Logo

निकुञ्ज छलेर रेलमार्गको सम्भाव्यता अध्ययन



Spread the love

चितवन, चैत ४ गते । चितवन राष्ट्रिय निकुञ्ज छलेर पूर्व–पश्चिम रेल मार्ग निर्माणको सम्भाव्यता अध्ययन गरिएको छ । यसअघि निकुञ्ज हुँदै रेलमार्गको सम्भाव्यता अध्ययन गरिएपछि वन मन्त्रालयले विकल्प खोज्न आग्रह गरेको थियो ।

रेल विभागका वरिष्ठ इञ्जिनियर प्रकाश उपाध्यायकाअनुसार पछिल्लो सम्भाव्यता अध्ययनबमोजिम निकुञ्ज छल्नका लागि चितवनको सौराहा र टाँडीबीच हुँदै बीस हजारी तालको दक्षिणतर्फबाट र भरतपुर विमानस्थलको पश्चिमबाट रेलमार्ग बनाइने भएको छ । भरतपुर विमानस्थलको पश्चिमपट्टि लंकूको पनि पश्चिमबाट खरखरे घाट हुँदै नवलपरासीको मुकुन्दपुरबाट रेल सञ्चालन हुने भएको हो ।
यस अघिको सम्भाव्यता अध्ययनमा पर्साको ठोरी हुँदै चितवनको माडीबाट निकुञ्ज पार गरेर गोलाघाटबाट नवलपरासीतर्फ जाने थियो ।

विश्व सम्पदा सूचीमा परेको निकुञ्ज हुँदै रेल सञ्चालन हुँदा वन्यजन्तु संरक्षणमा कठिनाई पर्ने भन्दै संरक्षणकर्मी र वन मन्त्रालयले विकल्प खोज्नुपर्ने अडान लिँदै आएका थिए । विश्व सम्पदा सूचीमा परेका क्षेत्रबाट पूर्वाधार निर्माण गर्दा युनेस्कोबाट अनुमति लिनुपर्ने भएपछि विकल्प खोजिएको हो ।

यो क्षेत्रबाट रेलमार्ग बनाउने गरी रुट सर्भे सकिएकाले अब विस्तृत परियोजना प्रतिवेदन (डीपिआर)को प्रक्रियाअघि बढाउने तयारी गरिएको उपाध्यायले बताउनुभयो । उहाँकाअनुसार आगामी आर्थिक वर्षमा डिपिआरको काम सम्पन्न गरी ठेक्का प्रक्रियामा जान सकिने छ ।

पूर्व पश्चिम रेलमार्ग ९४५ किलोमिटर लामो हुने बताउँदै उपाध्याययले चुरे पहाडमा भने सुरुङ मार्ग निर्माण गरिने जानकारी दिनुभयो । उहाँका अनुसार भालुवाङ, दाउन्ने र पथलैयामा सुरुङ मार्ग हुनेछ । जसमध्ये सबैभन्दा १६ किलोमिटरको भालुवाङ खण्डको सुरुङ मार्गलाई घटाएर १०÷१२ किलोमिटरमा झार्ने प्रयास भइरहेको छ ।

सरकारले पूर्व–पश्चिम रेलमार्गको मूल रुटलाई ९ खण्डमा विभाजन गरेको छ । मूल खण्ड ९४५ किलोमिटरको भए पनि पोखरा–काठमाडौंँ, काठमाडौँं–वीरगञ्जलगायत सहायक रेलमार्गलाई जोड्ने हो भने एक हजार ३७६ किलोमिटर हुनेछ । नवलपरासीको चोरमारादेखि बुटवलसम्मको डीपीआर पनि बनिसकेको वरिष्ठ इञ्जिनियर उपाध्यायले जानकारी दिनुभयो । (रासस)

प्रतिक्रिया दिनुहोस्