Logo

राजपालाई पनि सरकारमा ल्याउन पहल



प्रधानमन्त्री केपी ओलीले राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) लाई सरकारमा ल्याउन पहल थालेका छन्।

यसका लागि प्रधानमन्त्री ओलीले आइतबार र सोमबार दुई पटक राजपा अध्यक्ष महन्थ ठाकुरलगायत राजपा नेतृत्वसँग छलफल पनि गरे।

संघीय समाजवादी फोरमलाई सरकारमा ल्याउन पहल गरिरहेको सरकारले आइतबार र सोमबार राजपालाई पनि सरकारमा आउन पहल थालेको हो। ओली नेतृत्वको सरकारमा जाने-नजाने विषयमा निर्णय लिने जिम्मेवारी राजपाले अध्यक्ष ठाकुरलाई दिएको छ।

राजपालाई पनि सरकारमा सहभागी गराएर ओली शक्तिशाली सरकारका प्रधानमन्त्री बन्ने रणनीतिअनुरूप छलफल गरेका हुन्।

फोरम-राजपा दुवै दललाई दुई-दुईवटा मन्त्रालय दिएर सरकारमा सहभागी गराउने विषयमा छलफल भइरहेको स्रोतले दाबी गरेको छ।

राजपा अध्यक्ष मण्डलका नेता शरत्सिंह भण्डारीले प्रधानमन्त्री ओलीले आफूहरूलाई सरकारमा आउन आग्रह गरेको पुष्टि गरे।

उनले  भने, ‘ओलीजीसँग सरकारमा सहभागिता, संविधान संशोधन, कैलालीका निर्वाचित सांसद रेशम चौधरीलाई संसद् प्रवेशका लागि कानुनी उपचारलगायत विषयमा गम्भीर परामर्श भएको छ।’

ओलीसँगको परामर्शमा ठाकुरसहित राजपा नेता राजेन्द्र महतो, महेन्द्र यादव र राजकिशोर यादव संलग्न थिए।फोरम र राजपा दुवैले मधेसीको अधिकार सुनिश्चितताका लागि संविधान संशोधनको मागलाई उठाउँदै आएका छन्।दुवै पार्टीका नेताहरूले वाम गठबन्धन संविधान संशोधनको माग पूरा गर्न लचक देखिएको बताउन थालेका छन् भन्ने खबर आजको अन्नपुर्ण पोष्टमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्