Logo

ढिलोछिटो विप्लव पनि माओवादी केन्द्रमा आउने विश्वास छ : प्रचण्ड



Spread the love

२६ कार्तिक, काठमाडाैँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो पार्टीले सञ्चालन गरेको जनयुद्ध कुनै लहडमा नभएको बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा नेकपा विप्लव समूहका नेता तथा कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै उनले भने, “कसैले चाहँदैमा, लहड चल्दैमा क्रान्ति हुने पनि होइन । जनयुद्ध कुनै लहड थिएन ।” उनले माओवादी पङ्क्ति एक्लाएक्लै अगाडि जाँदा क्षतविक्षत हुने खतरा पनि औँल्याए ।

अध्यक्ष दाहालले पार्टी एकताका लागि पूर्वमाओवादी नेताहरुसँग निरन्तर छलफल भइरहेको पनि जानकारी दिए । उनले भने, “किरण (मोहन वैद्य)को अर्को पार्टी बन्यो, चल्ने कुरो भएन । विप्लव (नेत्रविक्रम चन्द) को बन्यो, तपाईंहरु नै भुक्तभोगी बनेर आउनुभएको छ । हुने कुरा थिएन । त्यो त्यति सजिलो कुरा थिएन ।”

ढिलोछिटो विप्लव पनि माओवादी केन्द्रमा आउने विश्वास अध्यक्ष दाहालको थियो । उनले अगाडि थपे, “छुट्टै बसेरभन्दा सँगै बसेर क्रान्ति सम्पन्न हुन्छ । अहिले कुरा पनि चलिरहेको पनि छ । एक्लै प्रयास गर्दा नियत जे भए पनि नियतिले क्षतविक्षत हुनेबाहेक अरु विकल्प छैन ।”

अध्यक्षले एउटै समयमा थुप्रै नेतृत्व जन्मन नसक्ने भन्दै माओवादी आन्दोलन र आफूलाई प्रतिक्रान्तिकारीले सिध्याउन खोजेको बताए । “प्रतिक्रान्तिकारीले अहिले पनि हाम्रा आन्दोलनका उपलब्धि उल्ट्याउने अभियानमा लागेको र तारो माओवादी आन्दोलन भएको छ”, उनले भने ।

जनता, आन्दोलन, सङ्घर्ष, बलिदानले नेतृत्व पैदा गर्ने भन्दै उनले सही विचार र कार्यक्रम लिएर जनतामा जाँदा माओवादी पुनः एक पटक थप विस्तारित हुने विश्वास व्यक्त गरे । कार्यक्रममा चन्द समूहका नेता तथा कार्यकर्तालाई अध्यक्ष दाहाललगायतका नेताले पार्टी प्रवेश गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्