Logo

गुल्मी कांग्रेसको क्षेत्रीय अधिवेशन छापामार शैलीमा भयो – पुर्व जिल्ला सभापति केसी



Spread the love

१० मंसिर, गुल्मी । राजनीति क्षेत्रमा चासो राख्नेहरु सबैको ध्यान यति बेला नेपाली काङ्ग्रेसको आठौं जिल्ला अधिवेशनतिर केन्द्रित छ । काङ्ग्रेसको अधिवेशनले जिल्लाको माहोल तातिरहेको छ । नेताहरुले आफ्ना भनाई, तर्क वितर्क गर्दै माहोललाई थप तताईरहेका छन् भने कार्यकर्ता उत्तेजित पार्न समेत पछाडी परेका छैनन् ।

आ – आफ्नो समुह बनाई छुट्टाछुट्टै पत्रकार सम्मेलन गरी जिल्ला सभापतिमा उम्मेदवारी घोषणा गर्न एक अर्काबीच दोषारोपण गर्न र विपक्षलाई कमजोर देखाउन नेताहरु कम्मर कसेर लागी परेका छन् ।

यसैबीच, नेपाली काङ्ग्रेसका पुर्व जिल्ला सभापति चन्द्र केसीले जिल्लाका क्षेत्रीय अधिवेशन छापामार शैलीमा भएको बताएका छन् ।
शुक्रबार पार्टी कार्यालय तम्घासमा काङ्ग्रेसका नेता वेद थापा मगरले पार्टी सभापतिमा उम्मेद्बारी घोषणा गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा केसीले यस्तो बताएका हुन् ।

कांग्रेस जस्तो प्रजातान्त्रिक पार्टीमा क्षेत्रीय अधिवेशन रातिमा गरेर छापामार शैलीमा निर्वाचन गरिएको बताउँदै, एउटा मान्छे मान्छेको अधिवेशनलाई तपाई अधिवेशन भन्नुहुन्छ? एउटा मान्छेले दस पटकसम्म भोट हालेको छ किन तपाईंले अस्ति प्रश्न गर्नु भएन भनेर उल्टै सञ्चारकर्मी माथि प्रश्न गरे, दुनियाँमा रातिमा कहि कतै चुनाव नभएको समेत बताए ।

त्यस्तै, नेपाली काङ्ग्रेसका अर्का नेता तथा महाधिवेशन प्रतिनिधिका उमेदवार सुर्दशन खनालले पनि क्षेत्रीय अधिवेशन छापमार शैलीमा भएको बताएका छन् ।पुराना नेताले पार्टीमा दिएको योगदानको अपमान गर्दै नियोजित रुपमा व्यक्तिवादी सोच राखी महाधिवेशनमा हराएको आरोप समेत खनालको रहेको छ ।

अहिलेसम्म नेपाली काङ्ग्रेस गुल्मीमा पौडेल पक्षका भनेर चिनिने खिलध्जव पन्थी र देउवा पक्षका भनेर चिनिने वेद थापा मगरले सभापतिमा उम्मेद्धारी घोषणा गरेका छन् ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्