Logo

एमाले कार्यदलले अध्यक्ष ओली र नेता नेपालसँग छलफल गर्ने



Spread the love

२३ असार, काठमाडौँ । नेकपा (एमाले)को आन्तरिक विवाद समाधानका लागि गठित कार्यदलले सहमतिका लागि तयार गरिएको खाकाका विषयमा दलका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालसँग छलफल गर्ने भएको छ । उनीहरुबीच गत जेठ २ गते सहमति भई १० सदस्यीय कार्यदल गठन भएको थियो ।

सो कार्यदलको आज सिंहदरबारमा भएको बैठकले प्राप्त परामर्शका आधारमा तयार गरिएको सहमतिको मस्यौदालाई शीर्ष तहमा प्रस्तुत गरी बिहीबार पुनः बैठकपछि ठोस रुप दिइने समझदारी भएको नेता सुवास नेम्वाङले जानकारी दिए । उनका अनुसार सहमतिका लागि गम्भीर र सकारात्मकरुपमा छलफल भएको र चाँडै निष्कर्षमा पुगिने छ ।

दलका शीर्ष र दोस्रो तहका नेताबीच भएको अनौपचारिक छलफललाई व्यवस्थितरुपमा सहमतिमा परिणत गर्न तनि दिनअघि कार्यदलको बैठक पुनः शुरु भएको हो । अध्यक्ष ओली महाधिवेशन आयोजक कमिटी विघटन गराई २०७५ जेठ ३ गते अगाडिको साङ्गठनिक स्थितिका आधारमा सञ्चालन गर्न तयार भएपछि सहमतिको वातावरण बनेको हो ।

एमाले केन्द्रीय कमिटीको १३ औँ बैठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्ताव र सर्वोच्च अदालतमा रिट दायर गर्दा पार्टीका २३ निवर्तमान सांसदबाट गरिएको हस्ताक्षर फिर्ता गर्न आज साँझ ५ बजेसम्म समय दिइएका सन्दर्भमा कार्यदल सक्रिय भएको हो । नयाँ प्रधानमन्त्री चयन प्रक्रिया सफल हुन नसकी गत जेठ ८ गते प्रतिनिधिसभा दोस्रो पटक विघटन भएपछि एमालेको कार्यदल निष्क्रिय भएको थियो ।

कार्यदलमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली पक्षबाट नेता नेम्वाङ, विष्णुप्रसाद पौडेल, प्रदीपकुमार ज्ञवाली, शङ्कर पोखरेल र विष्णुप्रसाद रिमाल तथा नेता नेपाल पक्षबाट डा. भीमबहादुर रावल, घनश्याम भुसाल, सुरेन्द्रप्रसाद पाण्डे, गोकर्णराज विष्ट र रघुजी पन्त हुन् ।

प्रतिक्रिया दिनुहोस्