३ चैत, एजेन्सी । भारतमा बलात्कारको एउटा डरलाग्दो घटना बाहिरिएको छ । भारतको राजस्थानस्थित कोटकी एक जना १५ वर्षीया बालिकामाथि १८ जनाभन्दा धेरैले ९ दिनसम्म बलात्कार गरेको घटना बाहिरिएको हो ।
दैनिक भाष्कारमा प्रकाशित समाचार अनुसार ती बालिकालाई अनेक प्रकारका नशालु पदार्थ प्रयोग गरी डर त्रास देखाएर बारबार बलात्कार गरिएको हो ।
ती बालिकाले घर जाने भन्दा चक्कु देखाएर डर देखाउँदै बलात्कार गरिएको दैनिक भाष्करले उल्लेख गरेको छ ।
पिडीत बालिकाका अनुसार उनले चिनेकै २ जनाले झोला दिने बहानामा २५ फेब्रुअरीमा उनलाई घरबाट लगेका थिए । त्यसपछि ती बालिकालाई झालवाड लगियो र घर, होटल, निर्माणाधीन घर तथा खेतमा लगेर ९ दिनसम्म बलात्कार गरियो ।
उनी मार्च ५ तारिखमा घर फर्किएकी छिन् । उनलाई बलात्कार गर्नेमध्ये कसैले घरसम्म ल्याएर छोडेका थिए ।
घर फर्किएको भोलिपल्ट अर्थात् मार्च ६ तारिखमा प्रहरी चाैकीमा उजुरी गर्न जाँदा प्रहरीले उजुरी दर्ता गर्न नमानेको पिडीत पक्षले आरोप लगाएका छन् ।