Logo

कोरोना रोकथाम गर्न पूर्ण निषेधाज्ञा लगाउने, एक्लै हिड्नेलाई पनि कारबाही



Spread the love

२८ बैशाख, महोत्तरी । जिल्ला प्रशासन कार्यालय महोत्तरीले भारतीय सीमावर्ती जलेश्वर नगरपालिका क्षेत्रमा पूर्णरूपमा निषेधाज्ञा लगाउने निर्णय गरेको छ ।जिल्लाभरि गत बुधबारदेखि नै निषेधाज्ञा जारी भएबीच जलेश्वर नगर क्षेत्रमा कोभिड–१९ सङ्क्रमणले निकै गाँजेपछि प्रशासनले सामान्य हिँडडुलसमेत रोक्ने गरी आज बिहानैदेखि लागू हुने गरी थप आदेश जारी गरेको हो । यो आदेशले अब एक्लै हिँड्न वा जरुरी काम छ भन्दै पूर्व स्वीकृतिबेगर सडकमा निस्कने जोकोहीलाई कारवाही गरिने उल्लेख छ ।

नगर क्षेत्रमा कोभिड–१९ सङ्क्रमण निकै बढेर मानवीय क्षति थपिँदै गएपछि थप आदेश जारी गर्नुपरेको प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले जानकारी दिए । नगरका भारतीय सीमावर्ती नाका र गल्छिडाबाट हुने आवतजावत रोक्न थप सुरक्षा जनशक्ति विन्यास गरिएको प्रजिअ भट्टराईको भनाइ छ । जिल्लामा यसपालि २०७८ प्रारम्भ भएयता वैशाख १० देखि हालसम्म कोभिड–१९ सङ्क्रमणले १२ जनाको ज्यान लिएको छ । तीमध्ये सात जलेश्वर नगर क्षेत्रकै परेका छन् । यसअवधिमा सङ्क्रमण पुष्टि भएका ७९१ मध्ये १०० को हाराहारी जलेश्वर नगर क्षेत्रकै परेपछि यसको रोकथाममा कठोर हुनैपर्ने अवस्थाले थप आदेश जारी गर्नुपरेको जिल्ला प्रशासन कार्यालयले स्पष्ट पारेको छ । जिल्लाको कोभिड–१९ व्यवस्थापन केन्द्र र राजनीतिक दल एवं सामाजिक सङ्घसंस्थाको सिफारिसमा अर्को आदेश नभएसम्म नगर क्षेत्र पूर्ण बन्दाबन्दी रहने स्पष्ट पारिएको छ ।

यसअघि गत बुधबारदेखि नै जारी वैशाख महिनाभरि लागू हुने गरी निषेधाज्ञा जारी भए पनि सार्वजनिक बसबाहेक सबै सवारी साधन चलिरहेका र बजार, चोक क्षेत्रमा स्वास्थ्य सचेतता मापदण्ड नअपनाई हिँडडुल गर्ने क्रम नरोकिएपछि सर्वसाधारणको टिप्पणी बढेको थियो । आजदेखि जारी भएको पूर्ण निषेधाज्ञाको अवधिमा तोकिएका क्षेत्रमा अनावश्यकरूपमा कोही निस्के सुरक्षार्मीले तत्काल नियन्त्रणमा लिई बिना मोलाहिजा कारवाही गर्ने प्रजिअ भट्टराईले जानकारी दिए ।

यसैबीच जिल्लाको सुदूर–उत्तरवर्ती बर्दिबास नगरपालिकाले पनि आजदेखि नै लागू हुने गरी तोकिएका क्षेत्रबाहेकका सबै सेवा पूर्णरूपले बन्द गर्ने निर्णय गरेको छ । आजदेखि वैशाख ३१ गते मध्यरातसम्मका लागि जारी गरिएको सूचनामा अस्पताल ९स्वास्थ्यसम्बन्धी सेवा०, दमकल, एम्बुलेन्स, सुरक्षा निकाय (नगर प्रहरीसहित) र भूमिसम्बन्धी समस्या समाधान आयोगको लगत प्रविष्ट एवं नाप÷जाँचबाहेकका सबै सेवा बन्द राख्न अपिल गरिएको छ । नयाँ भेरियन्टसहितको कोरोना भाइरस फैलँदै गएपछि यसको रोकथाम र नियन्त्रणका लागि यो कदम चाल्नुपरेको नगरप्रमुख विदुरकुमार कार्कीले जनाए ।

कोभिड–१९ सङ्क्रमण बढ्दै जाँदा यसको रोकथाम, नियन्त्रणका लागि सबै स्थानीय तहले पहलकदमी बढाउन आवश्यक रहेको स्वास्थ्यकर्मीले सुझाएका छन् । यसका लागि क्वारेन्टिन केन्द्र र आइसोलेशनको व्यवस्थापन, पिसिआर परीक्षण र उपचार प्रबन्ध एवं गरिब र असहायको छनोट गरी खानपिनको चाँजो मिलाउन स्थानीय तहले पहलकदमी लिनुपर्ने स्वास्थ्य क्षेत्रको लामो सरकारी सेवाबाट अवकाश लिनुभएका बर्दिबास–१ का बासिन्दा स्वास्थ्यकर्मी राधेश्याम झाको सुझाव छ ।

यसबीचमा जिल्लाको गौशाला नगरपालिकाले १५ शय्याको कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ भने बर्दिबास नगरपालिकाले ५० शय्याको आइसोलेशन कक्ष दुई दिनभित्रै सञ्चालन गर्ने गरी तयारी गरिएको जनाएको छ । जिल्लाका अन्य स्थानीय तहले पनि आवश्यक पहलकदमी बढाउन आवश्यक रहेको स्वास्थ्यकर्मी औँल्याउँछन् । जिल्लामा १०नगरपालिका र पाँच गाउँपालिकासहित १५ स्थानीय तह छन् । भारतसँग सीमा जोडिएको ३८ किलोमिटर दूरीभित्र छ स्थानीय तह भारतसँग जोडिएका छन् । ती स्थानीय तहको भूमिका अझ बढी हुनुपर्ने झाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्