Logo

युनिभर्सल इन्जिनियरिङ एण्ड साइन्स कलेजद्वारा आयोजित अनुसन्धान विशेष कार्यशाला सम्पन्न



Spread the love

अनुसन्धानमा आधारित शिक्षामा जोड दिने अठोटस्वरुप युनिभर्सल इन्जिनियरिङ एण्ड साइन्स कलेजले फागुन २६ देखि चैत्र १ सम्मको ‘चार दिने अनुसन्धान डिजाइन तथा कार्यान्वयन’ विशेष कार्यशाला सम्पन्न गरेको छ। युनिभर्सल इन्जिनियरिङ एण्ड साइन्स कलेजको आयोजना तथा भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (एनसेट), इन्टरडिसिप्लिनरी रिसर्च इन्टिच्युट फर सस्ट्यानाबिलिटी (आइरिस) र लाइन एकेडेमीको सहकार्यमा सञ्चालित उक्त कार्यशालामा अनुसन्धानमा रुचि भएका करिब ३५ जना इन्जिनियरहरू सहभागी भएका थिए। सहभागीहरूमा पोखरा विश्वविद्यालय अन्तर्गतका ४ इन्जिनियरिङ कलेज (युनिभर्सल इन्जिनियरिङ एण्ड साइन्स कलेज, एभरेष्ट कलेज, कसमस कलेज, एनसिआइटी) का २५ जना शिक्षकहरू, एनसेटका ५ इन्जिनियरहरू र त्रिभुवन विश्वविद्यालय अन्तर्गत आइओईका ५ ग्राजुयट विद्यार्थीहरू रहेका थिए। युनिभर्सल इन्जिनियरिङ एण्ड साइन्स कलेज व्यवस्थापन समिति अध्यक्ष डा. आमोद मणि दीक्षितको अध्यक्षता एवम् नेपाल इन्जिनियरिङ काउन्सिलका अध्यक्ष ई. डिल्ली रमण निरौलाको प्रमुख आतिथ्यतामा कार्यक्रमको समुद्घाटन भएको थियो। उद्घाटन सत्रमा बोल्दै काउन्सिल अध्यक्ष ई. निरौलाले यस्ता कार्यशालाले दक्ष इन्जिनियरहरू उत्पादन गर्न सघाउने र पछि गएर देशका ठूला परियोजनामा संलग्न हुन सकिने बताए। युनिभर्सलले सुरु गरेको यो सुन्दर कदम विस्तारै अरू सबै कलेजहरूले समेत अबलम्बन गर्नु पर्ने उनको आग्रह रहेको छ।

वर्कशपमा इन्जिनियरिङ अनुसन्धान क्षेत्रमा ठुलो योगदान पुर्याइरहेका दिग्गजहरू त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. विष्णु प्रसाद पाण्डे, इहिमी विश्वविद्यालय जापानका प्राध्यापक डा. नेत्र प्रकाश भण्डारी, बिजिसी इन्जिनियरिङ क्यानडाका सिनियर जियोकेट इन्जिनियर डा. केशब शर्मा र आइरिसका अनुसन्धानकर्ता ई. दिपेन्द्र गौतमले प्रशिक्षण गराएका थिए।

