Logo

दुई अध्यादेश जारी



Spread the love

२४ कार्तिक, जनकपुर । प्रदेश नं २ का प्रदेश प्रमुख हरिशङ्कर मिश्रले दुईवटा अध्यादेश जारी गरेका छन् । प्रदेश प्रमुख मिश्रले प्रदेश प्राविधिक विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश र प्रदेश कृषि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेशलाई मन्त्रिपरिषद्को सिफारीसमा आज जारी गरेका हुन् ।

प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले कात्तिक ९ गते दुईवटा अध्यादेश जारी गर्न सिफारिसको लागि प्रदेश प्रमुखसमक्ष पठाउने निर्णय गरेको थियो ।

प्रदेश प्रमुख मिश्रले नेपालको संविधानको धारा २०२ बमोजिम अध्यादेश जारी गरेका हुन् । सप्तरीको राजविराजमा कृषि विश्वविद्यालय र पर्साको वीरगञ्जमा प्राविधिक विश्व विद्यालय स्थापना गर्ने प्रक्रिया अगाडि बढाउन प्रदेश सरकारले अध्यादेश सिफारिस गरेको थियो । कृषि तथा प्राविधिक क्षेत्रका उच्चस्तरीय जनशक्ति उत्पादन तथा कृषि र प्राविधिकसम्बन्धी अध्ययन अनुसन्धानलाई समयसापेक्ष, व्यापक, व्यावहारिक र स्तरीय बनाउन प्रदेशस्तरीय कृषि तथा प्राविधिक विश्वविद्यालय स्थापना आवश्यक देखिएको अध्यादेशमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्