Logo

सल्यानमा सामुदायिक विद्यालयका शिक्षकले तलब पाएनन्



Spread the love

२२ असोज, सल्यान । सल्यानका विभिन्न सामुदायिक विद्यालयमा निजी स्रोतमा पढाइरहेका शिक्षकले तलवसुविधा नपाएको गुनासो गरेका छन् । भैरवी आधारभूत विद्यालयमा विगत १२ वर्षदेखि निजीस्रोतमा पढाइरहेका प्रकाश बुढाले विगत तीन वर्षदेखि तलब नपाएकोले दैनिक गुजारा गर्न निकै समस्या भएको बताए । “विगत झैँ यो वर्षको चाड खल्लो हुने भयो । पारिश्रमिक आउने निश्चित नहुँदा थप अन्यौल थपिएको छ”, बुढाले भने ।

विज्ञान विषय पढाउँदै आउनुभएका बर्दियाका युवराज विष्टले दुई वर्षको पारिश्रमिक नपाएपछि विद्यालयबाट राजीनामा दिएर घर फर्किएको बताए । आफुँसँगै तीन शिक्षकले तीन वर्षदेखि तलव नपाएको उनको दुखेसो छ । विगतमा नियमित पाउँदै आएको तलबभत्ता विगत एक वर्षदेखि रोकिएको जय नेपाल आधारभूत विद्यालयका शिक्षक तिलक बुढाले बताए । तलव नपाएपछि धेरै शिक्षकले छाडेर गएको भएपनि स्थानीय भएकाले विद्यार्थीको भविष्य हेरेर आफूले छोड्न नसकेको उनको भनाइ छ । “छोडेर जाने हो विद्यार्थीको भविष्य अन्योलमा पर्ने, नछोडौँ आफ्नो भविष्य अन्योलमा परी रहेको छ”, बुढाले भने ।

विद्यालय समुदायको स्वैच्छिक शुल्क र अन्य स्रोतबाट सञ्चालन भइरहेकाले निजी स्रोतमा पढाउने शिक्षक तलब बिहीन बन्नु परी रहेको प्रधानाध्यापक रामप्रसाद शर्माले जानकारी दिए । नगरपालिकामा धेरै पटक अनुदानको व्यवस्था गरिदिन आग्रह गरेपनि सुनुवाइ नभएको उनको भनाइ छ । “विद्यालय नै बन्द गर्ने अवस्था आयो भन्दा पनि विद्यालय बन्द गर्न नदिने तर सहयोग पनि आइरहेको छैन”, शर्माले भने ।

बनगाड कुपिण्डेमा सञ्चालन भएका अधिकांश आधारभुत विद्यालयमा पढाइ रहेका निजी स्रोतका शिक्षकले वषौंदेखि पारिश्रमिक पाएका छैनन् । जिल्लामा विद्यार्थी अनुसारका दरवन्दीमा शिक्षक नहुँदा विद्यालयले न्यूनतम पारीश्रमिकमा शिक्षक भर्ना गरेर पठनपाठन सञ्चालन गर्दै आएका छन् । तर विद्यालयमा आर्थिक स्रोत अभावका कारण निजी स्रोतका शिक्षकलाई तलव उपलव्ध गराउन नसक्दा शिक्षक मर्कामा पर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्