कार्यक्रम दुई दिन प्रत्यक्ष उपस्थितिमा एनसेट भवन भैसेपाटीमा र दुई दिन भर्चुअल जुम माध्यममा सञ्चालन भएको थियो। यसमा अनुसन्धानबारे कसरी सोच विकास गर्ने, यसको बुझाइ, कोअर्डिनेसन स्केमा र आउटलाइन डिजाइन, लेखन, प्रस्तुतिकरणका साथसाथै अनुसन्धानको अन्तर्राष्ट्रिय अभ्यासबारे समेत सिकाइएको थियो। ३५ सहभागीहरूलाई अनुसन्धानका विषयवस्तुका आधारमा ५ वटा समूहमा विभाजन गर्दै ह्यान्ड्स-अन ट्रेनिङ दिइयो। जसमा सबैजनाले कार्यशालाकै दौरान नयाँ अनुसन्धान पेपरको आइडिया, ढाँचा र कन्टेन्ट तयार पार्नुका साथै त्यसलाई प्रस्तुत पनि गरेका थिए। यसका साथै कार्यक्रममा अनुसन्धानको नतिजालाई कसरी डिसिमिनेट गर्ने भन्नेबारे पनि छलफल गरिएको थियो। नेपालमा पहिलो कुरा त अनुसन्धानमैत्री वातावरण कै अभाव खड्किएको र त्यसमा पनि गरिएका अनुसन्धानको समेत समुचित कार्यान्वयन हुन नसक्दा ठूलो समस्या देखापरेको छ। यही समस्यालाई समाधान गर्ने प्रयासको रुपमा कार्यशालाको सुरुवात गरिएको बताइएको छ। कार्यशालाले अनुसन्धानमा रुचि भएका, गरिरहेका र गर्ने-गराउने सोच बनाएका सबै सहभागीहरूलाई नयाँ उर्जा, प्रेरणा एवं सुदृढिकरण प्रदान गरेको छ। यसैगरी, कार्यशालामा सहकार्य संस्था भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (एनसेट) बाट डा. रमेश गुरागाईंले अनुसन्धानका लागि एनसेटले गरेको प्रयास र आउँदा दिनहरूमा युनिभर्सल सँगसँगै अन्य कलेजहरूसँग पनि सहकार्य गर्दै जाने कुरा प्रष्ट्याएका थिए। 

युनिभर्सल इन्जिनियरिङ एण्ड साइन्स कलेज अन्तर्गत ‘सेन्टर फर अप्लाइड साइन्स’ द्वारा प्रस्तावित यस कार्यशाला सँगसँगै भविष्यमा पनि अनुसन्धान क्षमता सुदृढ पार्न चाहने सबैलाई सहयोग गरिने यसका योजनाकार एवं कलेजका डाइरेक्टर अवनी मणि दीक्षितले बताए। उनले भने,”यति मात्रै नभएर ‘सेन्टर फर अप्लाइड साइन्स’ मार्फत हामीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरूसँग पनि सहकार्य गर्दै अनुसन्धान र ट्रेनिङ-कार्यशालाका लागि विशेष पहल गर्दै जानेछौं।“

कार्यशालाको प्रभावकारिताबारे बोल्ने क्रममा हिमालय इन्जिनियरिङ कलेजकी डा. शान्तिकला सुवेदीले आफूले पि.एच.डी गर्नेक्रममा भन्दा बढी कुरा कार्यशाला मार्फत् सिक्न पाएको बताएकी छन्। उनले भनिन्,”नेपालमा अनुसन्धानको संस्कार बसाल्न एकदमै जरूरी छ। यसको सुरुवात युनिभर्सलले गरेको छ। अबको यात्रामा हिमालय कलेजको प्रतिनिधिको नाताले हामी सबै कसरी सँगै अगाडि बढ्न सकिन्छ, म तयार छु।“ यसैगरी सहभागी मध्येका अर्का प्रतिनिधि युनिभर्सल कलेजका सिभिल विभाग प्रमुख ई. गजेन्द्र कुमार झाले आफूमा यो कार्यशालाले रिसर्च प्रतिको बुझाइलाई परिष्कृत गरेको बताए। उनी थप्छन्,”शिक्षण संस्थाहरूमा अनुसन्धानको वातावरण ल्याउन केवल एउटा कलेज (युनिभर्सल) ले पाइला चालेर मात्र हुँदैन, अब विश्वविद्यालय स्तरबाटै यसको महत्व बुझिनु पर्छ।“

कार्यशालामा अधिकांश सहभागी इन्जिनियरिङ कलेजका शिक्षकहरू थिए। यसका पछाडिको कारणबारे सोध्दा आयोजक समितिका सदस्य एवं कलेजका डाइरेक्टर ई. मन्दीप सुबेदीले भने,”शिक्षकहरूलाई ट्रेनिङ दियो भने उहाँहरू मार्फत् अन्य थुप्रै विद्यार्थीहरूमाझ अनुसन्धान गर्ने प्रकृया, यसको डिजाइन, लेखन र हाम्रो सन्दर्भमा यसको महत्वबारेमा प्रभावकारी रुपमा पुर्याउन सकिने भएको हुँदा पहिलो चरणमा उहाँहरूलाई चुनिएको हो। विस्तारै अझै थुप्रै शिक्षक, विद्यार्थी, इन्जिनियरिङमा लागिरहनुभएका इन्जिनियर ज्यूहरुमाझ यसलाई फैलाउँदै जाने हाम्रो सोच रहेको छ।“    

