Logo

नवनियुक्त प्रधानमन्त्री देउवाको पहिलो क्याविनेट बैठक, के-के भए निर्णय ?



Spread the love

३० असार, काठमाडाैँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएसँगै मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा पहिलो मन्त्रीपरिषदको बैठकमा बसेको छ ।

पदभार लिएसँगै पहिलो मन्त्रीपरिषद बैठकले चैत महिनाभित्र सबै नेपालीलाई कोरोनाविरुद्धको खोप लगाउने निर्णय गरेको कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

सरकारले आउँदो असोज महिनाभित्र एक तिहाइ जनसंख्या र चैत भित्र सबै नेपालीलाई खोप लगाउने निर्णय गरेको हो । त्यस्तै सरकारले कोरानाविरुद्ध लडाईमा अग्रपंतिमा खटिएकाहरुलाई एक हप्ताभित्र भत्ता उपलब्ध गराउने निर्णय छ ।

कोभिड– १९ को रोकथाम, नियन्त्रण र उपचारका लागि हालसम्म भएको खर्चको विवरण सार्वजनिक गर्ने, महामारीमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई जोखिमभत्ता एक हप्ताभित्र उपलब्ध गराउन सुरु गर्ने, महामारीबाट प्रभावित अर्थतन्त्र पुनरुत्थान गर्न एक महिनाभित्र विशेष प्याकेज ल्याउने निर्णय भएको बताए ।

त्यस्तै सरकारको प्रवक्तामा कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई नियुक्त गरिएको छ । सर्वोच्च अदालतको सोमबारको फैसलापछि राष्ट्रपति भण्डारीले मंगलबार नै देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् । सर्वोच्च अदालतको फैसलापछि नेपालको संविधानको धारा ७६ (५) अनुसार देउवा प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।

एमएनटिभी अनलाइनबाट ।

प्रतिक्रिया दिनुहोस्