Logo

पार्टीको काममा फर्किए झलनाथ खनाल, नियमित कार्यालय जाने



Spread the love

२२ कार्तिक, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल स्वास्थ्य उपचारपछि आज पार्टी काममा फर्किएका छन् । पार्टी केन्द्रीय कार्यालय, मीनभवन, आलोकनगरमा दिउँसो २ देखि साँझ ५ बजेसम्म उपस्थित भइ उनि प्रमुख रहेका विदेश विभागको पहिलो बैठकमा सहभागी भए । उनले विभागका सदस्यसँग विभागका आगामी कामबारे छलफल गरे । पूर्वप्रधानमन्त्री खनालले विदेश विभागको सचिवमा डा शङ्कर खतिवडालाई मनोनयन गरेका छन् । उनले पार्टी कार्यालयका पदाधिकारी तथा कर्मचारीसँग कार्यालयको अवस्थालगायतका प्राविधिक विषयमा जानकारी लिएका छन् ।

गत साउन २० गते भारत, नयाँदिल्लीस्थित एपोलो हस्पिटलमा मिर्गौला प्रत्यारोपण गरेपछि चिकित्सकको सल्लाहमा उनि घरमै आराम गरेर बसेका थिए । मिर्गौला उपचारका क्रममा उनले सुरुमा काठमाडौँस्थित नर्भिक अस्पतालमा र त्यहाँका चिकित्सकहरुको रायका आधारमा थप उपचारका निम्ति गत असार २ गते दिल्लीस्थित एपोलो अस्पताल गएका थिए । मिर्गौला प्रत्यारोपणपछि उनि दिल्लीबाट भदौ १४ मा स्वदेश फर्किएका हुन् ।

चिकित्सकहरूले तीन महिना पूर्ण आराम गर्न सल्लाह दिएका कारण त्यस अवधीभर उाि कुनै पनि कार्यक्रममा उपस्थित भएनन् । उक्त समय अवधि सकिए पनि अझै केही समय सार्वजनिक कार्यक्रम (भेला, बैठक, सभा) मा नजाने भएका छन् । पार्टीका आन्तरिक गतिविधिमा भने उनि सहभागी हुने भएका छन् । नेकपा (एकीकृत समाजवादी) गठन भएपछि उनि एउटा सचिवालय बैठकमा उपस्थित भएका थिए तर पार्टी कार्यालय स्थापना भएपछि उनि पहिलोपटक कार्यालय आएका हुन् । उनि अब नियमित रुपमा कार्यालयमा रहने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्