Logo

छोरी जन्मिए खातामा २५ हजार !



Spread the love

रुपन्देहीको ओमसतिया गाउँपालिकाले छोरी जन्मिए मुद्दती खाता खोलेर २५ हजार जम्मा गर्ने कार्यक्रम ल्याएको छ । लिंग पहिचान गरी छोरी भएमा गर्भपतन गर्ने क्रम बढेपछि त्यसलाई निरुत्साहित गर्न गाउँपालिकाले यस्तो कार्यक्रम ल्याएको हो ।

छोरीको पहिचान गरी गर्भपतन नगरून भनेर स्थानीय तहले विशेष अभियान सञ्चालनको तयारी गरेको हो । गाउँपालिकाले चालू आर्थिक वर्षमा एक करोड २१ लाख बजेट बिनियोेजन गरिसकेको छ । छोरा जन्माउने आशामा छोरी भए गर्भपतन गर्ने क्रम बढेकाले रोक्नलाई यस किसिमको कार्यक्रम अगाडि बढाइएको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु नेपालले कार्यक्रमले गर्भपतन र बालविवाह रोक्ने विश्वास लिएको बताए ।

२५ हजारको मुद्दती खाता
गाउँपालिकाले बालिका संरक्षण कार्यक्रमअगाडि बढाउन कार्यविधि बनाउने जनाएको छ । यस कार्यक्रम अन्तर्गत प्रत्येक बालिका जन्मेपछि मुद्दती खाता खोलिनेछ । सो खातामा गाउँपालिकाले २० हजार र अभिभावकले ५ हजार रुपैयाँ राख्नुपर्नेछ । मुद्दती खाता बालिकाको नाममा खोलिनेछ । विपन्न परिवारका लागि भने ५ हजार जम्मा गर्न अनिवार्य नगरेको प्रमुख प्रशासकीय अधिकृत नेपालले बताए । त्यसका लागि सो वडा कार्यालयबाट सिफारिस ल्याउनुपर्नेछ ।

बैँकहरूसँग प्रस्ताव माग
गाउँपालिकाले कार्यक्रम सञ्चालनका लागि बैँकहरूसँग ब्याजदरको प्रस्ताव पेस गर्न आब्हान गरिसकेको छ । २० वर्षे मुद्दती खाता धेरै ब्याज दिने बैँकमा खोल्ने तयारी छ । गत साउन यता जन्मेका बालबालिकाका लागि यो कार्यक्रम लागु हुनेछ । बैँकहरूबाट प्रस्तावहरू आएपछि अध्ययन गरी काम अगाडि बढाउने गाउँपालिकाले जनाएको छ । बैँकको टुंगो लागेपछि बालिकाको जन्मदर्ता, वडा कार्यालयको सिफारिसपछि गाउँपालिकाले खाता खोलिदिने नेपालले बताए ।

लिंग पहिचान गरी गर्भपतन गर्नु अपराध
नेपालको कानुनले गर्भपतनलाई अपराध मानेको छ । वरिष्ठ अधिवक्ता विनोद गौतमले पहिचानका आधारमा गर्भपतन गर्नुलाई गम्भीर अपराधका रूपमा लिइने बताउँछन् । हाडनाता करणीबाट रहेको गर्भ ,महिलाको स्वस्थ्यमा असर पर्ने अवस्थालगायतमा मान्यताप्राप्त अस्पतालमा गर्भपतन गर्न सकिने अन्यथा ज्यानसम्बन्धी महलअनुसार सजाय हुने प्रावधान रहेको उनले बताए । भारतसँग सीमा जोडिएका बासिन्दाहरू लिंग पहिचानका लागि भिडियो एक्सरे गर्न भारतीय सहरहरूमा समेत जाने गरेका छन् ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस्