Logo

एउटै गाउँमा १३२ जनाको हत्या



Spread the love

२४ जेठ, एजेन्सी । सशस्त्र बन्दुकधारीले बुर्किना फासोको उत्तरी क्षेत्रस्थित एक गाउँमा शनिबार राति गरेको आक्रमणमा कम्तीमा १३२ जनाको मृत्यु भएको छ ।

पश्चिम अफ्रिकी मुलुक बुर्किना फासोको इतिहासमा पछिल्लो वर्षहरुमा भएको यो भयानक आक्रमण हो ।

सोल्हान गाउँमा रातको समयमा भएको आक्रमणको क्रममा स्थानीय बासिन्दाका घर तथा स्थानीय बजारमा आगजनीसमेत भएको छ ।

अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मा लिएका छैन, तर पछिल्लो वर्षहरुमा बुर्किना फासोमा इस्लामिक समूहका आक्रमण हुने गरेका छन् । विशेषगरी सीमा क्षेत्रहरूमा यस्ता आक्रमण बारम्बार हुँदै आएका छन् ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिओ गुटेरसले घटना दुखद् भएको बताउँदै घटनाको निन्दा गरेका छन् ।

घटनापछि बुर्किना फासोका राष्ट्रपति रोच काबोरीले तीन दिनको राष्ट्रिय शोकको घोषणा गरेका छन् । उनले अमानवीय घटनाहरूविरुद्ध सबै एक हुनु पर्ने पनि उल्लेख गरेका छन् ।

यसअघि शुक्रबार राति भएको अर्को आक्रमणमा सोल्हान गाउँबाट १५० किलोमिटर उत्तरमा रहेको तादार्यात गाउँमा १४ जनाको ज्यान गएको थियो । गएको महिना बुर्किना फासोको पूर्वी क्षेत्रमा भएको आक्रमणमा ३० जनाको ज्यान गएको थियो ।

बुर्किना फासोमा अहिले गम्भीर सुरक्षा चुनौतिको अवस्था छ । गएको मे मा आर्मीले विद्रोही विरुद्ध बिस्तारित तहको प्रतिकारात्मक कारवाही सुरु गरे पनि हिंसा रोक्न भने सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्