Logo

जाजरकोटमा भेटियो विश्वमै दुर्लभ चरा



Spread the love

६ साउन, जाजरकोट । विश्वमै दुर्लभ मानिएका चराहरु बारेकोट गाउँपालिकाका विभिन्न ठाउँमा फेला परेका छन् । पटक–पटक गरिएको अध्ययनबाट बारेकोटमा दुर्लभ चरा फेला परेको पक्षी संरक्षण सङ्घका केन्द्रीय सदस्य गोविन्द सिंहले बताए । विश्वमै लोपोन्मुख हाडफोर गिद्ध, राष्ट्रियस्तरमा लोपोन्मुख हिमाली गिद्ध, सङ्कटोन्मुख वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय नियन्त्रण सन्धिको अनुसूची (आइआइमा)मा सूचीकृत कालो चिल, कालिज, काकाकुल, लोभीपापी गरुड तथा कर्रासुगा फेला परेका छन् ।

दिनरात चराको खोजीमा बिताउने केन्द्रीय सदस्य सिंहले लोभीपापी गरुड निकै खोजीपछि बारेकोटमा फेला परेको बताए । बारेकोट–२ स्थित जीउलामा लोभीपापी गरुड फेला परेका हुन् । सिंहले बारेकोटमा पहिलोपटक लोभीपापी गरुड फेला परेको बताए ।

यसअघि जाजरकोटको भेरी नगरपालिका, बाँकेको चिसापानी र सुर्खेत सिम्तामा लोभीपापी गरुड फेला परेका थिए । सामान्यतया समुद्री सतहभन्दा ९१५ मिटरभन्दा कम उचाइको भूभागमा पाइने लोभीपापी गरुड बारेकोटमा भने एक हजार ६०० मिटरको उचाइमा भेटिएको सिंहले बताउनुभयो । धेरै उचाइमा समेत लोभीपापी गरुड भेटिन थालेपछि अध्येताहरूका लागि चासोको विषय हुनसक्ने उनको भनाइ छ ।

जलवायु परिवर्तनका कारण विस्तारै यी पक्षी लेकतिर बसाइँ सर्ने गरेको चराविद्को भनाइ छ । बारेकोट जुम्लासँग सिमाना जोडिएको गाउँपालिका हो । यो अग्ला सिमल र सालको रूखमा बस्ने र गुँड लगाउने गर्छ । रूख फँडानी गर्दा गिद्धलगायत यी पक्षीलाई असर परेको छ । अर्को समस्या भनेको बालीनालीमा विषादी हालेर मुसा मार्दा यसले खाएर पनि मर्ने गरेको उनको भनाइ छ । मानवीय क्रियाकलापकै कारण यो दुलर्भ पक्षी लोप हुने अवस्थामा पुगेको छ । बालीनालीमा हुने किरा फट्याङ्ग्रा, भ्यागुता, सर्प, मुसा खाएर बालीको सुरक्षा गर्ने भएकाले यसलाई किसानको साथी मानिन्छ ।

लोभीपापी गरुड मध्यम आकारको गरुड हो । यसको गठिलो, प्रायः कालो शरीर, भुवादार सेतो घाँटी, कालो शिर तथा निर्गमस्थल र तल्लो पुच्छर ढकनी सेतो भएको हुन्छ । यसको उडानका क्रममा माथिल्ला र तल्ला पखेटा पूरै गाढा देखिन्छ । बच्चा लोभीपापी गरुड बयस्कजस्तै देखिने तर अलि फिक्का खैरो शरीर तथा पखेटाका साथै प्वाँखले ढाकिएको निधार भएको हुन्छ । लोभीपापी गरुड नेपालमा पाइने एक प्रकारको गरुडको प्रजाति हो ।

यो चरा एशियाको रैथाने प्रजाति हो । लोभीपापी गरुड एशियामा नेपाल, भारत हुँदै इण्डोनेशियासम्म तथा अफ्रिकामा पनि पाइने गर्छ । यो प्रजाति प्रायः ९१५ मिटरभन्दा तलको क्षेत्रमा पाइने गर्छ । यो चराको प्राकृतिक बासस्थान खोलानाला, ओसिलो भूमि, दलदले भूभाग तथा तालहरूको छेउछाउका घाँसे मैदान हुन् ।

प्रतिक्रिया दिनुहोस्