Logo

सल्यान बस दुर्घटना अपडेट : १२ को मृत्यु, १२ जनाकै सनाखत



Spread the love

२२ कार्तिक, सल्यान । सल्यानमा यात्रुबाहक बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । जिल्लाको दुल्धारा पोखराबाट दाङको तुलसीपुरका लागि छुटेको रा १ ख २५५२ नम्बरको बस कपुरकोट गाउँपालिका–५ खारखोलामा आज बिहान दुर्घटना भएको हो ।

दुर्घटनामा परी मृत्यु हुनेमा छत्रेस्वरी गाउँपालिका २ दमाचौरका २९ वर्षका तीलक ओली र घोराही उपमहानगरपालिकाकी ६५ वर्षीया ईन्द्रा अधिकारी, बबई गाउँपालिका ६ की ६० वर्षीया कलादेवी बुढाथोकी, ६५ वर्षीया गैलीदेवी रेउले, शान्तिनगर गाउँपालिका ८ की ३५ वर्षीया साबित्रा केसी, शारदा नगरपालिका १२ की ५३ वर्षीया प्रभा चलाउने, वडा नं २ की ६५ वर्षीया मीना डाँगी छन् ।

यस्तै शारदा नगरपालिका ३ की ६६ वर्षीया लीला बुढाथोकी, त्रिवेणी गाउँपालिका १ की २४ वर्षीया मीना शाही, घोराही उमनपा १० की वर्ष ३६ वर्षीया रुपा केसी, त्रिवेणी गाउँपालिका ४ की बालिका सरिता बोहरा र शान्तिनगर गाउँपालिका ६ दाङका सुरज ओली रहेका छन् ।

बसमा ३७ जना सवार रहेको प्रहरीले अनुमान गरेको छ । घाइतेमध्ये १३ जनालाई थप उपचारका लागि हेलिकप्टरमार्फत नेपालगञ्ज रिफर गरिएको छ भने अन्य सबैको सल्यान जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार आठ जनाको घटनास्थलमै ज्यान गएको हो भने बाँकीको उपचारका क्रममा मृत्यु भएको हो । चालक भने फरार भएका छन् । प्रहरीले उनको खोजी गरिरहेको छ । बस सडकबाट २०० मिटर तल खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्