Logo

नजिकिँदै देउवाविरोधि: एउटै कित्तामा उभिने प्रयास



Spread the love

कांग्रेस सभापति शेरबहादुर देउवाको कार्यशैलीबाट असन्तुष्ट रहँदै आएका वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला एउटै कित्तामा उभिने प्रयासमा छन् । देउवाको कार्यशैलीबाट पार्टी अघि बढ्न नसक्ने निष्कर्षसहित उनीहरू एउटै कित्तामा आउन लागेका हुन् ।

पौडेल र सिटौलालाई मिलाएर संस्थापनइतर समूह बलियो बनाउने अभियानमा चन्द्र भण्डारी, गगन थापा, धनराज गुरुङ, प्रदीप पौडेललगायत युवा नेता सक्रिय भएका छन् भन्ने खबर आजको कान्तिपुरमा छापिएको छ ।

महासमिति बैठकअघि नै यी दुई समूहलाई मिलाएर पार्टीमा नीति, कार्यक्रम र नेतृत्व परिवर्तनको मुद्दालाई प्रमुख एजेन्डा बनाउने तयारीमा संस्थापनइतर समूह लागेको छ। प्रतिनिधिसभा, प्रदेश र स्थानीय तहका तीनै निर्वाचनमा पार्टीले नराम्रो पराजय भोगेपछि पौडेल र सिटौला समूहका विचार मिल्न गएको हो।

केही दिनअघि संसदीय दलको नेताको निर्वाचनमा पनि यी दुई समूह एक ठाउँमा थिए। निर्वाचनअघिसम्म पौडेल र सिटौलाको सम्बन्धमा चिसोपना थियो। दुई वर्षसम्म निरन्तर देउवालाई साथ दिएका सिटौला निर्वाचनलगत्तै फरक कित्तामा उभिन पुगेका हुन्।

पार्टीको १२ औं महाधिवेशनदेखि नै सिटौला नेतृत्वमा तेस्रो समूहको जन्म भएको थियो। १२ औं महाधिवेशनमा सिटौलाले तेस्रो धारको नेतृत्व गर्दै सभापतिमा प्रतिस्पर्धा गरेका थिए। पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत पुर्‍याउन नसक्दा बढी मत ल्याउने देउवा र पौडेलबीच पार्टी सभापतिका लागि दोस्रो चरणमा निर्वाचन भएको थियो। त्यतिबेला सिटौलाले देउवालाई सघाएका थिए। त्यहाँदेखि नै पौडेल र सिटौलाबीचको सम्बन्धमा दरार थियो।

प्रतिक्रिया दिनुहोस्