Logo

तम्घासको बौद्धिक अपांग केन्द्रलाई आर्थिक अभाव, ८ वर्षमा पनि भएन सञ्चालन



Spread the love

६ असोज, गुल्मी । जिल्लाको रेसुंगा नगरपालिका ९ मा रहेको बौद्धिक अपांगता केन्द्र आर्थिक अभावका कारण सञ्चालनमा आउन सकेको छैन । २०६४ सालमा बौद्धिक अपांग अभिभावक संघ स्थापना गरी २०७१/७२ देखि भवन निमार्ण थालिए पनि अहिलेसम्म भवनले पुर्णता पाउन समेत सकेको छैन ।

८ वर्षको अवधिमा विभिन्न सरकारी निकायबाट ३९ लाख भन्दा बढी रकम खर्च भएपनि थप रकम अभावका कारण सञ्चालनमा ल्याउन नसकिएको बौद्धिक अपांग अभिभावक संघका अध्यक्ष ईश्वरी पौडेलले बताए । २०७१ सालमा ७ लाखमा करिब चार आना जग्गा खरिद गरी भवन निमार्ण सुरु गरिएको थियो । दुई तल्लाको अपांग मैत्री भवन निमार्ण सम्मन्न भएपनि दीर्घकालिन आम्दानीको स्रोत नहुदाँ केन्द्र सञ्चालनमा आउन सकेको छैन ।


डे केयरमा बढीमा १२ जना र पुर्णकालिन समयमा पनि १२ जना बौद्धिक अपांग राख्न सक्ने भवनको क्षमता छ । तर यसरी केन्द्र सञ्चालन गर्दा मासिक ५० हजारदेखि १ लाख सम्म खर्च हुने हुदाँ सञ्चालन गर्न समस्या परेको संस्थाले गुनासो गरेको छ । तथापी, अक्षय कोष स्थापना गरेर भएपनि संस्थालाई सञ्चालनमा ल्याउने प्रयास भइरहेको अध्यक्ष पौडेलले बताए ।

बौद्धिक अपांग भएका व्यक्तिहरुलाई उनिहरूको क्षमता अनुसार सीप, तालीम प्रदान गर्ने, शिक्षा तथा स्वास्थ्यको व्यवस्था गर्ने र कम्तीमा पनि बौद्धिक अपांग भएका बालबालीकालाई दिउँसोमा संस्थाले हेरचाह गरिदिने र अभिभावकले काम गर्ने वातावरण मिलाउने उदेश्यका साथ खोलिएको संस्था पैसाको अभावका कारण रोकिएको हो ।

उक्त भवन निमार्णको लागि आर्थिक वर्ष २०७१/७२ मा शहरी विकास कार्यालय पाल्पाबाट ९ लाख ४ हजार ९ सय ५०, जिल्ला विकास समिति गुल्मीबाट २ लाख ४९ हजार ६ सय २१, शान्ति तथा पुनः निमार्ण मन्त्रालयबाट ३ लाख २२ हजार ९७ रुपैयाँ विनियोज भएको थियो । त्यस्तै, आर्थिक वर्ष २०७२/७३ मा संसद विकास कोषबाट १४ लाख ६० हजार ८ सय ५१, शान्ति तथा पुनः निमार्ण मन्त्रालयबाट २ लाख, जिल्ला विकास समिति गुल्मीबाट २ लाख ४९ हजार २ सय ३९ , रेसुंगा नगरपालिकाबाट १ लाख ८९ हजार ५ सय १ ,सहरी विकास कार्यालयबाट ९५ हजार सहयोग प्राप्त भएको थियो ।

त्यस्तै, आर्थिक वर्ष ०७३/७४ मा जिल्ला समन्यव समिति गुल्मीबाट २९ हजार ८ सय ७६ ,शान्ति तथा पुनः निमार्ण मन्त्रालयबाट १ लाख ६५ हजार १९ रुपैयाँ विनियोजन भएको र आर्थिक वर्ष ०७४/७५ मा रेसुंगा नगरपालिकाबाट ९३ हजार ८ सय ६,आर्थिक वर्ष ०७५/७६ मा पनि नगरपालिकाबाट ४ लाख ९० हजार ५ सय रकम विनियोजन भएको थियो ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्