Logo

कांग्रेस अधिवेशन: गुल्मीमा सभापतिका लागि पन्थी र थापाबिच भिडन्त



Spread the love

१० मंसिर, गुल्मी । नेपाली काङ्ग्रेसको अधिवेशन अन्तर्गत गुल्मीमा आठौं जिल्ला अधिवेशन हुँदैछ । अधिवेशनको खुल्ला सत्र चलिरहँदा सभापति पदमा वर्तमान सचिव खिलध्वज पन्थी र कालीगण्डकी गाउँपालिकाका अध्यक्ष समेत रहेका वेद थापा मगरले सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् भने पार्टी सभापति भुवन श्रेष्ठले सामाजिक सञ्जाल मार्फत आफ्नो उम्मेदवारी फिर्ता लिएको जानकारी गराएका छन् । अब लगभग पौडेल पक्षका खिलध्वज पन्थी र देउवा पक्षका वेद थापा मगर बिच प्रतिस्पर्धा हुने पक्कापक्की जस्तै देखिन्छ ।

कसले मार्ला बाजी ?

सभापतिका लागि थापा र पन्थी बिच रोचक प्रतिस्पर्धा हुने देखिएको छ ।


क्षेत्रीय अधिवेशन अघिसम्म पन्थीले सजिलै आफ्नो पक्षमा नतिजा पार्ने आँकलन गरिएता पनि अब भने त्यति सजिलै आफ्नो पक्षमा नतिजा पार्न नसक्ने आँकलन सुरू भएको छ । महाधिवेशन प्रतिनिधि , क्षेत्रीय प्रतिनिधि , क्षेत्र र प्रदेश सभाका प्रतिनिधिमा पन्थी निकटका प्रतिनिधिको वर्चस्व भएता पनि तिनै प्रतिनिधि अहिले उनका लागि चुनौतीका रूपमा प्रस्तुत भएका छन् ।

पौडेल पक्षका भनिने जिल्लाका ठुलै नेताहरुले अहिले खुल्लेरै देउवा पक्षका उम्मेदवारलाई सहयोग गरिरहेका छन् । जिल्ला तहका नेता शालिक पन्थी, पार्टी उपसभापति विष्णु बलाल, त्यस्तै नेपाल विद्यार्थी संघका पूर्वकेन्द्रीय सदस्य तथा युवा नेता सुदर्शन खनालले खुलेरै वेद थापा मगरलाई सपोर्ट गरिरहेका छन् । पन्थी र बलाल पौडेल पक्षका हुन् भने खनाल गगन थापा पक्षधरका हुन् ।

गुट-उपगुट र व्यक्तिवादी सोच हावी भएका कारण महाधिवेशन प्रतिनिधिमा पराजय भोग्नु परेको पन्थी र खनालको ठहर छ । यद्यपी उनिहरुले यो कुरा खुलेर स्वीकार्न सकेका छैनन् ।

पौडेल पक्ष भनेर चिनिने खिलध्वज पक्षले क्षेत्रीय अधिवेशनमा देउवा पक्षलाई भित्तामा पुर्याउन खोजेको, अग्रज नेताको योगदान बिर्सिँदै अपमानजनक शैलीमा आफ्ना पक्षको लिस्ट तयार पार्दै आँफु अनुकूलका मान्छेलाइ जिताउन लागि परेको देउवा पक्षको आरोप छ । यस्तै विषयवस्तु निकाल्दै आँफु बलियो हुने दाउ खोजिरहेको छ ।

केन्द्रमा पौडेल पक्ष र जिल्लामा पन्थी पक्षका कमजोरी र उनिहरुबाट असन्तुष्ट भएका व्यक्तिहरू बटुल्दै आँफु बलियो बन्दै देउवा पक्ष अगाडि बढेको छ ।


देउवा पक्षका उम्मेदवार वेद थापा मगरलाइ जिल्ला तहका धेरै नेताको सहयोग पनि रहेको उनि निकट एक नेताले सल्लेरी खबरलाई बताए । उनलाइ पुर्व पाटि सभापति चन्द्र केसी, पुर्व माननीय झक बहादुर पुन, महाधिवेशन प्रतिनिधि महेन्द्र भण्डारी, छ्न्त पहराई, हिरासिङ साराङ्कोटी,महाधिवेशन प्रतिनिधि तथा उद्योग वाणिज्य सङका अध्यक्ष श्रीप्रसाद भलामी, तरुण दल गुल्मीका अध्यक्ष भरत भलामी, क्षेत्रीय नेता सन्तोष गौतम , राजेन्द्र श्रेष्ठ लगायतको सहयोग रहेको छ ।