कार्यक्रमको समापन सत्रमा उपस्थित पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेम नारायण अर्यालले अनुसन्धान विशेष कार्यशाला आयोजना गरेकोमा युनिभर्सललाई धन्यवाद दिदैं यसले आफूलाई अझ उत्साहित गरेको बताए। एउटा भयानक तथ्यांकलाई कोट गर्दै उनले भने,”एक अध्ययनले देखाएको छ कि सन २०३० सम्ममा हाम्रा विश्वविद्यालयले पढाएका कुराहरूमध्ये झण्डै ५९ प्रतिशत काम नलाग्ने हुनेछन्। यसले पनि देखाउँछ कि हाम्रा पाठ्यक्रम परिमार्जन गर्न कति आवश्यक भैसकेको छ भनेर। त्यसैले अनुसन्धानमा आधारित शिक्षामा जानु बाहेक अरु बिकल्प नै छैन।“ कार्यशालामा उपस्थिति जनाउने सबै सहभागीहरू, प्रशिक्षकहरू, सहयोगी संस्थाहरू एवम् उपस्थित सबैलाई कलेजका प्रिन्सिपल डा. भेष राज थापाले कृतज्ञता व्यक्त गरे। अनुसन्धानमैत्री शिक्षालाई अभिप्रेरित गर्न एउटा विश्वविद्यालय, कलेज, एनजिओ (गैरनाफामुलक), अनुसन्धान सेन्टर र प्राइभेट सेक्टर सबैजना एकताबद्ध भएर सञ्चालन गरेको यस कार्यक्रमले छुट्टै खालको सन्देश दिएको डा. थापाले दाबी गरे।

कार्यशाला समीक्षा र समापन मन्तव्यकै क्रममा युनिभर्सल इन्जिनियरिङ एण्ड साइन्स कलेजका व्यवस्थापन समिति अध्यक्ष एवम् भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (एनसेट) का  अध्यक्ष डा. आमोद मणि दीक्षितले देशको अपेक्षा र आवश्यकता एकातिर तर हाम्रो सिकाइ अर्कोतिर नहोस् भन्ने कुरालाई मध्यनजर गर्दै अनुसन्धान र यसको कार्यान्वयनबारे सिकाउन कार्यशालाको आयोजना गरिएको प्रष्ट पारे। हामीले अब ‘अनुसन्धानमुखी स्कुल अफ थट’को विकास गर्नु पर्ने उनको भनाइ छ। यसकालागि विश्वविद्यालय, शिक्षण संस्थाहरू र शिक्षक-विद्यार्थी सबैजनाको उत्साह र अठोट भयो भने छिट्टै नै हामीले अनुसन्धानको संस्कार बसाल्न सकिने डा. दीक्षितको दाबी छ। उनले भने,”एनसेटमा रहँदा हामीले संस्थागत तहबाट अनुसन्धान र त्यसको कार्यान्वयनमा धेरै काम गर्ने मौका पायौं। तर, ती अनुसन्धानमुलक कुराहरू एकेडेमिया सम्म लिंक हुन सकेनन्। जसले गर्दा मैले के अनुभूति गरें भने, जबसम्म एकेडेमिया तहबाट अनुसन्धानको संस्कार बसालिदैन, तबसम्म देशले विकासको मुल मुहार बदल्न सक्दैन। त्यसैले म, मेरो त्यही सिकाइ-भोगाइलाई एकेडेमियासँग जोड्दै सबैजनासँग हातेमालो गर्दै सुरुमा इन्जिनियरिङ क्षेत्रमा र विस्तारै देशैभरी सबै क्षेत्रमा पुग्ने गरी अनुसन्धानलाई संस्थागत गर्ने यात्रामा लागेको छु। It is just our Start of the Beginning, and Beginning of the Start.“

प्रतिक्रिया दिनुहोस्