Logo

भव्य समारोहबीच चितवनको अयोध्यामा राम सीताको मूर्ति प्रतिस्थापन



Spread the love

८ चैत, चितवन । माडीको अयोध्याधाममा भव्य समारोहबीच राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति प्रतिस्थापन गरिएको छ । अयोध्याधाममा आज आयोजित समारोहमा धार्मिक गुरुहरु, जनप्रतिनिधि र स्थानीयको उपस्थितिमा मूर्ति प्रतिस्थापन गरिएको हो ।

बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष पूजा गरी हस्तान्तरण गरेका मूर्ति आज अयोध्याधाम पुर्याई त्यहाँ निर्माण गरिएको मन्दिरमा प्रतिस्थापन गरिएको हो । सो अवसरमा प्रदेश नं ३ का प्रमुख विष्णु प्रसाई, प्रदेश नं २ का प्रमुख राजेश अहिराज, पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाल, वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललगायतको उपस्थिति थियो ।

कार्यक्रममा मन्त्री ढकालले धार्मिक पर्यटनका लागि यो कार्य महत्वपूर्ण सावित हुने बताए । उनले राम नेपालकै पुत्र भएको बताउँदै भने, “धर्मशास्त्रमा पवित्र तीर्थस्थल देवघाटमा रामले स्नान गरेको उल्लेख छ ।” राजनीतिक आग्रह पूर्वाग्रहले नभई धर्मशास्त्रमा तथ्यले पुष्टि गरेका कारण राम माडीको अयोध्यापुरीमा नै जन्मिएको उनको दाबी थियो ।

सो अवसरमा वाग्मती प्रदेशका मुख्यमन्त्री पौडेलले माडीलाई मणि बनाउन केन्द्र र प्रदेश सरकार लागिपरेको बताए । उनले यस क्षेत्रको विकासका लागि कोही बाधक बन्न नहुने बताउँदै भने, “पर्यटन प्रवद्र्धनमा यो कार्यले महत्वपूर्ण भूमिका खेल्ने छ ।” अयोध्याधाम व्यवस्थापन समितिका संयोजक तीर्थ भुसालको अध्यक्षतामा भएको कार्यक्रममा माडी नगरपालिकाका प्रमुख ठाकुर ढकाल, अयोध्याधाम अनुसन्धानकर्ता लोकमणि पौडेल, माडी नगरपालिकाका उपप्रमुख ताराकाजी महतोलगायतले धामको विकासमा सबैको सहयोग आवश्यक पर्ने बताए ।

बाजागाजा र भजनकीर्तनसहित मूर्ति प्रतिस्थापन गरिएको थियो । सो अवसरमा पण्डित सुदर्शन सुवेदीले विशेष पूजा गराएका थिए । यसअघि मूर्तिसहितको शोभायात्रालाई माडीका स्थानीयले सडकका ठाउँठाउँमा स्वागतद्वार र घडा सजाएर स्वागत गरेका थिए भने विभिन्न चोकचोकमा भजनकीर्तन गरेका थिए ।

मङ्गलबार साँझ देवघाट आइपुगेको सो शोभायात्रा आज बिहान संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री ढकाल, गलेश्वर आश्रमका पिठाधीश महामण्डलेश्वर आत्मानन्द गिरी जि महाराज, देवघाट क्षेत्र विकास समितिका पदाधिकारीसहितको उपस्थितिमा स्वस्थी वाचनसहित बिदाइ गरिएको थियो । बिहान देवघाट सङ्गमस्थलको पवित्र जलले जलाभिषेकसँगै मूर्तिलाई देवघाटबाट बिदाइ गरिएको हो ।

गत असार २९ गते प्रधानमन्त्री केपी शर्मा ओलीले रामको जन्म माडीको अयोध्यापुरीमा भएको भन्ने अभिव्यक्ति दिएपछि त्यहाँ राम मन्दिर स्थापना गर्ने प्रक्रिया शुरू भएको थियो । प्रधानमन्त्री ओलीको निर्देशनमा तीन महिना अगाडि नै बालुवाटारमा राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति निर्माण गरिएको थियो । मूर्तिलाई मङ्गलबार पशुपतिनाथ मन्दिरको परिसरमा रहेको राम मन्दिरमा लगेर स्वस्ति वाचन र मन्त्र उच्चारणसहित पूजा गरेर ल्याइएको हो ।

प्रतिक्रिया दिनुहोस्