Logo

हुम्लामा यात्रुको चाप घट्दै, निजी एयरलाइन्सको नियमित उडान



Spread the love

२ मंसिर, हुम्ला । उच्च हिमाली जिल्ला हुम्लाबाट अन्तर जिल्ला जोड्ने एकमात्र हवाई सेवाले पछिल्लो केही दिन यतादेखि नियमित उडान भरिरहेका छन् । दसैँ तिहारको समयमा जिल्लाबाहिर जाने यात्रुको चाप बढिरहेका बेला केही दिनयतादेखि नेपाल एयरलाइन्ससहित निजी एयरलाइन्सले हुम्लामा आफ्नो उडान थप गरेका छन् ।

हुम्लादेखि जिल्लाबाहिर पुग्न छिटो र सजिलो माध्यम हवाई सेवा रहेको छ । सिमकोट विमानस्थल स्रोतका अनुसार नेपालगञ्ज, सुर्खेतदेखि हुम्लामा सीता, समिट र तारा एयरलाइन्सले नियमित उडान भर्दा यात्रुको चाप घटेको छ । सीता एयरलाइन्सले बिहानदेखि दिउँसो चार बजेसम्म उडान भर्दा सिमकोट विमानस्थलमा यतिबेला यात्रुको चाप घटेको हो । समिट र तारा एयरलाइन्सले दैनिक दुईसम्म उडान भर्ने गरेका छन् ।

जिल्लामा अभाव भएको हवाई उडानमा निजी एयरलाइन्सले उडान तालिका बढाउँदा जिल्लाबाहिर जाने हुम्ली यात्रुलाई सहज भएको छ । दसैँ तिहार मनाउन घर पुगेका विद्यार्थीसहित स्वास्थ्योपचार तथा काम विशेषले जिल्लाबाहिर जाने यात्रुलाई थप सहज भएको हो । सिमकोट विमानस्थलमा दैनिक सयौँको सङ्ख्यामा भीडभाड हुने गरे पनि दुईदिन यतादेखि यात्रुको चाप निकै घट्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्