Logo

पोखरामा भाइटीका महोत्सवः छ देशका २० जनाले गरे टीका ग्रहण



Spread the love

२१ कार्तिक, पोखरा । पश्चिमाञ्चल होटल सङ्घ पोखराले तिहारका अवसरमा आयोजना गर्दै आएको भाइटीका महोत्सवमा यसपटक छ देशका २० विदेशी नागरिकले टीका ग्रहण गरेका छन् ।

कोभिड–१९ का कारण दुई वर्षदेखि रोकिएको महोत्सवले यसपटक चौधौँ संस्करणका रुपमा पुनःनिरन्तरता पाएको हो । पर्यटकीय नगरी पोखराको लेकसाइटस्थित मम्स गार्डेन रिसोर्टमा आयोजित कार्यक्रममा रेन्वो चिल्ड्रेन होमका छात्राले विदेशी पर्यटकका निधारमा सप्तरङ्गी टीका लगाइदिएका थिए ।

तिहारको अन्तिम दिन भाइटीकाका अवसरमा आयोजित महोत्सवमा विदेशी नागरिकले उत्साहपूर्वक सहभागिता जनाएको सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए ।

नेपाली संस्कृतिको संरक्षण गर्दै यसैका माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा सघाउने मुख्य लक्ष्यका साथ भाइटीका कार्यक्रमको आयोजना गर्दै आएको उनको भनाइ छ । कार्यक्रममा चीन, रसिया, जर्मनी, फ्रान्स, कम्बोडिया र बेलारुसका पर्यटक सहभागी भएको कार्यक्रम संयोजक एवम् सङ्घका प्रथम उपाध्यक्ष दीपक श्रेष्ठले जानकारी दिए । महोत्सवमा टीका ग्रहण गर्नका लागि नै कतिपय विदेशी नागरिक बारम्बार पोखरा आउने गरेका छन् ।

विदेशी नागरिकलाई टीकासँगै गालामा सयपत्री पूmलको माला र शीरमा नेपाली ढाका टोपी लगाइदिएका थिए भने उनीहरुका लागि सेलरोटीलगायतका परिवार छात्राले पस्किएका थिए । सो अवसरमा देउसीभैलो तथा सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिएको थियो ।

कार्यक्रमको सुरु गर्दै सङ्घका महासचिव राजेन्द्र ढकालले तिहार र भाइटीकाको महत्वका बारेमा विदेशी नागरिकलाई जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्