Logo

त्रिवि वन विज्ञान संस्थान पोखरामा २६औं राष्ट्रिय वन्यजन्तु सप्ताहको तयारी



Spread the love

२९ चैत, पोखरा । त्रिभुवन विश्वविद्यालय वन विज्ञान अध्ययन संस्थान, पोखरामा रहेका सक्रिय हरित संस्थाहरुले २६औं वन्यजन्तु सप्ताह नयाँ वर्षमा मनाउने भएका छन् ।

त्यहाँ सक्रिय रहेका वन्यजन्तु अनुसन्धान तथा संरक्षण समाज, एलुम्नी एसोसिएसन फर कन्जर्भेसन एन्ड डेभलपमेन्ट, वन तथा वातावरणका लागि विद्यार्थी समाज-नेपाल, स्वयंसेवी वातावरण जागरण समूह लगायतका संस्थाहरुको संयुक्त आयोजनामा २६औं वन्यजन्तु सप्ताह नयाँ वर्ष अर्थात् २०७८ वैशाख पहिलो सातामा मनाइने भएको हो ।

हरेक वर्ष वैशाख १ गते देखि वैशाख ७ गतेसम्म मनाइने वन्यजन्तु सप्ताहमा यो पटक पनि वन, वन्यजन्तु तथा वातावरण संरक्षण सम्बन्धि विविध कार्यक्रमहरु सञ्चालन गरि मनाउन लागिएको हो । मुलुक नै डढेलोबाट ग्रसित भएको यस समयमा वन विज्ञानमा अध्ययनरत विद्यार्थीहरुले डढेलो र त्यसले वातावरण तथा वन्यजन्तुमा पार्ने असरबारे नाटक देखाउने कार्यक्रम रहेको छ । त्यस्तै, भोलीका देशका कर्णधारहरुलाई वन्यजन्तुबारे ज्ञान दिने हेतुले अन्तर्विद्यालय वन्यजन्तु वृत्तचित्र प्रदर्शनीका र चित्रकला प्रतियोगिता लगायतका कार्यक्रमहरु आयोजना गरिने कार्यक्रमका संयोजक प्रवेशचन्द्र घिमिरेले जानकारी दिएका छन् ।

यस सप्ताहमा आयोजना गरिने विभिन्न कार्यक्रममा इच्छुक स्कुल कलेजका विद्यार्थी र स्थानीय व्यक्तित्वहरुले सहभागीता जनाउन सक्नेछन् ।सबैले वातावरण तथा वन्यजन्तु संरक्षणमा ध्यान दिई यसमा आईपरेका असरहरुको न्यूनीकरणमा लाग्नुपर्छ भन्ने संदेश यस सप्ताहले दिने आयोजक पक्षले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्