Logo

दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने सवारीलाई नयाँ लोगो हस्तान्तरण



Spread the love

१२ असार, काभ्रे । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका—२ कुशादेवीस्थिते हिमालयन डेरी एन्ड एग्रो भेट रिसर्च सेन्टरको दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने सवारी साधनलाई प्रतीक चिन्ह हस्तान्तरण गरिएको छ ।


नेपाल डेरी एसोसिएशन काठमाडौंका महासचिव प्रल्हाद दाहालका उपस्थितिमा पनौती नगरपालिका प्रमुख भिम न्यौपानेले सेन्टरका सञ्चालक रवीन्द्र हुँमागाईलाई प्रतीक चिन्ह हस्तान्तरण गरेका हुन् । दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने सवारी साधनमा प्रतीक चिन्ह प्रयोग गर्ने सम्वन्धी कार्यविधि अनुसार सो लोगो प्रदान गरिएको छ । राष्ट्रिय दुग्ध विकास बोर्डबाट प्राप्त लोगो सेन्टरद्वारा सञ्चालित लु १ क ३२३९ नंको गाडीमा प्रयोग गर्ने गरी सञ्चालक रवीन्द्र हुँमागाईलाई हस्तान्तरण गरिएको हो ।

लोगो अङ्कित गाडी निषेधाज्ञा वा अन्य आपतकालीन अवस्थामा पनि विना अवरोध नेपालभर आवतजावत गर्न सकिन्छ । दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने सवारी साधनमा लोगो प्रयोग गर्ने सम्वन्धी कार्यविधि, २०७७ बमोजिम बोर्डमा प्राप्त भएका आवेदनका आधारमा लोगो प्रदान गर्ने गरिएको छ । २०७७ चैत १२ गते प्रधानमन्त्री केपी शर्मा ओलीले दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने सवारी साधनमा प्रयोग हुने प्रतीक चिन्ह लोगोको सार्वजनिक गरेका थिए ।

सो अवसरमा नगरप्रमुख न्यौपानेले सरकारले दूध ढुवानीलाई अत्यावश्यक सेवामा राखेको र यस्ता सवारी साधनलाई पहिचान खुल्ने गरी प्रतीक चिन्ह प्रदान गरिएको हुँदा सो चिन्ह अङ्कित सवारी साधनलाई अत्यावश्यकीय सवारी साधनको रुपमा बिना अवरोध सञ्चालनमा सहयोग गरिएमा दूध तथा दुग्धजन्य पदार्थको गुणस्तर कायम रहने विश्वास व्यक्त गरे ।

नेपाल डेरी एसोसिएशनका महासचिव दाहालले विधि र प्रक्रियानुसार दर्ता भएको डेरीले मात्रै लोगो प्राप्त गर्ने र सो कार्यमा नीजि डेरीबाट पहिलो पटक सेन्टरले प्रतिक चिन्ह प्राप्त गर्न सफल भएको बताए । पनौती नगरपालिका कृषि शाखा प्रमुख मणि सापकोटाले कृषि तथा पशुपालन क्षेत्रमा नगरपालिकाले चालु आर्थिक वर्षमा रु तीन करोड ४४ लाख बजेट विनियोजन गरेको जानकारी दिदैं यसले कृषि तथा पशुपालनका लागि किसानलाई सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

सेन्टरका सञ्चालक हुमागाईँले दुग्ध उत्पादन क्षेत्रलाई अझ बढी मर्यादित र गुणस्तरीय बनाउनमा यसले प्रभावकारी भूमिका निर्वाह गर्ने बताP । करिब रु चार करोडको लगानीमा सञ्चालित सो डेरी उद्योगमा दैनिक पाँच हजार लिटर दूध सङ्कलन हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्