Logo

मालिका पूर्ण संस्थागत प्रसुति गाउँपालिका घोषित



Spread the love

९ असोज, गुल्मी । भौगोलिक रुपमा जिल्लाकै दोस्रो विकट मानिने मालिका गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा महत्त्वपूर्ण खुड्किलो पार गरेको छ ।
तिन वर्षको अथक प्रयासपछि गाउँपालिका जिल्लाकै पहिलो पुर्ण संस्थागत प्रसुति गाउँपालिका घोषणा भएको छ । जिल्ला समन्वय समिति गुल्मीका प्रमुख लक्षमण पराजुलीले बुधबार एक समारोहका बिच पुर्ण संस्थागत प्रसुती (शुन्य होमडेलीभरी) गाउँपालिका घोषणा गरेका हुन् ।

विकासका पुर्वाधारमध्य अति महत्त्वपूर्ण मानिने स्वास्थ्य क्षेत्रको विकासले नै गाउँपालिका स्वस्थ र समृद्ध हुने हुँदा स्वास्थ्य क्षेत्रलाई प्राथमिकताका साथ अगाडि बढाईएको गाउँपालिकाका प्रवक्ता शोभाखर गिरीले बताए ।

स्वास्थ्यमा क्रान्ति

विकटका उपनामले परिचित मालिका गाउँपालिकाले पुर्ण संस्थागत प्रसुती (जिरो होमडेलीभरी) गाउँपालिका घोषणा गरेसँगै स्वास्थ्य क्षेत्रमा क्रान्ति नै गरेको छ ।

अहिलेका जनप्रतिनिधि निर्वाचित भएर आउँदा गाउँपालिकामा जम्मा ४ वटा मात्र बर्थिङ सेन्टर थिए । तर, जनप्रतिनिधि र कर्मचारीको मेहनतसँगै अहिले गाउँपालिकाका सबै वडामा बर्थिङ सेन्टरको सुविधा छ। त्यस्तै तीनवटा सामुदायिक स्वास्थ्य ईकाईको समेत स्थापना गरिएको छ भने ती सबै सुविधा मालिकाबासीले प्रयोग गरिरहेको प्रमाणित भएको छ ।

जिरो होमडेलीभरी गाउँपालिका घोषणा गर्न गाउँपालिकाले कडा परिश्रम गरेको थियो ।

‘सुत्केरीको घरमा हरियो झण्डा, हात-हातमा एक क्यारेट अण्डा, सुत्केरीको घरमा हरियो झण्डा शुन्य होमडेलीभरी गाउँपालिका’ जस्ता अभियान चलाउँदै घरघरसम्म गाउँपालिका पुगेको थियो । त्यस्तै, जनचेतना मुलक सडक नाटक प्रहसन गर्दै स्वास्थ्यकर्मीको टोली कलाकार सहित गाउँबासिको टोलमा पुगेका थिए ।

आर्थिक वर्ष ०७७-७८ मा गाउँपालिका भित्रका सबै वडाहरुका कुल ३३२ जना प्रसुति भएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक बसन्तराज भुसालले जानकारी दिए । जसमा २४२ जना गाउँपालिकाभित्रैका बर्थिङ्ग सेन्टरमा प्रसुति भएका छन् ।

गुल्मी अस्पतालमा ४२ जना, लुम्बिनी मेडिकल कलेज पाल्पामा २५ जना, लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा १४ जना प्रसुति भएका छन् । मदाने गाउँपालिका –१ अग्लुङ्ग स्वास्थ्य चौकी, पुर्कोट स्वास्थ्य चौकी, श्रृङ्गा प्राथमिक स्वास्थ्य केन्द्र, जोहाङ्ग स्वास्थ्य चौकी, अम्मरपुर स्वास्थ्य चौकी, युनाईटेड मिसन अस्पताल तथा बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा एक-एक जना प्रसुति भएका छन् ।

पूर्ण संस्थागत प्रसुति गाउँपालिका घोषणा कार्यक्रमलाई निरन्तरता दिनका लागि विभिन्न कार्यक्रमहरु अगाडी बढाउने, वार्षिक सुनिश्चता गर्ने जस्ता योजना अगाडी बढाउने गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाको स्वास्थयको स्थितिमा सुधार हुनुको साथै गर्भावस्था र सुत्केरी अवस्थामा हुने मातृ तथा नव शिशु बिरामीपन दर तथा मृत्यु दरलाई शुन्यमा राख्नको लागि सहयोग पुग्ने गाउँपालिकाले अपेक्षा समेत राखेको छ ।

गाउँपालिकाको विस २०६० देखि २०७४ सम्मको अवस्था हेर्दा ७ जना महिला ११ जना नवजात शिशूको मृत्यू भएको तथ्यांक छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्