Logo

विप्लव नेतृत्वको नेकपाले गुल्मीमा सुरू गर्यो जनसेवा तथा जनसंगठन बिस्तार अभियान



Spread the love

६ साउन, गुल्मी । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी माओवादी गुल्मीले जनसेवा तथा जनसंगठन बिस्तार अभियान सुरु गरेको छ । जनतासँगै बस्ने, जनताका समस्या बुझ्ने र समस्या समधानका लागि जनसंगठन विस्तार गर्ने लक्ष्यका साथ यो अभियान सुरु गरिएको हो ।

बुधबार उक्त पार्टीले जिल्लाको रेसुंगा नगरपालिका–१० सिमिचौरबाट आफ्नो दुई महिने अभियानको उद्घाटन गरेको हो । अभियानको नेकपा गुल्मी जिल्ला ईन्चार्ज तथा केन्द्रीय सदस्य अपेक्षाले उद्घाटन गरेकी थिइन् । उद्घाटन गर्दै इन्चार्ज अपेक्षाले अहिलेको यो व्यवस्थाले फेल खाईसकेको बताउँदै अब जनताले जनमत संग्रहबाट वैज्ञानिक समाजवाद रोज्नुपर्ने बताइन् । पुर्व सांसद समेत रहेकी नेकपाकी नेत्री अपेक्षाले संसदीय व्यवस्था भनेको खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने थलो रहेको भन्दै अब यस व्यवस्थाको विकल्प खोज्नु पर्ने समय आएको उल्लेख गरिन् । सत्तामा जो सुकै आएपनि यो व्यवस्थाले देशलाई निकास दिन सक्ने उनको दाबी थियो ।

त्यस्तै जनसेवाका सदस्य सुकुमारले प्रचण्ड बाबुरामले आर्यघाटमा पुर्याएको क्रान्तिको झण्डा आफुँहरुले उचाल्दै क्रान्तिलाई नयाँ मोडमा लगेको बताए । अभियान टोलीका सदस्य समेत रहेका सुकुमारले परिवर्तनका लागि युवा नै अग्रसर हुनुपर्ने बताउँदै सबै युवालाई एक पटक एकीकृत जनक्रान्तिमा होमिन आग्रह समेत गरेका छन् ।

जनसेवा तथा जन संगठन अभियानको उद्घाटन कार्यक्रममा बोल्ने अधिकांश नेताहरुले तत्काली्न केपी ओली सरकारसँग भएको तीन बुंदे सहमति वर्तमान सरकारलाई यथाशिघ्र कार्यान्वयन गर्न आग्रह गर्दै आनकानी गरे यसको परिणाम सरकारले व्यर्होनु पर्ने चेतावनी समेत दिएका थिए ।

जनसेवा तथा जन संगठन अभियान कार्यक्रममा नेकपा गुल्मीका सेक्रेटरी हिमाल , पार्टीका जनवर्गीय संगठनका अध्यक्ष तथा प्रतिनिधिको सहभागिता रहेको थियो । यस अभियान जिल्लाका सबै स्थानीय तहमा चल्ने नेकपा गुल्मीले जानकारी दिएको छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्