Logo

मजदुरहरू चढेको भ्यान र बस ठोक्किँदा १७ जनाको मृत्यु



Spread the love

२६ जेठ, एजेन्सी । भारतको उत्तर प्रदेशमा मजदुरहरु चढेको एउटा बसले सामान ढुवानी गर्ने भ्यानलाई मंगलबार राति कानपुर नजिक ठक्कर दिँदा कम्तीमा १७ जनाको मृत्यु भएको छ । विपरीत दिशाबाट आइरहेको भ्यानसँग ठोक्किएसँगै बस सडकमा पल्टिएको प्रहरी अधिकृत मोहित अग्रवालले बताए ।


निकै भयानक उक्त दुर्घटनामा परेर अरु १८ जना घाइते भएको प्रहरीले जनाएको छ । कोरोनाभाइरस महामारीको दोस्रो लहर भारतमा केही मत्थर हुन थालेपछि गाउँघर फर्किएका मजदुरहरु पुनः कामको खोजीमा निस्कन थालेका छन् ।

बसमा सवार मजदुरहरु पश्चिमी गुजरात प्रान्तको अहमदाबादतर्फ जाँदै थिए । भ्यानमा बिस्कुट बनाउने कारखानामा कार्यरत मजदुरहरु रहेका थिए । मृत्यु हुनेहरु अधिकांश भ्यानमा सवार मजदुरहरु रहेको अग्रवालले जानकारी दिए ।

उक्त घटनामा परेका १६ जनाको घटनास्थलमै ज्यान गएको थियो भने एक जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । प्रहरीका अनुसार घाइतेहरुको स्थानीय अस्पतालहरुमा उपचार भइरहेको छ ।

प्रहरी अधिकृत अग्रवालले बसमा सवार व्यक्तिहरुको भनाई उद्धृत गर्दै बस चालकले तिब्र बेगमा बस चलाएको गुनासो गरेको बताए ।
प्रहरीका अनुसार भारतमा हरेक वर्ष एक लाख १० हजारभन्दा बढी व्यक्तिको सडक दुर्घटनामा ज्यान जाने गरेको छ । अधिकांश अवस्थामा चालकको लापरवाही, सडकको कमजोर अवस्था र पुराना सवारी साधनका कारण दुर्घटना हुने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्