग्न अन्य तीन जना फरार रहेका कारण खोजी तीव्र पारिएको उनको भनाइ छ । 

वृद्धका दुई छोरी र एक छोरा छन् । तीनै जनाको बिहे भइसकेको छ । बिहेपछि छोरा छुट्टिएर अलग्गै बस्ने गरेका कारण घरमा उनी र वृद्ध अवस्थाका श्रीमान मात्रै बस्थे । 

वडा अध्यक्ष किरणसिंह गनगाईंले बोक्सीको आरोपमा कुटपिट नभएको दाबी गर्दै पीडकहरुकै पक्षमा बोलेर घटनालाई ढाकछोपको प्रयास गरेका छन् । उनका अनुसार दुई परिवारबीच विगतदेखि नै जग्गाको सिमानाका विषयमा विवाद थियो । ‘जग्गाकै विषयमा दिउँसो पनि विवाद भएको पाइयो ।

त्यही निहुँमा राति घरबाट ल्याएर वृद्धामाथि कुटपिट गरिए छ,’ उनले भने, ‘जग्गाको विषयमा झगडा भएको हो । बोक्सी आरोप लगाएर कुटपिट गरिएको हैन ।’

वडा अध्यक्ष गनगाईंले घाइतेलाई उपचारका लागि अस्पताल लगिएको र निको भएर आइसकेपछि गाउँमै छलफल गरेर घटना मिलाइने पनि बताए । ‘यो त्यत्रो ठूलो घटना हैन,’ उनले भने, ‘जे भए पनि कुटपिट भएका कारण उपचार गरेर निको भई बिरामी फर्किएपछि गाउँमै छलफल राखेर आगामी दिनमा घटना हुने सर्तमा दुई पक्षबीच मिलापत्र गरिने छ ।’ उनले वृद्धामा पहिल्यैदेखि रहेको मानसिक समस्याका कारण यस्तो घटना निम्तिएको दाबी गरे । 

आफू पीडित भएकाले वृद्धाले बोक्सीको आरोपमा कुटपिट गरियो भनेर आरोप लगाएको जिकिर वडा अध्यक्ष गनगाईंले गरेका छन् । ‘अर्कै परिवेशले घटना निम्तियो,’ उनले भने, ‘तर कुटपिट भइसकेपछि घटनालाई बोक्सी आरोपजस्तो जघन्य अपराधमा परिणत गर्ने कोसिस भयो ।’ वृद्धा नै गालीगलौजमा उत्रिएपछि उनीमाथि कुटपिट भएको दाबी उनले गरेका छन् । अन्नपूर्णबाट

प्रतिक्रिया दिनुहोस्