Logo

वडा अधिवेशनको तयारीमा माओवादी केन्द्र



Spread the love

२ मंसिर, बागलुङ । राष्ट्रिय सम्मेलनपूर्व तल्ला तहका कमिटीमा आन्तरिक निर्वाचनमार्फत नेतृत्व चुन्ने तयारीमा रहेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले यहाँका ८५ वटै वडामा शनिबार एकसाथ अधिवेशन गर्दैछ ।

अधिवेशनका लागि सङ्गठित सदस्यता वितरण, नवीकरण, निर्वाचन कमिटी निर्माणलगायत व्यवस्थापकीय तयारीका कामलाई तीव्रता दिइएको माओवादी केन्द्र, जिल्ला समन्वय समितिका संयोजक ज्ञामनाथ गैरे ‘अनिल’ले जानकारी दिए ।

भरसक सबै वडामा सर्वसम्मत नेतृत्व चयन गरिने र सहमति नबन्ने स्थितिमा मात्र मतदानबाट कमिटी निर्वाचित हुने उनको भनाइ छ । “टोल र सेल कमिटीको भेलाहरु यसअघि नै सम्पन्न भइसकेका छन्, अहिले वडा तहको अधिवेशनमा पार्टी केन्द्रित छ”, उनले भने, “सबै वडा र पालिकास्तरमा निर्वाचन कमिटी गठन भइसकेको छ ।”

सर्वसम्मत नेतृत्व चयन हुँदा पनि निर्वाचनको सबै विधि र प्रक्रियालाई अवलम्बन गरिने संयोजक गैरेले बताए । अधिवेशनबाट पाँच पदाधिकारीसहित २९ सदस्यीय नयाँ वडा कमिटी निर्वाचित हुनेछ । यसअघि नेकपा विभाजनपछिको अवस्थामा गत साउनमा वडा कमिटी पुनर्गठन भएका थिए । ती कमिटी अहिले अधिवेशन आयोजक कमिटीमा रुपान्तरण भएका छन् ।

संयोजक गैरेका अनुसार जिल्लामा पार्टीका सङ्गठित सदस्यको सङ्ख्या आठ हजार ७०२ पुगेको छ । पार्टीको साधारण सदस्यता पछि वितरण गरिने जनाइएको छ । वडासँगै स्थानीय तह, प्रदेश हुँदै राष्ट्रिय सम्मेलनको तयारीमा माओवादी केन्द्र जुटेको छ । स्थानीय तहमा यही मङ्सिर ११ गते र प्रदेशको अधिवेशन २५ गतेलाई तोकिएको छ । आउँदो पुस ११ देखि १२ गतेसम्म काठमाडौँमा राष्ट्रिय सम्मेलन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्