Logo

मुख्यमन्त्री राईले तोडे



Spread the love

काठमाडौं । कोरोना संक्रमणको जोखिम बढेको भन्दै सरकारले भीडभाड नगर्न र घरभित्रै सीमित संख्यामा फागु (होली) मनाउन गरेको आग्रह मुख्यमन्त्री शेरधन राईले अवज्ञा गरेका छन् ।

कोरोनाको कारण यस वर्षको होली घरभित्रै सीमित राख्न गृहमन्त्रालयले आग्रह गरेको थियो । तर सरकारको आग्रह विपरित भीडभाड हुनेगरी मुख्यमन्त्री राईले होली मनाएको फोटो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

मुख्यमन्त्री राई बिराटनगरमा उद्योग संगठन मोरङले आयोजना गरेको होली मिलन कार्यक्रममा शुभकामना दिन समेत पुगेका थिए । त्यहाँ उनले शुभकामना दिएर अबिरको टीको मात्र लगाएनन् बरु मस्कदै मज्जाले थरीथरीका रंङग दलादल गरेर होली खेलेको देखिन्छ । उनले भीड भएको ठाउँमा आयोजित कार्यक्रममा सहभागी हुँदा सामान्य मास्क समेत प्रयोग गरेका छैनन् ।

कोरोनाको दोस्रो लहर शुरु भएसँगै देशभरी संक्रमितको संख्या बढिरहेको छ । त्यसैले सरकारले भीडभाड नगर्न र स्वास्थ्य सुरक्षाको मापदण्डको कडाइका साथ पालना गर्न सबैलाई निर्देशन गरेको छ । आमनागरिकलाई समेत स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गराउन भूमिका खेल्नुपर्ने मुख्यमन्त्री आफैँ भीडभाड गर्दै हिंडेपछि अहिले उनको आलोचना भएको हो ।

यता, होली खेल्ने क्रममा भीडभाड गरेको भन्दै प्रहरीले देशभरबाट ठूलो संख्यामा सर्वसाधारणलाई भने पक्राउ गरेको छ । काठमाडौँमा मात्रै सयौंको संख्यामा सर्वसाधारण पक्राउ परेका थिए ।

भीडभाड हुन नदिने नाममा सर्वसाधारणलाई घरबाहिर निस्कन रोकेको सरकारले तामझामसहित मुख्यमन्त्रीले गरेको भीडभाडमाथि चासो नदिनुले ‘सानालाई ऐन, ठूलालाई चैन’ भनेजस्तै भएको छ । जनआस्थाबाट

प्रतिक्रिया दिनुहोस्