Logo

कोरोना संक्रमण देखिएका विद्यालय एक हप्ता बन्द गर्न काठमाडौं महानगरको निर्देशन



Spread the love

३ बैशाख, काठमाडौं। काठमाडौं महानगरपालिकाले विद्यार्थी, शिक्षक वा अन्य कर्मचारीमा कोभिड–१९ को संक्रमण पुष्टि भए मात्र विद्यालय बन्द गर्ने भएको छ ।

महानगरभित्रका विद्यालयमा कोभिड-१९ संक्रमणको जोखिम कम गर्न विद्यालय बन्द गर्ने निर्णय गरिएकाे महानगरले शुक्रबार विज्ञप्ति निकालेर जानकारी दिएकाे छ । बालबालिकामा संक्रमणको जोखिम बढी हुने भएकाले नै विद्यालय बन्द गर्नुपर्ने परिस्थिती आएको विज्ञप्तिमा उल्लेख छ ।

कामपाले एक विज्ञप्ति जारी गर्दै कुनै पनि विद्यालयमा कोरोना संक्रमण देखिए एक साताका लागि बन्द गर्न सक्ने निर्णय गरेको छ । यसरी बन्द गरिएका विद्यालयमा वैकल्पिक माध्ययमबाट शिक्षण सिकाइ गर्न, गराउन पनि कामपाको शिक्षा अधिकारी रामप्रसाद सुवेदीबाट शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ ।

संक्रमण नदेखिएका अवस्थामा विद्यालयमा सामाजिक दूरी कायम गर्ने, मास्क अनिवार्य प्रयोग तथा साबुन पानीले पटक–पटक हात धुने, स्यानिटाइजरको प्रयोग गर्नेलगायत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट विगतमा जारी गरिएका मापदण्डको कडाइका साथ पालना गरी अभिभावकको सहमतिमा विद्यालय सञ्चालन गर्न विज्ञप्तिमा भनिएको छ ।

स्वास्थ्य मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै अति प्रभावित १४ जिल्लाका विद्यार्थीलाई विद्यालय नजान र भिडभाड हुने क्षेत्र र क्रियाकलाप बन्द गर्न अपिल गरिसकेको छ । शुक्रबार नै काठमाडौँ महानगरपालिकाले विद्यार्थी, शिक्षक अथवा कर्मचारीमा कोरोना संंक्रमण पुष्टि भएका विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्