काङ्ग्रेस नेता महेन्द्र भण्डारीले भने “वेद थापा मगर एउटा सामान्य परिवार जन्मेको सरल व्यक्ति र काङ्ग्रेस भित्र पनि समाजवाद छ भन्ने बुझेको, सबैले रुचाएको नेता भएका कारण जित्ने सम्भावना छ ।” उनले थपे, “वेदजी कालीगण्डकी गाउँपालिकाको प्रमुख समेत हुनुहुन्छ । उहाँको काम सबैले मन पराएका छन् । उहाँ साविकको क्षेत्र नम्बर एक साझा उम्मेदवार समेत हो । उहाँप्रति वर्तमान पार्टी सभापति भुवन श्रेष्ठ पनि सकारात्मक हुनुहुन्छ उहाँले पनि हामीलाई नैतिक समर्थन गर्नुहुन्छ ।”

कस्तो छ खिलध्वज पन्थीको चर्चा ?

खिलध्वज पन्थी आम कार्यकर्तामा लोकप्रिय युवा नेता हुन् । आँफु सबैमा लोकप्रिय छु भन्ने कुरा उनले महाधिवेशन प्रतिनिधि चयनमा सबैभन्दा धेरै ६ सय २३ मत ल्याएर सावित गरिसकेका छन् ।

जिल्लाका ठुला भनिने नेता जतासुकै लागे पनि पन्थीलाई कुनै असर नपर्ने देखिन्छ । किनकी उनि जिल्लाका दुबै निर्वाचन क्षेत्रमा लोकप्रिय युवा नेता र त्यसैमाथि उनलाई केन्द्रिय सदस्य चन्द्र भण्डारीको पुर्ण सहयोग साथ र समर्थन छ । उनको पक्षमा नेताको भन्दा पनि कार्यकर्ताको ओइरो छ ।

काङ्ग्रेसका क्षेत्रीय प्रतिनिधिमा युवा कायर्कताको वर्चस्व रहेका कारण पनि पन्थीले सहज जित हुने उनि निकटका नेताहरु बताउँछन् ।
जिल्लाको दुई नम्बर क्षेत्रमा उनले राम्रो छाप छोडेका छन् भने एक नम्बर क्षेत्रबाट उनलाई केन्द्रिय सदस्य डाक्टर चन्द्र भण्डारी , सत्यवती गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकाल , चन्द्रकोट गाउँपालिकाका अध्यक्ष दोर्ण खत्री लगायतको सहयोग रहेको बुझिएको छ । ढकाल र खत्री महाधिवेशन प्रतिनिधि समेत हुन् । त्यस्तै पुर्व जिल्ला पाटी सभापति त्रैलोक्य प्रताप सेनले पनी पन्थीलाई खुल्लेर सपोट गरेका छन् । पन्थी निकट एक नेताले सल्लेरी खबरलाई भने “खिलध्वज दाई सबै कार्यकर्ता संग भिजेको हुनुहुन्छ सबैले चाहेको पनि खिलध्वजलाई हो उहाँको जित सुनिश्चित छ ।”

यद्यपि दुबै नेताले पार्टी सभापतिमा उम्मेदवारी घोषणा गरे पनि कुनै महत्वाकांक्षी योजना भने दिन सकेका छैनन् । सङ्गठनको विस्तार, जिल्लाको विकास, तीनै तहका निर्वाचनमा विजय, गुट-उपगुट अन्त्य गर्छु भन्ने बाहेक अरु कुनै नौलो योजना भन्न सकेका छैनन् ।

गुल्मी निर्वाचन क्षेत्र नम्वर एकमा ९ सय ३९ जना क्षेत्रीय प्रतिनिधि रहेका छन् भने दुईमा ८ सय २७ जना प्रतिनिधि रहेका छन् ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्