Logo

अझै टुंगिएन कांग्रेसमा किचलो



Spread the love

६ बैशाख, काठमाडौं। नेपाली कांग्रेसमा क्रियाशील सदस्यता नवीकरण र वितरणका विषयमा सभापति शेरबहादुर देउवा र इतर पक्षबीच सहमति जुट्न नसक्दा आइतबार पनि केन्द्रीय समितिको बैठक बस्न सकेन।

पदाधिकारीबीच सदस्यता वितरणमा सहमति जुट्न नसकेपछि केन्द्रीय समिति बैठक सरेको हो। पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार दिउँसो केन्द्रीय समिति बैठक बोलाइएको थियो। केन्द्रीय समिति बैठक बस्नुअघि पदाधिकारीबीच छलफल भएको थियो।

संस्थापन र इतर पक्षका नेताहरूबीच सदस्यता वितरणका लागि कटअप डेट (अन्तिम मिति) तोकेर जानुपर्ने प्रस्ताव सदस्यता छानबिन समितिले गरेको थियो। त्यसमा नेता रामचन्द्र पौडेलसहित असन्तुष्ट पक्षले सहमति जनाएका थिए। तर संस्थापन पक्ष सदस्यता वितरणका क्रममा समस्या देखिएका जिल्ला र समस्या नभएका जिल्लालाई दुई भागमा वर्गीकरण गरी मिति तोक्नुपर्ने पक्षमा उभिएपछि सहमति हुन नसकेको हो। पदाधिकारी बैठकमा दुवै पक्ष आआफ्नो अडानमा कायमै रहँदा सदस्यता वितरण कहिलेसम्म गर्ने भन्ने टुंगो लाग्न नसकेको हो।

त्यस्तै सदस्यता वितरणमा समस्याग्रस्त प्रदेश २ का रौतहट र महोत्तरीबाहेकका जिल्ला तथा काभ्रे र सिन्धुपाल्चोकका विषयमा पनि नेताहरूबीच सहमति जुट्न सकेको छैन। संस्थापन पक्ष क्रियाशील सदस्यता वितरण अघि बढ्न नसकेका सात जिल्लामा केन्द्रीय प्रतिनिधि पठाउन चाहन्छ। तर संस्थापन इतर समूह भने केन्द्रीय प्रतिनिधि पठाउने पक्षमा छैन। निर्वाचन समितिलाई नै जिम्मेवारी दिएर अघि बढ्नुपर्ने संस्थापन इतर समूहको बुझाइ छ। नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्